काठमाडौं। आधुनिक नेपालका निर्माता पृथ्वीनारायण शाहको जन्मजयन्ती आज विविध कार्यक्रम आयोजना गरी देशभर मनाइँदै छ।
यस वर्ष पृथ्वीनारायणको ३०३औं जन्मजयन्ती मनाइन लागेको हो।
विसं १७७९ पुस २७ गते गोरखामा राजा नरभूपाल शाह र रानी कौशल्यावतीका कोखबाट पृथ्वीनारायण शाहको जन्म भएको थियो। १७९९ चैत २५ गते पृथ्वीनारायण राजा भएका थिए।
त्यसअघि नेपाल ५२ राज्यमा विभाजित थियो। पृथ्वीनारायण राजा भएपछि पूर्वमा टिस्टादेखि पश्चिममा चेपे नदीसम्म नेपालको सीमा विस्तार गर्न उनी सफल भएका थिए। पृथ्वीनारायणको शेषपछि उनका उत्तराधिकारीले पश्चिममा किल्ला काँगडासम्म नेपाल राज्यलाई विस्तार गरेको इतिहास छ।
पृथ्वीनारायणले विसं १८०१ मा नुवाकोट विजय गरेका थिए। त्यसको २५ वर्षपछि १८२६ मा काठमाडौं उपत्यका विजय हासिल गरे। नेपाल उपत्यका विजय गरेपछि पृथ्वीनारायण शाहले पूर्वतिरका चौदण्डी विजयपुर आदि विजय गर्दै देशको सिमाना बढाएका थिए।
सबै जातजाति, भाषाभाषीको सहयोग लिएर नेपाल एकीकरणको श्रीगणेश गरेका पृथ्वीनारायणको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम गरी ३०३औँ जन्मजयन्ती मनाइँदै छ।
राष्ट्रपति रामचन्द्र पाैडेलले सिंहदरबार गेट नजिक रहेकाे पृथ्वीनारायणकाे शालिकमा माल्यार्पण गरेका छन्।
यस अवसरमा सिंहदरबारको पश्चिम मूल ढोकाअघि रहेको शाहको सालिक परिसरमा विशेष कार्यक्रम गरिनेछ। प्रत्येक वर्ष पुस २७ गते विशेष कार्यक्रम आयोजना गरिन्छ। पृथ्वीजयन्तीमा सरकारले सार्वजनिक बिदा दिएको छ।
तस्बिरः नेपाल फाेटाे लाइब्रेरी