काठमाडौं। पूर्वपश्चिम राजमार्गअन्तर्गत नवलपरासी पूर्व नवलपुरको दुम्कीबासमा पुल भाँचिएर रोकिएका सवारी वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा आएका छन्। त्रिवेणी गाउँपालिका दुम्कीबासस्थित विनयी खोलामा रहेको पुल शुक्रबार साँझ भाँचिदा यातायात सञ्चालन पूर्ण अवरुद्ध थियो।
पुल पूर्णरूपमा भाँचिएर क्षति पुगेपछि यातायात अवरुद्ध हुँदा रोकिएका सवारीलाई वैकल्पिक मार्ग प्रयोग गरी सञ्चालनमा ल्याइएको नवलपरासी पूर्वका प्रमुख जिल्ला अधिकारी अरुण पोख्रेलले बताए।
रोकिएका सवारीलाई वैकल्पिक मार्गको प्रयोग गरी गन्तव्यतर्फ पठाउने काम सुरू गरिएको उनको भनाइ छ। पुल तत्काल मर्मत असम्भव भएको र डाइभर्सन निर्माणको काम नहुँदासम्मका लागि वैकल्पिक मार्ग प्रयोग गरी रोकिएका सवारीलाई गन्तव्यतर्फ पठाउने काम गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले जानकारी दिए।
रोकिएका सवारीलाई विनयी त्रिवेणी–२, ज्यामिरे भित्रीबाटो प्रयोग गरी त्रिवेणी क्रसर हुँदै गुम्बाचोकस्थित राजमार्गमा निस्कने प्रबन्ध गरिएको प्रमुख जिल्ला अधिकारी पोख्रेलले बताए। करिब पाँच किलोमिटर घुम्नुपर्ने यो बाटोबाट साना सवारीलाई वारपार गराइएको छ।
दोस्रो बाटोको रूपमा ज्यामिरे पेट्रोलपम्प नजिकैबाट सिजी चोक–डाँडाजोर–होङ्सी गेट हुँदै करिब १८ किलोमिटर घुमेर राजमार्ग पुग्ने गरी ठूला सवारीसाधन सञ्चालन व्यवस्था गरिएको छ।
रातीको समय भएका कारण पुल नजिकै डाइभर्सन निर्माण गरी तत्काल यातायात सञ्चालन गर्न कठिन रहेको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक जेसी शाहले बताए।
विनयी खोलामा बनेको दुई सय ४६ मिटरको पुल पूर्ण रूपमा क्षति पुगेको छ। कृष्णनगर भन्सारबाट छुटेको एन एल ०१ ए एच ५१६९ नम्बरको शिवम् सिमेन्टको सामान बोकेको ६० टन क्षमताको ट्रक पुल पार गर्ने क्रममा बीच भागबाट पुल भाँचिएको हो।
ट्रक पुलको बीच भागमै फसेको छ।
तस्बिरः नेपाल फाेटाे लाइब्रेरी