काठमाडौं। पोखराको सूर्यदर्शन सहकारीको बचत रकम अपचलन मुद्दामा धरौटी बुझाएर रिहा भएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने आज काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने भएका छन्।
सहकारीसम्बन्धी अर्को मुद्दा काठमाडौंमा रहेकाले आज उनी आफैं काठमाडौं जिल्ला अदालतमा उपस्थित हुने रास्वपाका कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिएका हुन्।
अदालतबाट छुटेपछि प्रहरीले पोखराको फिस्टेल अस्पतालमा स्वास्थ्य परीक्षण गराएर लामिछानेलाई परिवारको जिम्मा लगाएको थियो।
यसअघि अदालतको आदेशानुसार ६५ लाख धरौटी बुझाएर उनी कास्की प्रहरीको हिरासतबाट रिहा भएका थिए। उनसँगै उक्त मुद्दाका छ जना प्रतिवादी धरौटी रकम बुझाएर रिहा भएका थिए।
न्यायाधीश नीतिज राईको इजलासले बिहीबार सभापति लामिछानेलाई ६५ लाख, छविलाल जोशीलाई ८८ लाख, लीला पछाईलाई ३७ लाख, मीना गुरूङलाई पाँच लाख, रामबहादुर खनाललाई १५ लाख, आरती गुरूङलाई पाँच लाख र कृष्णबहादुर गुरूङलाई एक लाख धरौटीमा रिहा गर्न आदेश दिएको थियो।
अदालतमा दश दिनसम्म भएको थुनचेक बहसपछि प्रतिवादीलाई धरौटीमा रिहा गर्न आदेश आएको हो। उनीहरूविरुद्ध पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले उक्त सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरूद्ध मुद्दा दायर गरेको थियो।
सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरूद्ध जिल्ला अदालत कास्कीमा मुद्दा चलाएको छ। धरौटीमा रिहा भएका प्रतिवादीको मुद्दामा थप अनुसन्धान हुने श्रेस्तेदार खनालले बताए।