काठमाडौं। नेपाल राष्ट्र बैंकले तयार पारेको आर्थिक वर्ष २०८०/८१ को वार्षिक अध्ययन प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाले ५ खर्ब ७१ अर्ब ८५ करोड निक्षेप संकलन गरेका छन्।
राष्ट्र बैंकले लुम्बिनी प्रदेशमा स्थलगत भ्रमणबाट तयार पारेको अध्ययन प्रतिवेदन सार्वजनिक गर्दै २०८१ असारमा बैंक तथा वित्तीय संस्थाले प्रदेशबाट संकलित कुल निक्षेप २०८० असारको तुलनामा १२.८० प्रतिशतले वृद्धि भएको देखिएको हो।
लुम्बिनी प्रदेशअन्तर्गतका १२ जिल्लाको स्थलगत भ्रमण तथा गैरस्थलगत माध्यमबाट तथ्यांक संकलन गरी आर्थिक वर्ष २०८०÷८१ को वार्षिक अध्ययन प्रतिवेदन तयार पारिएको राष्ट्र बैंकले जनाएको छ।
लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाको निक्षेप परिचालन २०८० असार मसान्तको तुलनामा १२.८० प्रतिशतले वृद्धि भएको छ। प्रतिवेदनका अनुसार लुम्बिनीका बैंक तथा वित्तीय संस्थाको कुल कर्जा प्रवाह १.३७ प्रतिशतले बढेको छ। यस्तै, बचत र मुद्दती निक्षेप क्रमशः २८.२८ प्रतिशत र ६.१८ प्रतिशतले वृद्धि भएको छ।
२०८१ असारमा लुम्बिनी प्रदेशका बैंक तथा वित्तीय संस्थाले प्रवाह गरेको कर्जा २०८० असारको तुलनामा १.३७ प्रतिशतले वृद्धि भई ५ खर्ब ६० अर्ब ९० करोड १० लाख पुगेको छ। २०८० असारमा कुल कर्जा अघिल्लो वर्षको तुलनामा २.७१ प्रतिशतले बढेको हो।
प्रतिवेदनका अनुसार २०८१ असारमा बैंक तथा वित्तीय संस्थाको प्रदेशगत कर्जा÷निक्षेप अनुपात ९८.०८ प्रतिशत रहेको छ। कुल कर्जाको जिल्लागत अवस्था तुलना गर्दा सबैभन्दा धेरै हिस्सा रुपन्देहीको ५०.०८ प्रतिशत छ भने सबैभन्दा कम रुकुमपूर्वको ०.२० प्रतिशत रहेको अध्ययन प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनअनुसार २०८१ असारमा लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थाका ऋणीको संख्या २०८० असारको तुलनामा केही घटेको छ। २०८१ असारसम्म लुम्बिनी प्रदेशमा क वर्गका ७४१, ख वर्गका २५७, ग वर्गका ४७ र घ वर्गका ११३० गरी २१७५ वटा बैंक तथा वित्तीय संस्थाका शाखा र १९९ वटा शाखारहित बैंकिङ इकाइ र।हेका छन्।
प्रतिवेदनअनुसार लुम्बिनी प्रदेशमा बैंक तथा वित्तीय संस्थामा ४० लाख १५ हजार ६०१ मोबाइल बैंकिङ सेवा र २ लाख ८३ हजार ९ सय ९२ इन्टरनेट बैंकिङ दर्ता छन्।
लुम्बिनी प्रदेशमा समीक्षा वर्षमा खाद्य तथा अन्य बालीले ढाकेको कुल क्षेत्रफल गत वर्षको तुलनामा १.३९ प्रतिशतले ह्रास भई ७ लाख ७९ हजार ४२६ हेक्टर कायम भएको छ। प्रदेशमा खाद्य तथा अन्य बाली उत्पादन गत वर्षको तुलनामा ८.१८ प्रतिशतले वृद्धि भई ३२ लाख ४७ हजार ४९ मेट्रिक टन भएको छ।
प्रतिवेदनमा उल्लेख भएअनुसार प्रदेशका उद्योगको औसत क्षमता उपयोग ४६.४१ प्रतिशत रहेको छ। औद्योगिक उत्पादनतर्फ सबैभन्दा बढी बिजुली तार उत्पादन ५५.४३ प्रतिशतले बढेको प्रतिवेदनमा उल्लेख छ।
प्रतिवेदनमा नारायणघाट–बुटवल सडक खण्ड, सिद्धबाबा सुरुङ मार्ग आयोजना, सिक्टा सिँचाइ आयोजना, बबई सिँचाइ आयोजनाको भौतिक प्रगतिसमेत समेटिएको छ।