क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
विशेष अदालत काठमाडौंले टीकापुर जग्गा अनियमितता प्रकरणमा ८७ जना दोषी रहेको फैसला गरेको छ। विशेष अदालतका अध्यक्ष टेकनारायण कुँवर र सदस्यद्वय तेजनारायणसिंह राई र रितेन्द्र थापाको इजलासले पुस २५ गते उक्त फैसला गरेको हो। दोषी ठहर हुनेमा टीकापुर नगर विकास समिति अध्यक्ष नेत्रप्रसाद जोशी, उपसमिति संयोजक गणेशसिंह रावललाई १ वर्ष ६ महिना कैद फैसला गरेको छ। विशेष अदालतले जग्गा किन्ने ११७ जनामध्ये ८७ जनालाई दोषी ठहर गर्दै तीन महिना कैद र सबैलाई १३ लाख ७ हजार जरिमाना हुने फैसला गरेको हो। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत माघमा कैलालीको टीकापुर नगर विकास समितिको जग्गा अनियमित ढगले व्यक्तिलाई बाँडेको आरोपमा मुद्दा दायर गरेको थियो।
राष्ट्रिय तथ्यांक कार्यालयले आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमासिकमा मुलुकको आर्थिक वृद्धिदर ३.४ प्रतिशत रहने प्रक्षेपण गरेको छ। कार्यालयले पुस २३ गते सार्वजनिक गरेको प्रथम त्रैमासिक कुल गार्हस्थ उत्पादन (जीडीपी)प्रतिवेदनले करिब साढे ३ प्रतिशतको आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो। प्रतिवेदनका अनुसार त्रैमासिक कुल गार्हस्थ उत्पादन आधारभूत मूल्यमा अघिल्लो आर्थिक वर्ष ८०÷८१ को प्रथम त्रैमासिकको तुलनामा चालू आर्थिक वर्षको सोही अवधिमा ३.४ प्रतिशतले वृद्धि हुने प्रारम्भिक अनुमान गरेको हो। कार्यालयको तथ्यांकअनुसार गत आवको चौथो त्रैमासिकको तुलनामा चालू आवको प्रथम त्रैमासिकमा कुल १८ औद्योगिक क्षेत्रमध्ये ६ वटामा ऋणात्मकका साथै बाँकी क्षेत्रमा सामान्य वृद्धि हुँदा कुल गार्हस्थ उत्पादन थोरै अंकले वृद्धि भएको अनुमान गरिएको हो।
राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा) सभापति रवि लामिछाने ६५ लाख रुपैयाँ बैंक ग्यारेन्टी राखेर ८४ दिनपछि कास्की प्रहरी हिरासतबाट मुक्त भएका छन्। पुस २५ गते जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासले सहकारी ठगी, सम्पत्ति शुद्धीकरण र संगठित अपराधको मुद्दामा लामिछानेलाई धरौटीमा छाड्न आदेश दिएको हो। पूर्वगृहमन्त्रीसमेत रहेका लामिछानेलाई सहकारी ठगी प्रकरणमा प्रहरीले कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेको थियो।
राष्ट्र बैंकले बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको छ। राष्ट्र बैंकले पुस २५ गते एकीकृत निर्देशन, २०८० परिमार्जन गर्दै माघ १ देखि लागू हुने गरी बैंकिङ प्रणालीमा राष्ट्रिय परिचयपत्र अनिवार्य गरेको हो। यसअघि सरकारले चालू आर्थिक वर्षको बजेटमार्फत बैंक खाता खोल्न राष्ट्रिय परिचयपत्र अनिवार्य गरिने भने पनि कार्यान्वयन भएको थिएन। राष्ट्र बैंकले बैंकले खातावाहकलाई बैंक तथा वित्तीय संस्थाले दिने सेवामा जोडिने व्यक्तिको मोबाइल नम्बर निजकै नाममा जारी भएको हुनपर्ने व्यवस्था गरेको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेस प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका तत्कालीन सचिव डा. नम्रता सिंहसहित ८ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ। अख्तियारले पुस २२ मा मन्त्रालयका तत्कालीन सचिव ८ जनाविरुद्ध ५ करोड बिगो दाबीसहित विशेष अदालतमा मुद्दा दायर गरेको हो।
उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोगले उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई अन्तरिम प्रतिवेदन बुझाएको छ। आयोग अध्यक्ष रामेश्वरप्रसाद खनालले पुस २४ गते बुझाएको प्रतिवेदनमा अर्थतन्त्रलाई थप चलायमान र सुदृढ बनाउने गरी तत्काल गर्नुपर्ने विषय उल्लेख गरिएको छ। प्रतिवेदनमा देशको अर्थतन्त्र शिथिल हुनुको मुख्य कारण सहकारी, सरकारी भुक्तानी र उधारो नउठ्नु मुख्य कारण रहेको औंल्याइएको छ। सरकारले अर्थतन्त्रबारे सुझाव दिन गत असोज तेस्रो साता विज्ञ र निजी क्षेत्रको प्रतिनिधित्व रहने गरी उच्चस्तरीय आर्थिक क्षेत्र सुधार सुझाव आयोग गठन गरेको थियो।
जिल्ला प्रहरी कार्यालय मोरङले एमबीबीएस परीक्षामा नाम निकालिदिने प्रलोभन देखाएर ३० लाख ८० हजार रुपैयाँ असुलेको आरोपमा अनिलकुमार पोखरेललाई पक्राउ गरेको छ। पोखरेलविरुद्ध पुस २३ गते जिल्ला अदालतले पक्राउ पुर्जी जारी गर्न अनुमति दिएपछि प्रहरीले पुस २५ गते पक्राउ गरेको हो। अनिल सार्वजनिक लेखासमिति सभापति ऋषिकेश पोखरेलका स्वकीय सचिव थिए। पोखरेलले आफ्नो पहुँच भएको भन्दै अपग्नसाईर कृष्णसवरन पालिका वडा–५ बकधुवाका बौआलाल चौधरीकी छोरीलाई एमबीबीएस डाक्टर पढाउने आश्वासन दिएको आरोप छ।
सरकारले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई तेस्रो पटक स्पष्टीकरण सोधेको छ। ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पुस २२ गते घिसिङलाई सातदिने अल्टिमेटम दिँदै ९ बुँदे स्पष्टीकरण सोधेको हो। घिसिङलाई पठाएको पत्रमा कार्यसम्पादन मूल्यांकन, डेडिकेटेड/ट्रंकलाइनलगायत विषय समेटेर तपाईंको नियुक्ति किन अन्त्य नगर्ने भनिएको छ। यसअघि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई गत असोज २२ र कात्तिक २३ मा लिखित बुँदासहित स्पष्टीकरण सोधेका थिए।
यो साता सेयर बजार ४८.८६ अंकले बढेको छ। गत साताको अन्तिम कारोबार दिन अर्थात् पुस १८ गते २५८६.२३ बिन्दुमा रहेको सेयरबजार सूचक नेपाल स्टक एक्सचेन्ज (नेप्से) यो साताको पाँच कारोबार दिनमा एक दिन घटेर चार दिन बढ्दा ४८.८६ अंकले बढेर २६३५.०९ बिन्दुमा रोकिएको हो। गत साता नेप्सेमा ४४.४८ अंककोे गिरावट आएको थियो। यो साता सेयर बजारमा कुल २९ अर्ब ९२ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो साता नेप्सेमा कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो।