काठमाडौं। झापामा देशकै ठूलो आयोजनामध्येको एक समयभन्दा चाँडै सकेर उद्घाटन भएको छ। बुद्ध शान्ति गाउँपालिकाका वडा नं ६ र ७ जोड्नका लागि बनेको कोशी प्रदेशको सबैभन्दा लामो र देशकै तेस्रो लामो झोलुङ्गे पुल निर्माणको काम निर्धारित समयभन्दा १८ महिनाअघि सम्पन्न भएको हो।
गत असार २४ गते शिलान्यास भएको पुलको उद्घाटन ६ महिनामै बिहीबार उद्घाटन भएको हो। झापा क्षेत्र नं १ का सांसद तथा कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले पुलको शिलान्यास गरेका थिए। उनले नै उक्त पुल उद्घाटन गरेका हुन्। टिमाई खोलामाथि निर्माण सम्पन्न झोलुङ्गे पुल ४७६ मिटर लम्बाइको छ।
‘पाँच महिनाअघि शिलान्यास गरिएको झोलुंगे पुल, ५ करोड ९८ लाखको लागत, ४७६ मिटर लम्बाई, कोशी प्रदेशको सबैभन्दा लामो झोलुङ्गे पुल अब झापा १ मा,’ महामन्त्री शर्माले भने, ‘संघीय सरकारबाट समयमै पैसा निकासा, स्थानीय तहको सजगता, टेण्डर प्राप्त व्यवसायीको इमानदारिता अनि श्रमिक साथीहरूको रातदिनको खटाई, यो समग्रमामा साथ दिनुहुने सम्पूर्णमा धन्यवाद।’
उक्त पुल ५ करोड ९८ लाख ८१ हजार रुपैयाँमा 'थानी जगदम्बा जेभी काठमाडौं'ले निर्माण सम्झौता गरेको थियो। गत जेठ २४ गते ठेक्का सम्झौता भएको पुल आगामी ०८३ जेठ २३ गतेभित्रमा निर्माण सम्पन्न गरिसक्नुपर्ने थियो। कम्पनीले डेढ वर्षअगावै निर्माण सम्पन्न गरी हस्तान्तरण गरेको हो।
९० मेट्रिक टन भारवहन क्षमता रहेको झोलुङ्गे पुलले एकै पटक ६४७ पदयात्रीले यात्रा गर्न सक्ने छन्।