काठमाडौं। नेपाल राष्ट्र बैंकले चालू आर्थिक वर्षको ५ महिन अवधि मंसिरसम्म ६ खर्ब ४० अर्ब ४३ करोड रेमिट्यान्स नेपाल भित्रिएको तथ्यांक सार्वजनिक गरेको छ।
राष्ट्र बैंकले आज सार्वजनिक गरेको पाँचमहिने तथ्यांकअनुसार समीक्षा अवधिमा विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भएको हो।
गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको थियो। मंसिरमा मात्रै १ खर्ब १८ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ, जुन कात्तिकको तुलनामा ४ अर्बले बढी हो। गत कात्तिकमा १ खर्ब १४ अर्ब रेमिट्यान्स भित्रिएको थियो।
चालू आवको मंसिरसम्म विप्रेषण आप्रवाह ४.४ प्रतिशतले वृद्धि भई ६ खर्ब ४० अर्ब ४३ करोड पुगेको छ। गत आवको सोही अवधिमा विप्रेषण आप्रवाह २४.२ प्रतिशतले बढेको राष्ट्र बैंकको विवरणमा उल्लेख छ।
अमेरिकी डलरमा विप्रेषण आप्रवाह २.५ प्रतिशतले वृद्धि भई ४ अर्ब ७३ करोड पुगेको छ। गत आवको सोही अवधिमा यस्तो आप्रवाह २१.१ प्रतिशतले बढेको थियो।
मूल्यवृद्धि १.१ प्रतिशत बिन्दुले बढ्यो
राष्ट्र बैंकको तथ्यांकअनुसार मूल्य वृद्धिदर (मुद्रास्फीति) २०८१ मंसिरमा वार्षिक औसत उपभोक्ता मुद्रास्फीति १.१ प्रतिशत बिन्दुले बढेको छ।
२०८० मंसिरको तुलनामा २०८१ को मंसिरसम्म औसत उपभोक्ता मुद्रास्फीति ६.०५ प्रतिशत रहेको छ। अघिल्लो आर्थिक वर्ष यस्तो मुद्रास्फीति ४.९५ प्रतिशत थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहको मुद्रास्फीति ९.९९ प्रतिशत र गैरखाद्य तथा सेवा समूहको मुद्रास्फीति ३.९२ प्रतिशत छ। अघिल्लो वर्ष सोही अवधिमा यी समूहको मुद्रास्फीति क्रमशः ५ प्रतिशत र ४.९२ प्रतिशतले वृद्धि भएको थियो।
समीक्षा महिनामा खाद्य तथा पेय पदार्थ समूहअन्तर्गत तरकारी उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ४३.०५ प्रतिशत, दाल तथा गेडागुडीको १०.६६ प्रतिशत, खाद्य तथा खाद्यजन्य पदार्थको ९.७० प्रतिशत र घ्यू तथा तेलको ९.३९ प्रतिशतले बढेको छ।
गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उप–समूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ७.९८ प्रतिशतले बढेको छ।
समीक्षा महिनामा ग्रामीण क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ६.५२ प्रतिशतले बढेको छ । सहरी क्षेत्रको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सूचकांक ५.८९ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकमा उल्लेख छ।