काठमाडौं। २०७८ भदौ २ गते सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) हालसम्मकै उच्च ३१९९.०३ (त्यसदिन ३२२६ सम्म) बिन्दुमा हुँदा बैंकिङ समूह इन्डेक्स (सूचक) २१०१ बिन्दुमा थियो। त्यसपछि पछिल्लो पटक २०८१ साउन ३१ गते नेप्से २०७८ यताकै उच्च अर्थात् ३०००.८१ (त्यसदिन ३०३६.६४सम्म) बिन्दुसम्म पुग्दा बैंकिङ सूचक १६९९ बिन्दु कायम भयो।
गएको एक वर्षकलाई फर्केर हेर्दा गत साउन ६ गते बैंकिङ सूचक वर्षकै उच्च अर्थात् १७१२ बिन्दुसम्म पुग्यो भने २०८१ वैशाख २६ गते वर्षकै न्यून अर्थात् १०१४ बिन्दुसम्म खुम्चियो। खासगरी, लगानीकर्ताको रोजाईमा बैंकिङ समूह नपर्दा यस समूहको सूचक न्यून बिन्दु रहँदै आएको छ। बजार पुँजीकरणका हिसाबमा सबैभन्दा ठूलो क्षेत्र रहेको बैंकिङ समूह उकालो नलाग्दा त्यसको असर नेप्सेमा नै देखिएको विश्लेषण हुँदै आएको छ।
कुनै समय पुँजी बजारको सबैभन्दा आकर्षक र उल्लेख्य कारोबार हुने बैंकिङ समूहमा आज त्यो किसिमको चमक देखिँदैन। कम्पनीको सेयर मूल्यलाई तुलना गरेर हेर्ने हो भने पनि बैंकहरुको सेयर मूल्य निकै तल छ। अझ भनौं अधिकांश बैंकहरुको मूल्य ३०० रुपैयाँ प्रतिकित्ताभन्दा मुनि छ। दैनिक बढी कारोबार हुने कम्पनीको सूचीमा पनि बैंकहरुलाई देख्न नपाईने स्थिति छ।
नेप्सेका अनुसार बिहीबार (पुस २५ गते) बजार सूचक २६३५ बिन्दुमा कायम हुँदा बैंकिङ सूचक १३८४ बिन्दुको न्यून स्थितिमा छ। अघिल्लो कारोबार दिन बुधबार (पुस २४)मा १३९० बिन्दुमा रहेको बैंकिङ सूचक ६ अंकले घट्दै बिहीबार १३८४ बिन्दुमा रोकिएको हो।
यसो त, एक साता अघि मंसिर १७ गते १३९१ बिन्दुमा रहेको बैंकिङ सूचक महिना दिन अगाडि मंसिर २३ गते भने १४१४ बिन्दुमा थियो। तीन महिना अघि (असोज २३) मा १५४६ बिन्दुमा रहेको बैंकिङ सूचक त्यसबाट लगातार घट्दै गइरहेको छ। एक वर्ष अघि २०८० पुस २३ गते नेप्से २०५९ बिन्दुमा हुँदा बैंकिङ सूचक ११६१ बिन्दुमा थियो। यसअनुसार हालको बैंकिङ सूचक करिब २२९ अंकले माथिल्लो बिन्दुमा नै देखिन्छ।
तथापि, सेयर लगानीकर्ता फाइनान्स, विकास बैंक, लघुवित्त र जलविद्युत् समूहमा रमाउँदा बैंकिङ समूह ओझेलमा परेको अवस्था छ। कुनै समय सर्वाधिक आकर्षणमा पर्ने गरेको बैंकिङ समूह किन यसरी सुस्तायो? भन्ने प्रश्नको जवाफ वा कारण एउटा मात्रै छैन जसमध्येका प्रमुख कारणलाई हामी यहाँ केलाएर हेर्ने छौं।
बैंककाे प्रतिफलमा निरन्तर संकुचन आउनु
एक समय बैंक तथा वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई उल्लेख्य मात्रामा लाभांश तथा बोनस सेयर वितरण गर्ने गर्दथे। लगानीकर्ताले पनि संस्थाबाट प्राप्त हुने उक्त प्रतिफल लिन बैंकहरुको सेयर खदि गर्ने गर्दथे। तर, पछिल्लो केही वर्ष यता बैंक तथा वित्तीय संस्थाले लगानीकर्तालाई प्रदान गर्ने प्रतिफल नगन्य मात्रामा छ। अर्थात् कुनै समय ६०÷७० प्रतिशतसम्म प्रतिफल दिने बैंकहरुले गत आर्थिक वर्ष १० प्रतिशत पनि दिन सकेनन्।
बैंकले वितरण गर्ने प्रतिफलमा यो किसिमको ह्रास आउँदा लगानीकर्ता आकर्षित नहुनु स्वभाविकै पनि हो। २०७८ सालमा नेप्से अलटाइम हाइको बिन्दुमा हुँदा अर्थात् उच्च बिन्दुमा सूचक हुँदा बैंकको सेयर खरिद गरेका मानिस आज पनि छटपटिएर बसेका छन्। अझ भनौं उनीहरु सस्तोमा सेयर खरिद गरेर बाहिर निस्कन सकेका त छैनन् नै अर्कोतर्फ बैंकले प्रतिफल नदिँदा झनै पिल्सिएका छन्। बिक्री गर्दा साँवा पनि नउठ्ने र प्रतिफल पनि नपाउने अवस्थाले यसतर्फ लगानीकर्ताको झुकाव निरन्तर कम हुँदै गएको हो।
कर्जा प्रवाह नहुनु र नाफामा निरन्तर गिरावट
पछिल्लो समय बैंक तथा वित्तीय संस्थामा लगानी योग्य रकम (तरलता) थुप्रिएर बसेको छ। नेपाल राष्ट्र बैंकको तथयांकअनुसार मंसिर मसान्तसम्म बैंकिङ प्रणालीमा करिब ५ खर्ब हाराहारी लगानी योग्य रकम रहेको छ। जबकि, अघिल्लो वर्षको सोही अवधिमा भने बैंकिङ प्रणालीमा १ खर्ब ६२ अर्ब रुपैयाँ हाराहारी मात्रै तरलता थियो। एक वर्षको अवधिमा दुई सय बढी प्रतिशतले लगानीयोग्य रकम थप भएको र कर्जा प्रवाह नभएको अवस्थामा यसले बैंकहरुको नाफामा पनि असर पुर्याउने गर्दछ।
ब्याजदर न्यून बिन्दुमा रहेको समयमा समेत कर्जा प्रवाह हुन नसकेकोले आगामी दिनमा बैंकको नाफा अझै घट्नसक्ने आंकलन पनि भइरहेका छन्। यसै पनि बैंकहरुको नाफा केही वर्ष यता निरन्तर घट्दै गइरहेको छ।
बैंकहरुको खर्च बढ्दै गइरहेको, सूचना प्रविधिमा व्यापक लगानी गर्नुपर्ने अवस्था रहेका कारण पनि बैंकको नाफा संकुचित हुँदै गएको छ। यसमाथि, केन्द्रीय बैंकको नीति नियम पनि बैंकको आम्दानी घटाउने ढंगमा आइरहेको विषय उठिरहेको छ। यी कारणले पनि सेयर बजारमा बैंकिङ समूहको प्रस्तुति शिथिल बनेको हो।
बजारमा ट्रेडर हाबी हुनु
बजारमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका लगानीकर्ता हुन्छन्। लगानीकर्ताले आफ्नो लक्ष्यअनुरूप कम्पनी छनोट गरी खरिद बिक्रीमा सहभागी हुन्छन्। तर, अहिले लगानीकर्ता अल्पकालीन कारोबारमा रमाइरहेका छन्।अल्पकालीन कारोबारका लागि बैंक जस्ता कम्पनी भन्दा पनि बजारमा सेयर हिस्सा कम भएका कम्पनी उचित मानिन्छ। कम पुँजी भएका कम्पनीको सेयरमा नियोजित रुपमा लगानीकर्ता मिलेर मूल्य बढाउने गरेको विषय उठ्दै आएको छ।
तर, ठूला पुँजी भएका कम्पनीको सेयर मूल्यमा कारोबारको सुरुआती चरण वा मध्यतिर सर्किट लगाउन कठिन हुन्छ। सामान्यरुपमा केही निश्चित व्यक्ति वा सानो समूहले चाहँदैमा ठूलो पुँजी भएका कम्पनीको मूल्य घटबढ गर्न कठिन हुन्छ। बैंकिङ समूहको सेयर मूल्य फाइनान्स, विकास बैंक, लघुवित्त कम्पनीको जस्तो सहजै तलमाथि नहुने भएकाले पनि यो समूह चल्न नसकेको हो। लगानीकर्ताबीचमा छोटो समयमा बढी आम्दानी गर्ने होडले बैंकिङ समूह सुस्ताएको देखिन्छ।
बाफिया विधेयकले सिर्जना गरेकाे त्रास
बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक (बाफिया)मा गरिएको प्रस्तावले पनि यसमा बैंकिङ क्षेत्रको सेयरमा केही हदसम्म असर पुर्याएको देखिन्छ। कुनै पनि बैंक तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर भएका व्यक्तिले आफू आबद्ध मात्र होइन, अन्य बैंक वा वित्तीय संस्थाबाट पनि व्यक्तिगत बाहेक व्यावसायिक ऋण लिन नपाउने व्यवस्था लागू गर्ने किसिमको प्रस्ताव बाफियामा छ।
बाफियाको दफा ५२ मा बैंक तथा वित्तीय संस्थाले आफू सम्बद्ध व्यक्ति वा कुनै बैंकमा उल्लेख्य स्वामित्व भएको व्यक्तिलाई कुनै किसिमको कर्जा वा सुविधा प्रदान गर्न नपाउने र त्यसमा परिवारको कुनै व्यक्तिको एकल वा संयुक्त रूपमा १० प्रतिशतभन्दा बढी सेयर स्वामित्व भएका, एक जना सञ्चालक मनोनीत वा हटाउने अधिकार भएको व्यक्ति वा संस्था लगायतलाई सम्बद्ध व्यक्ति मानिने उल्लेख छ। यो किसिमको अन्यौलताले पनि दिर्घकालीन ढंगमा हेर्ने लगानीकर्ता वाणिज्य बैंकमा आकर्षित हुन नसकेको देखिन्छ।
केन्द्रीय बैंकको अस्थिर नीति
बैंकहरुप्रति नेपाल राष्ट्र बैंकले अस्थिर नीति अपनाउँदै आएको विषय पनि उठिरहेको छ। आम्दानी, सेवाशुल्क, ब्याजदर, मर्जर, कर्जा प्रवाह क्षेत्र लगायतका नाममा केन्द्रीय बैंकले पटकपटक अस्थिर किसिमको नीति लिएको विषय उठिरहेको हो।
बैंकहरु हरेक हिसाबमा एकदमै पारदर्शी हुनुपर्ने र त्यसमा पनि कडा नीतिका कारण बाँधिनुपर्ने कारण यस क्षेत्रको आम्दानी खुम्चिँदो छ। आम्दानी खुम्चिएपछि प्रतिफल पनि नपाउने र कम पुँजी भएका कम्पनीमा जस्तो सेयरमा चलखेल पनि गर्न नसक्ने हुँदा बैंकिङ समूह सुस्ताएको हो।
यस्तै बैंकको खराब कर्जा पनि बढ्दै गएको चर्चा भइरहेको छ। दुई वर्ष अगाडिसम्म दुई प्रतिशत तल रहेको खराब कर्जा अहिले साढे चार प्रतिशतसम्म पुगको छ। यस्तै, सेयर बजार डिमान्ड र सप्लाईको आधारमा चल्ने भएको सहजै यो समूह उचालिन पनि कठिन हुन्छ। यी र यस्ता कारणले बैंकिङ समूहमा लगानीकर्ताको आकर्षण नदेखिएको हो।
पुँजी बजारकै ठूलो क्षेत्रको रुपमा रहेको बैंकिङ समूह नचल्दा त्यसको असर बजार सूचक र कारोबार रकममा पनि परिरहेको छ। सेयर बजार विश्लेषक मुक्ती अर्याल नीतिगत व्यवस्था तथा वर्तमान अर्थतन्त्रको अवस्थाका कारण बैंकिङ समूहमा सेयर लगानीकर्ताको आकर्षण नदेखिएको बताउँछन्।
‘बजार डिमान्ड एन्ड सप्लाईका आधारमा चल्छ। बजारमा केही मात्रामा चलखेल हुने पनि गरेको छ, जसका लागि बैंकलाई उचित मानिँदैन। सप्लाई धेरै भएका संस्थामा लगानीकर्ताको रुची पनि देखिँदैन,’ अर्याल भन्छन्, ‘यस्तै, नीतिगत व्यवस्थाका कारणले गर्दा नै बैंकिङ समूह अहिलेको कमजोर स्थितिमा आइपुगेको हो।’ उनले अहिले बैंकको एनपिए धेरै देखिएको र अगाडिको वर्षको तुलनामा एकदमै धेरै पुगिसकेको आशंका पनि भइरहेको बताए।
यस्तै, बैंकको आम्दानीमा समस्या आउनु, कर्जा प्रवाह गर्न नसक्नु, लाभांश दिन नसक्नु जस्ता विषय पनि लगानीकर्ताले हेर्ने भएकाले यी कारणले पनि वाणिज्य बैंक चल्न नसकेको उनको तर्क छ। ‘बाफियाले गरेका केही नीतिगत व्यवस्थाले पनि मानिसमा त्रास पैदा गरिरहेको छ।
यसै पनि, बैंकहरुका लागि राष्ट्र बैंकले अपनाउने नीति अस्थिर र परिवर्तन भइरहने किसिमको छ,’ अर्याल भन्छन्, ‘कहिले मर्जरका कुरा गर्ने, कहिले कर्जा दिनु कहिले नदिनु जस्ता दर्जनौ विषय छन्।’ यी सबै कुराको समिश्रणका कारण बैंकिङ समूह लगानीकर्ताको आकर्षणमा नपरेको देखिन्छ।