काठमाडौं। नवलपुरस्थित शाश्वतधाममा ५० लाख दर्शनार्थीले भ्रमण गरेका छन्। आधा करोड दर्शनार्थीले भ्रमण गरेको अवसरमा शनिबार विशेष कार्यक्रम आयोजना गरिएको छ। धार्मिक र सांस्कृतिक कार्यक्रम प्रस्तुत गरिएको शाश्वतधाम परिसरमा आज यहाँ आएका सबै दर्शनार्थीका लागि स्वस्तिवाचन तथा भजनकीर्तनले स्वागत गरिएको थियो।
सन् २०१७ मा उद्घाटन गरिएको शाश्वतधाममा शनिबारसम्म दर्शन गर्नेको संख्या ५० लाख पुगेको हो। सोही अवसरमा शनिबार उत्सवका रुपमा मनाइएको हो। उक्त कार्यक्रममा ख्यातिप्राप्त आध्यात्मिक गुरु, विशिष्ट व्यक्तित्व, जनप्रतिनिधि, जिल्लास्थित कार्यालयका प्रमुख, विभिन्न संघसंस्थाका पदाधिकारी, स्थानीय टोल विकास समिति, आमा समूह र सामाजिक अगुवाको उपस्थिति थियो।
कार्यक्रममा काठमाडौँ उपत्यकामा लोकप्रीय महाकाली नृत्य र नागाचा नृत्यलाई पहिलोपटक उपत्यका बाहिर प्रस्तुत गरिएको हो। शाश्वतधाममा प्रस्तुत यी नृत्यलाई सहभागीहरुले निकै रुचिका साथ हेरेका थिए । यसका साथै, थारु, मगर, लामा–गुरुङ, ब्राह्मण जातिका मौलिक नृत्य र सांस्कृतिक झाँकीसमेत प्रदर्शन गरिएको थियो।
‘शास्वतधाम नेपालको अन्यत्र कहीँ नभएको धार्मिक स्थलको रुपमा स्थापित भएको छ’, ५०आंै लाख आगन्तुक मनोज अर्यालले भने, ‘यहाँ भ्रमण गर्नेहरुको बयान सुनेपछि परिवारसहित आएको हुँ। आफैंले प्रत्यक्ष अवलोकन गरेपछि यति सुन्दर र मनमोहक स्थान नेपालमा अन्यत्र छैन जस्तो लागेको छ। आज शास्वतधामभित्र प्राप्त भएको स्वागत–सम्मान मेरो जीवनमा अविस्मरणीय रहनेछ।’
स्थानीय मौलिक संस्कृति, भेषभूषा, रहनसहन र बाजागाजालाई समेटेर प्रस्तुत गरिएको कार्यक्रमले सनातन धर्मप्रतिको श्रद्धा, आस्था र विश्वास जागरण गर्न तथा धार्मिक पर्यटन प्रवद्र्धनमा महत्वपूर्ण भूमिका खेल्ने लक्ष्य राखेको शाश्वतधाम परिवारले जनाएको छ।
धर्म र संस्कृतिको संरक्षण तथा प्रवद्र्धन गर्दै धार्मिक पर्यटनको आकर्षण बढाउने उद्देश्यले आयोजना गरिएको यस कार्यक्रममा शाश्वतधाममा भ्रमण गर्न आउने पर्यटकको उत्साहजनक सहभागिता रहेको थियो।
तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारी र आर्ट अफ लिभिङका संस्थापक श्री श्री रवि शंकरद्वारा संयुक्त रुपमा उद्घाटन गरिएको शाश्वतधाम पछिल्लो समय नेपालको महत्त्वपूर्ण धार्मिक तथा पर्यटकीय गन्तव्यका रुपमा विकसित भएको छ । कलात्मक मन्दिर, गुरुकुलीय विद्यापीठ, बौद्ध चैत्य–गुम्बा, संग्रहालय र शाकाहारी भोजनालयजस्ता स्थल छन्।
शाश्वतधाम धार्मिक पर्यटक मात्र नभई शैक्षिक भ्रमणका लागि पनि उपयुक्त गन्तव्य मानिन्छ। यहाँका आर्कषक भित्ते चित्र, पानीका फोहोरा, हरियाली र सजिला पदमार्गहरुले भ्रमणकर्तालाई आकर्षण थपेका छन्।
शाश्वतधामको प्रमुख आकर्षण एकम्वरेश्वर मन्दिरको भव्यता र कलात्मकतालाई उच्च प्रशंसा गरेका थिए। हरियाली र पानीको फोहोरा रहेको यस मन्दिरले विशेषगरी रातको समयमा पानीमा तैरिरहेको भान गराउँछ । साथै, सनातन धर्मका मुख्य मुख्य देवी देवताको एउटै थलोमा दर्शन गर्न पाइने यो मन्दिरको फरक विषेशता रहेको छ। मन्दिरभित्र रहेको ठूलो शिवलिंग र बुद्धिष्ट सेन्टरले यहाँ आउने आगन्तुकलाई धार्मिक शान्ति र आध्यात्मिक ज्ञान प्रवाह गरेको छ।
शाश्वतधामः एक मन्दिर, अनेकान महत्व
शाश्वतधाम केवल एक मन्दिर मात्रै होइन, यो हिन्दु र बौद्ध धर्मको उत्कृष्ट स्थल हो, जहाँ एकै ठाउँमा हिन्दुको आस्थाको केन्द्र मन्दिरका साथै बाद्धमार्गीका लािग चैत्य स्थापित छ। नवलपुरको देवचुली नगरपालिका वडा-२, दुम्कौलीमा रहेको शाश्वतधाम धार्मिक, सांस्कृतिक, पर्यटकीय र पर्यावरणीय हिसावले पनि निकै महत्वपूर्ण छ। धार्मिक सहिष्णुताको महत्व र त्यसको पाठ यहाँ निर्माण गरिएका संरचनाले देखाउँछ।
नेपालका उद्यमी, राजनीतिज्ञ एवं समाजसेवी विनोद चौधरीले शाश्वतधाम निर्माण गरेका हुन्। ‘सनातन धर्मका अनुयायी एवं धार्मिक पर्यटकको आस्था केन्द्रका रुपमा शाश्वतधाम स्थापित भएको छ। यति छोटो समयमा ५० लाख आस्थावान महानुभाव शाश्वतधामको दर्शनका लागि आउनु आफैंमा अनुकरणीय छ’, संस्थापक चौधरीले भने, ‘शास्वतधामलाई दक्षिण एसियामा सनातन धर्मको केन्द्रको रुपमा विकास गर्न ५०औ लाख महानुभावका भावनालाई समेट्दै हामी अगाडी बढ्नेछौं।’