काठमाडौं। नेपाल–भारत संयुक्त व्यापार मञ्च (जेबीएफ) को दोस्रो बैठक चन्द्रागिरिमा सम्पन्न भएको छ। दुई देशबीचको आर्थिक र व्यावसायिक सम्बन्धलाई अझ प्रगाढ बनाउने उद्देश्यले भएको बैठकमा नेपाल र भारतका प्रतिनिधि सहभागी थिए।
बैठकमा नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपाल र भारतबीच आर्थिक क्षेत्रमा अथाह सम्भावना रहेको उल्लेख गर्दै दुवै क्षेत्रमा देखिएका समस्या समाधानका लागि नीतिगत सुधार तथा व्यावहारिक समाधान खोजेर अघि बढ्नुपर्ने बताए।
उनले गैरभन्सार अवरोध हटाउने, नेपाली वस्तु निर्यातमा ब्यूरो अफ इन्डियन स्ट्यान्डर्स (बिआइएस) को प्रमाणीकरण प्रक्रियाले देखिएका समस्या समाधानका लागि सहजीकरण गर्ने, भैरहवा र पोखरा विमानस्थलसँग भारतका सहर जोड्ने र नेपालका जलविद्युत् तथा अन्य निर्माणजन्य विकासका लागि आवश्यक विस्फोटक पदार्थ सहज आपूर्ति आवश्यक भएको धारणा व्यक्त गरे।
अध्यक्ष ढकालले मुन्द्रा (गुजरात), धामरा (ओडिसा) र जवाहरलाल नेहरु (मुम्बई) लगायतका भारतीय बन्दरगाहमा नेपालको पहुँच विस्तारको विषय उठान गरे।
नेपाल–भारत वाणिज्य सचिवस्तरीय बैठककै अंगकै रुपमा रहेको जेबिएफ बैठकमा नेपाल र भारतका प्रतिनिधिले व्यापार, लगानी, ऊर्जा, पर्यटन, कृषि, सूचना प्रविधि र पूर्वाधार विकासलगायत विषयमा छलफल गरेका थिए।
संयुक्त बैठकमा जलविद्युत् र नवीकरणीय ऊर्जा, सौर्य, वायुलगायत परियोजनामा सहकार्य गर्दै स्वच्छ ऊर्जा प्रवर्द्धन, पर्यटन र कनेक्टिभिटी, सडक, रेल, हवाई सम्पर्क सुदृढ गर्दै सीमापार व्यापार सहज बनाउने, व्यापार र सीमापार लगानी, कृषि र औषधीय वनस्पति, कृषि उत्पादनको कोटा हटाई उच्च बिउ तथा प्रविधि उपलब्ध गराउने, औषधीय वनस्पतिमा अनुसन्धान र व्यावसायिकीकरणको सहकार्य, डिजिटल प्रविधि र स्टार्टअप सहयोगलगायतका विषयमा आवश्यक सहजीकरण गर्ने सहमति भएको छ।
दुवै देशले व्यापारमा देखिएका समस्या समाधान गर्न सहकार्य गर्ने प्रतिबद्धता समेत जनाएका छन्।
यसैबीच दोस्रो बैठकमा भएका सहमतिका विषयलाई शनिवार नै नेपाल र भारतका वाणिज्य सचिवलाई हस्तान्तरण गरिएको छ। भारतीय वाणिज्य सचिव सुनिल वर्थवाल र नेपालका वाणिज्य सचिव गोविन्दबहादुर कार्कीलाई मञ्चका अध्यक्ष भवानी राणा र सन्थिल कुमारले सो सहमति हस्तान्तरण गरे।
मञ्चको बैठकपछि आयोजित (जेबिएफ) सदस्य तथा दुवै देशका सरकारी निकायबीचको अन्तरक्रिया कार्यक्रममा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले भारत नेपालको सबैभन्दा ठूलो व्यापार साझेदार रहेको उल्लेख गर्दै जेबिएफको मिटिङमा भएका सहमतिलाई दुवै पक्षले कार्यान्वयनमा लैजानुपर्ने बताए। उनले दुवै देशबीच आयात निर्यातमा देखिएका समस्याको समाधान सहज ढंगले हुने गरी काम गर्नुपर्ने धारणा राखे।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले मञ्चकोे बैठकबाट प्रस्तुत भएका विषयको व्यावहारिक कार्यान्वयन आवश्यक रहेको बताए। भारतका वाणिज्य सचिव सुनिल बर्थवालले जेबिएफमा उठेका एजेण्डा कार्यान्वयनका लागि आफ्नो पक्षबाट पहल गर्ने प्रतिबद्धता व्यक्त गरे।
उद्योग, वाणिज्य महासंघ अध्यक्ष ढकालले जेबिएफ बैठकमा भएका सहमति कार्यान्वयनको लागि दुवै पक्षले पहल गर्नुपर्ने बताए।
नेपालका लागि भारतीय राजदूत नविन श्रीवास्तवले दुई देशबीचको आर्थिक मुद्धाहरुमा यो बैठक महत्वपूर्ण रहेका बताउँदै छलफलमा उठेका विषय सहजीकरणको लागि पहल गर्ने जनाए।
मञ्चका (नेपाल) अध्यक्ष भवानी राणाले नेपाल–भारतबीच लगानी र व्यापारको व्यापक सम्भावना रहेको र त्यसबाट लाभ लिन आवश्यक सहजीकरण हुनुपर्ने धारणा व्यक्त गरिन्।
भारतीय पक्षबाट एन.सुनिल कुमारले नेपाल-भारतबीच सडक, रेल र हवाई कनेक्टिभिटीमा सुधार भइरहेकोले आउने दिनमा थप सहजता थपिने बताए। मञ्चको अर्को बैठक नयाँ दिल्लीमा आयोजना गरिने सहमति भएको छ।