काठमाडौंको शंखरापुर नगरपालिका र भक्तपुरको चाँगुनारायण नगरपालिकाको सुन्दर नदी फाँटाका किसान आलु खेतीमा व्यस्त देखिन्छन्। यहाँ उत्पादित आलु करिब ७५ प्रतिशत कालीमाटी बजारमा बिक्री गरिँदै आएको छ भने बाँकी बालाजु, बल्खु, कोटेश्वर, भक्तपुरको तरकारी बजारले आपूर्ति गर्दै आएका छन्।
कालीमाटी बजारमा ८० प्रतिशत आलु भारतीय उत्पादन बिक्री हुने गरेको छ। बाँकी दोलखा, मुडे, मकवानपुर, पालुङ, नुवाकोट, काभ्रे, ओखलढुंगालगायत ठाउँका किसानबाट उत्पादित आलु आउने गरेको छ। भान्सामा बढी प्रयोग हुने आलु उत्पादनमा नेपालको निर्भरता बढ्दै गएको छ। देशमा आलु उत्पादनको प्रचुर सम्भावना रहे पनि उत्पादक जनशक्तिको पलायनका कारण आलुमा निर्भरता बढेको छ।
देशको सबैभन्दा ठूलो तरकारी बजार कालीमाटी फलफूल तथा तरकारी बजारमा भदौ १ देखि २६ गतेसम्म करिब ५ हजार मेट्रिक टन आलु बिक्री भएको थियो ।यस अवधिमा बजारमा बिक्री हुने आलुमध्ये करिब ८० प्रतिशत भारतबाट आएको कालीमाटी फलफूल तथा तरकारी बजारले जनाएको छ। सिजनमा नेपाली आलुको उत्पादन अत्यन्त न्यून हुने भएकाले अहिले विदेशबाट आयातमा भर पर्नुपर्छ।
समितिका अनुसार गत वर्ष असोजमा कालीमाटी बजारमा ६ हजार मेट्रिक टन आलु भारतीय तौलको करिब ६० प्रतिशत बिक्री भएको थियो भने यस वर्ष असोज २६ गतेसम्म सोही बजारमा पाँच हजार मेट्रिक टन आलु बिक्री भएको छ।
तस्बिरः नेपाल फोटो लाइब्रेरी