काठमाडौं। छिमेकी भारतमा आगामी साता भारत मोबिलिटी ग्लोबल एक्स्पो आयोजना हुँदै छ। नयाँ दिल्लीमा सन् २०२५ जनवरी १७ देखि २२ (माघ ४-९)सम्म भारत मोबिलिटी ग्लोबल एक्स्पाे २०२५ आयोजना हुन लागेको हो।
भारतको सबैभन्दा ठूलो अटो शोमा विभिन्न ब्रान्डले नयाँनयाँ गाडी सार्वजनिक गर्नेछन्। यसअघि सार्वजनिक भएका गाडी पनि प्रदर्शन हुनेछन्।
नेपालमा जस्तै भारतमा पनि हरेक वर्ष अटो शो आयोजना हुने गरेको छ। नेपालमा १६औँ संस्करणको नाडा अटो शो २०२४ भदौ ११ गतेदेखि १६ गतेसम्म आयोजना भइसकेको छ। भारतमा नयाँ वर्षको पहिलो महिनामा नै अटो एक्स्पो आयोजना हुन लागेको हो। भारतीय बजारका धेरै ब्राण्ड र गाडी नेपालमा पनि आउने गर्दछन्। यस कारण भारतको अटो शोलाई नेपालीले पनि चासोका साथ हेर्ने गर्दछन्।
नेपालमा चीन र भारतका गाडी बढी मात्रामा आयात हुने भएकाले भारतमा हुने सवारी गतिविधिमा नेपालीको चासो हुनु स्वाभाविक हो। विगतका वर्षदेखि नेपाली अटो शोमा भारतीय अटो व्यवसायी आउने र भारतमा हुने अटो शोमा नेपाली अटो व्यवसायी पुग्ने गरेका छन्।
नयाँ दिल्लीमा ६ दिनसम्म चल्ने अटो एक्पोमा दर्जन विद्युतीय गाडी प्रदर्शनमा रहनेछन्। भारत मोबिलिटी एक्स्पोमा सेग्मेन्टमा मारुती ई भिटारा, हुन्डाई क्रेटा ईभी, टाटा सिरिया, ह्यारियर, एमजी एम ९, महेन्द्रा एक्सईभी ई ९ लयागतका ब्राण्डबीचको प्रतिस्पर्धा देख्न पाउने छौँ। कुन गाडीमा कस्तो फिचर?
हुन्डाई क्रेटा ईभी
हुन्डाई मोटर इन्डियाले भारत मोबिलिटी एक्सपोमा हुन्डाईको नयाँ ईभी लन्च गर्ने तयारी गरेको छ। क्रेटा ईभीमा ४२ किलोवाट र ५१.४ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ। यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ।
हुन्डाई क्रेटा ईभी डिसी फास्ट चार्जर प्रयोग गरी ५८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। हुन्डाई क्रेटा ईभीले एक पटकको फुल चार्जमा ३९० किलोमिटर र ४७३ किलोमिटर रेन्ज दिने एआरएआइले प्रमाणित गरेको छ।
मारुती सुजुकी ई भिटारा
भारत मोबिलिटी एक्सपोमा भारतकै सबैभन्दा ठूलो कार निर्माता मारुती सुजुकीले आफ्नो पहिलो इलेक्ट्रीक मोडल ई भिटारा सार्वजनिक गर्ने भएको छ। कम्पनीले मार्चबाट बिक्री सुरू गर्ने योजनासहित ई भिटाराको प्रोडक्सन मोडल देखाउन लागेको हो।
सुजुकीको ई भिटारामा ४९ किलोवाट र ६१ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ। यसमा १०६ र १३५ किलोवाटको मोटर दिएको छ। ठूलो मोटर र ब्याट्रीसँग फोर ह्वील ड्राइभ अप्सन पाइने छ। मारुती सुजुकी ई भिटाराले सिंगल चार्जमा ५०० किलोमिटरभन्दा बढी हुने कम्पनीले जनाएको छ।
एमजी एम ९
भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा एमजी एम–९ र एमजी साइबरस्टार प्रदर्शनी गर्ने भएको छ। एमजी एम–९ र एमजी साइबरस्टर लक्जरी गाडी हो। एम–९ मा ९० किलोवाट आवरको ब्याट्री प्याक दिइएको छ। यसले २४१ बिएचपी र ३५० एनएम टर्क उत्पादन गर्छ। एम–९ ले सिंगल चार्जमा ५८० किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ।
यसलाई डिसी फास्ट चार्जर प्रयोग गरी चार्ज गर्दा ३० देखि ८० प्रतिशत चार्ज ३० मिनेटमा हरने कम्पनीको दावी छ। एमजी एम–९ को टप स्पिड १८० किलोमिटर प्रतिघण्टा रहेको छ।
मर्सिडिज बेन्ज जी ५८०
मर्सिडिज बेन्ज जी ५८० इक्यु टेक्नोलोजीमा आधारित भइ बनेको हो। जी ५८० भारत मोबिलिटी एक्पोमा लन्च गर्ने तयारी गरिएको छ। जी ५८० मा ११६ किलोवाट आवरको ब्याट्री प्याक छ। यस गाडीले ४३० किलोमिटर रेन्ज दिने डब्लुएलटीपीले प्रमाणित गरेको छ।
टाटा सिरिया, टाटा ह्यारियर
टाटा सिरियामा ४५ किलोवाट र ५५ किलोवाट आवरको ब्याट्री अप्सन पाउन सकिन्छ। सिरिया ईभीले सिंगल चार्जमा ४५० र ५५० किलोमिटर रेन्ज दिने कम्पनीले जनाएको छ।
यस्तै टाटा मोटर्सले ह्यारियर ईभी पनि भारत मोबिलिटीमा लन्च गर्ने तयारी गरेको छ। ह्यारियर ईभीमा ६० किलोवाट आवर र ८० किलोवाट आवरको दुई ब्याट्री अप्सन दिएको छ।
बिएमडब्लु एक्स ३
बिएमडब्लु ग्रुपले भारत मोबिलिटी एक्सपो २०२५ मा बिएमडब्लु एक्स ३ प्रदर्शन गर्ने जनाएको छ। कम्पनीले यसको ब्याट्री तथा मोटर पावरबारेमा केही जानकारी बाहिर ल्याएको छैन।
महेन्द्रा
महेन्द्राले भारत मोबिलिटी ग्लोबल एक्सपो २०२५ मा महेन्द्रा बीई–६ई र एक्सईभी–९ई प्रदर्शन गर्ने कम्पनीले जनाएको छ। यी दुवै मोडल भने भारतीय बजारमा सार्वजनिक भइसकेको छ। महिन्द्राले एक्सईभी–९ई लाई ५९ र ७९ किलोवाट आवरको दुई ब्याट्री अप्सनमा ल्याएको छ।
कम्पनीले ५९ किलोवाटको ब्याट्रीमा १७० किलोवाट र ७९ किलोवाटको ब्याट्रीमा २१० किलोवाटको मोटर जडान गरेको छ। दुवै भर्सनको टर्क भने समान ३८० एनएम छ। यसको टप भेरियन्टको डब्लूएलटीपी रेन्ज ५३३ किलोमिटर हुने बताइएको छ।
महिन्द्राले १७५ किलोवाटको डिसी फास्ट चार्जर सपोर्ट गर्नेगरी यसलाई बजारमा ल्याएको हो। महेन्द्रा एक्सईभी–९ई लाई २० देखि ८० प्रतिशत चार्ज गर्न केबल २० मिनेट लाग्ने कम्पनीको दाबी छ।