काठमाडौं। उपत्यकामा दैनिक ‘प्राण घातक’ विषादीयुक्त तरकारी भित्रिने थालेको छ। काठमाडौं उपत्यका भित्रिएका सिजनबाहेक बेमौसमी तरकारीमा ९९.२३ प्रतिशतसम्म कार्वामेट र अर्गानोफस्फेट कीटनाषक विषादी भेटिएको हो।
जसमा सबैभन्दा बढी सिमी, साग, ब्रो काउली हरियो खुर्सानी र फर्सीमा पटक/पटक खान अयोग्य हुने गरी अत्याधिक विषादी भेटिएको कालीमाटी फलफूल तथा तकारी बजार विकास समितिले जनाएको छ।
समितिले गर्ने दैनिक विषादी परीक्षणको क्रममा उल्लेखित तरकारीमा पुस महिनामै १४ पटकसम्म ९९.२३ प्रतिशत अर्गानोफस्फेट कीटनाषक विषादी भेटिएको हो। कार्वामेट र अर्गानोफस्फेट दुवै कीटनाशक विषादी हुन्। तर, अनियमित र अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ।
चिसो मौसम अर्थात् सुख्खायाम हरियो सागसब्जी उत्पादन नहुने समय हो। व्यवसायिक तरकारी खेती गर्ने किसानले यही समयलाई लक्षित गरेर बेमौसमी तरकारी उत्पादन गर्छन्। बेमौसमी तरकारीको मूल्य अन्य समयभन्दा बढी हुन्छ। तर, बेमौसमी तरकारी सिजनमा भन्दा बढी रोग लाग्ने हुँदा किसानले अत्याधिक कीटनाषक विषादीको प्रयोग गर्दा उपभोक्ता गम्भिर रोगको सिकार बन्दै गएका छन्।
कार्वामेट र अर्गानोफस्फेटले स्वास्थ्यमा पार्ने असर
कार्वामेट र अर्गानोफस्फेट दुवै कीटनाशक विषदी हुन्। कार्वामेट र अर्गानोफस्फेट रासायनिक कीटनाशक भएकाले कृषिमा कीटपतन नियन्त्रण गर्न प्रयोग गरिन्छ। यी दुवै रसायनमा शारीरिक तन्तुका प्रणालीलाई असर गर्ने हुन्छ। तर अनियमित र अत्यधिक प्रयोगले मानिसको स्वास्थ्यमा गम्भीर असर पुर्याउँछ। जसले गर्दा सरकारले देशको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार कालीमाटीमा दैनिक नमुना परीक्षण गरी अत्याधिक विषादी भेटिए नष्ट गर्छ।
कार्वामेट- कार्वामेट रसायन कार्वामेक एसिडबाट बनेका अल्पकालीन प्रभाव पार्ने कीटनाशक हो। जसले कीटको तन्त्रिका प्रणालीलाई अवरुद्ध गर्छ। तरकारीमा कीटको नाशाका लागि यसको प्रयोग गर्दा केही प्रतिशत उपभोक्तासमेत उपभोग गर्छन्।
कार्वामेटको अत्याधिक मात्रामा मानिसले उपभोग गर्दा टाउको दुख्ने, छटपटी र थकान हुने, मांशपेशीको कमजोरी हुने, दीर्घकालमा तन्त्रिका प्रणालीको असन्तुलन हुने, मानव शरीरमा कार्वामेट अत्यधिक हुँदा मृत्युसमेत हुन सक्छ।
यस्तै, अर्गानोफस्फेट भनेको फस्फोरसयुक्त यौगिकहरू तत्व हो। जसले कीटको तन्त्रिका प्रणालीमा एसिटाइलकोलिन एस्टरेज नामक एन्जाइमलाई अवरुद्ध गर्छ। तर, यसको मात्रा भएको तरकारी सेवन गर्ने मानिसलाई भने छालामा जलन हुने, आँखामा चिलाउने, पाचन प्रणालीमा समस्या जस्तैः वाकवाकी, बान्ता, पखाला हुन्छ। श्वासप्रश्वासमा अवरोध हुने, अचेत हुने र मानिस मृत्युसमेत हुन्छ।
साथै, यी दुवै विषादीको सेवनले दीर्घकालीन रुपमा पर्ने असरमा क्यान्सरको सम्भावना, प्रजनन स्वास्थ्यमा असर र न्यूरोलोजिकल समस्या देखिन्छ।
२६ दिनमा १४ दिन विषादीयुक्त तरकारी भित्रियो
विषेशगरी पुस महिनादेखि फागुनसम्म सिजनका तरकारी उत्पादन हुँदैन। यसबीच उत्पादन हुने बेमौसमी तरकारीमा बढी विषादीको मात्र भेटिने कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले जनाएको छ। जसले गर्दा यसबीच विषादी परीक्षणलाई चुस्त बनाइएको भन्दै उपभोक्तालाई सचेत हुन भन्दै सूचना जारी गरेको छ।
पुस महिनामै उपत्यका बाहिरबाट १४ पटक भित्रिएको तरकारीमा विषादी भेटिएको छ। जसमा पुस ५ गते सर्लाहीबाट आएको टाटे सिमीमा ४९.४५ प्रतिशत कार्वामेट र ४९.४४ प्रतिशत अर्गानोफस्फेट, पुस ७ गते सर्लाहीबाट आएको टाटेसिमीमा ५८.०९ प्रतिशत अर्गानोफस्फेट, पुस ८ गते सर्लाहीबाट आएको टाटेसिमीमा ४६.५९ प्रतिशत कार्वामेट र २०.४९ प्रतिशत अर्गानोफस्फेट, चितवनको फर्सीमा ४१.०१ प्रतिशत अर्गानोफस्फेट, धादिङको ब्रो-काउलीमा ६८.५१ प्रतिशत अर्गानोफस्फेट, चितवनबाट आएको घिउ सिमीमा ९५.३२ प्रतिशत अर्गानोफस्फेट, पुस ११ गते चितवनबाट आएको घिउसिमीमा ९५.३२ प्रतिशत अर्गानोफस्फेट, पुस १२ गते बिरगञ्जबाट आएको काउलीमा ९८.९९ प्रतिशत अर्गानोफस्फेट, पुस १७ गते भक्तपुरको पालुङ्गो सागमा ७७.२९ प्रतिशत अर्गानोफस्फेट, पुस १८ गते भारतबाट आएको हरियो खुर्सानीमा ५७.२९ प्रतिशत अर्गानोफस्फेट र काठमाडौंमै उतपादित रायो सागमा ९६.१२ प्रतिशत अर्गानोफस्फेट, पुस २३ गते कालीमाटिमा आएको रायो सागमध्ये भक्तपुरमा उत्पादित रायो सागमा ५५.६१ प्रतिशत कार्वामेट र ७५.५५ प्रतिशत अर्गानोफस्फेट, काठमाडौंमा उत्पादितमा ९२.२४ अर्गानोफस्फेट भेटिएको थियो।
यस्तै, पुस २४ गते कालीमाटीमा आएको तरकारीमध्ये भक्तपुरको पाकुचा सागमा ५४.८६ प्रतिशत र जिरी सागमा ८८.८४ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो भने, सोही दिन काठमाडौंमा उतपादित भाजी रायो सागमा ९९.२३ प्रतिशत र मार्फा सागमा ८३.७७ प्रतिशत अर्गानोफस्फेट भेटिएको थियो। पुस २६ गते कृषि तथा पशुपन्छी विकास मन्त्रालयको कृषि विभागको प्रयोगशालामा गरिएको परीक्षणमा कालीमाटीमा सर्लाहीबाट भित्रिएको टाटे सिमीमा ५५.५१ प्रतिशत कार्वामेट र ३०.५४ प्रतिशत अर्गानोफस्फेट भेटिएको छ।
विषादीको मात्रा तोकिएकोभन्दा बढी भएपछि विभागले त्यसलाई खान अयोग्य ठहर गर्ने र कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले त्यसलाई नष्ट गर्ने समितिका प्रवक्ता विनय श्रेष्ठले बताए।
‘अहिले बेमौसमी तरकारीहरुमा बढी बिषादी भेटिन थालेको छ, रायो सागबाहेक सबै बेमौसमी तरकारीमा हामीले दैनिक कार्वामेट र अर्गानोफस्फेटको मात्रा बढी पाइरहेको छ,’ समितिका प्रवक्ता श्रेष्ठले क्यापिटल नेपालसँग भने, ‘विषादी बढी भएका तरकारी हामी नष्ट गर्छौं भने, सम्बन्धित जिल्लाको कृषि केन्द्रलाई सूचित गराउँछौंँ। तर, हामीले कालीमाटीमा आएको तरकारीको मात्रै विषादी परीक्षण गर्छौं।’
समितिले नष्ट गर्ने विषदीयुक्त तरकारी कालीमाटी भित्रिएको हकमा भएको हुँदा अन्य तरकारी बजारको विषादी परीक्षणको विषयमा समितिले हालसम्म सरोकार नराखेको उनको भनाइ छ। काठमाडौं उपत्यकामा भारत-चीनबाट आयात गरिएसँगै देशभित्रै विभिन्न जिल्लामा उत्पादित तरकारी भित्रिन्छ।
यसरी भित्रिने तरकारी कालीमाटीबाहेक अन्य तरकारी बजारमार्फत् पनि उपभोक्ताले खरिद गर्छन्। जसको विषादी परीक्षण भएको हुँदैन। सरकारले व्यसायिक रुपमा तरकारी उत्पादन हुने प्रत्येक फार्ममै विषादी परीक्षण गर्ने सयन्त्र बनाउनुपर्ने देखिन्छ।