काठमाडौं । आगामी बर्षदेखि बाहिरी चक्रपथ निर्माण अघि बढाइने भएको छ । चक्रपथ निर्माणका लागि आवश्यक पूँजी नजुट्दा अलपत्र परेको बाहिरी चक्रपथ आगामी आर्थिक बर्ष २०७७/०७८ को बजेटमा समेटिने सहरी विकास मन्त्रालयका सचिव मधुसुदन अधिकारीले जानकारी दिए ।
यसअघि लगानी सम्मेलनमा शो—केस गरिएको उक्त परियोजना निर्माण गर्न चारवटा चिनियाँ कम्पनीले इच्छा देखाएका थिए । तीमध्येबाट तोकिएको मापदण्ड पूरा गर्ने चाइना चाइना कम्प्युनिकेसन कनष्ट्रक्सन कम्पनीसँग बोर्डले प्रस्ताव माग्ने निर्णय समेत गरिसकेको छ ।
सो कम्पनीले पेस गर्ने प्रस्तावका आधारमा निर्माणको जिम्मा दिने वा नदिने निर्णय गरिने बोर्डले जनाएको छ । कम्पनी छनोट भएपछि अर्को बर्षदेखि आयोजनालाइ बजेटमै समावेश गरेर अघि बढाइने अधिकारीले बताए ।
बाहिरी चक्रपथ निर्माणको चर्चा सुरु भएको दुइ दशक बितेको छ । तर, अहिलेसम्म पनि आयोजनाको पूर्ण रुपमा विस्तृत आयोजना प्रतिवेदन (डीपीआर)समेत बन्न सकेको छैन ।
वि.सं २०५५ मा परिकल्पना गरी अघि बढेको आयोजनाको डीपीआर निर्माणमा केही बजेट खर्चिएको छ । सहरी विकास मन्त्रालयल अन्र्तगतको काठमाडौं उपत्यका विकास प्राधिकरणले यो आयोजना अघि बढाएको हो । प्राधिकरण स्थापनापछि आयोजनाको डीपीआर अध्ययन गर्न १० करोड रुपैयाँ खर्च भइसकेको छ ।
आयोजना निर्माणका लागि आवश्यक पर्ने पूँजी आन्तरिक स्रोतबाट व्यवस्थापन नहुँदा आयोजना निर्माणमा समस्या भएको सचिव अधिकारीको तर्क छ । लागत कुन स्रोतबाट जुटाउने अस्पष्टताका कारण आयोजना सुरु गर्न नसकिएको उनको तर्क छ । ‘आयोजना नबनाउने भन्ने होइन, तर त्यसका लागि आन्तरिक स्रोत जुट्नुपर्छ । हाम्रै स्रोतबाट बनाउने वा विदेशी लगानी ल्याउने भन्नेमा अझै अन्योल छ,’ उनले भने, ‘मुख्य समस्या आयोजनाको लागत नै हो ।’
यता, आयोजना मन्त्रीपरिषद्बाट स्वीकृत भएर आए पनि जग्गा प्राप्ति ऐन २०३४ को व्यवस्थाअनुसार नभएको भन्दै जिल्ला प्रशासनले टेन्डर सूचना प्रकाशन गरेन । ‘ऐनमा अस्पष्टता रहेको र स्रोत सुनिश्चित नभएकाले आयोजना अघि बढ्न नसकेको हो,’ काठमाडौं उपत्यका विकास प्राधिकरणका विकास आयुक्त भाइकाजी तिवारीले भने, ‘पुरानो डीपीआर र डिजाइनमा पनि अध्ययन गर्नुपर्नेछ ।’
आयोजना अघि बढाउन जग्गाको व्यवस्थापन ‘ल्यान्डपुलिङ’ मार्फत गर्ने मन्त्रालयले बताएको छ । आयोजना निर्माणको लागि झन्डै ३ खर्ब रुपैयाँ आवश्यक पर्ने मन्त्रालयले जनाएको छ । काठमाडौं उपत्यकाभित्र तीन जिल्लालाई एक फन्को लगाउने आयोजनाको लम्बाइ ७२ किमि रहने छ ।आयोजनाको मुख्य समस्या मुआब्जा र अनधिकृत सहरी भवन, स्थानीयको अवरोध रहेका छन् ।
चक्रपथले कहाँ कहाँ छुनेछ ?
सरकारले काठमाडौं, भक्तपुर र ललितपुर क्षेत्रलाइ छुने गरी चक्रपथ बनाउनेछ । काठमाडौंको त्रिभुवन राजपथ–बलम्बुलाई शून्य किलोमिटर मानेर बाहिरी चक्रपथ बनाउने सरकारको योजना छ ।
चक्रपथ निर्माण खासगरी नैकाप भञ्ज्याङ, थापागाउँ आसपास, स्युचाटार, सीतापाइला, बाहिरी स्वयम्भू, वनस्थली, बालाजु औद्योगिक क्षेत्रको छेउ तथा बाइपास, गोंगबु, हिलेडोल, मनमैंजु, बालुवाटारको छेउ, टोखा–सरस्वती क्षेत्र, चपली, चुनीखेल, टुसाल गाउँ, गोकर्णेश्वर, बामथली, नयाँपाटी हुँदै निर्माण हुनेछ ।
त्यस्तै, भक्तपुर क्षेत्रमा थली–डाँछी, चाँगुनारायण क्षेत्र, फुँयालगाउँ, दुवाकोट, रोकागाउँ, हनुमानटार, लुकुण्डोल, पकाउने पाटी, खरीपाटी, सुडाल, यङ्डोल, जगाती, हनुमन्ते खोलाको छेउ, अरनिको राजमार्ग, सृजनानगर, सल्लाघारी, दधिकोट, गाम्चा भएर निर्माण कार्य अगाडि बढाउने डीपीआरमा उल्लेख छ ।
यता, ललितपुरमा लुभु, विष्णुडोल, हरिसिद्धि, दसघर, धापाखेल, ठेचो, जावलाखेल, बुङ्मती, खोकना, कार्यविनायक, वाग्मतीपुल (चोभार क्षेत्र), पुरानो सिमेन्ट कारखानाको छेउ, कीर्तिपुर क्षेत्र, गाम्चा, मच्छेगाउँ हुँदै, तीनथानाको दक्षिण हुँदै सतुङ्गलसम्म पुग्ने प्रारम्भिक प्रतिवेदनमा जनाइएको छ ।