काठमाडौं। कृषि विकास बैंक लहान शाखाले करोडौँ पर्ने जग्गा सस्तोमा लिलाम गरेको भन्दै स्थानीयले आन्दोलन गरेका छन्। उनीहरूले बिहीबार घण्टौँसम्म टायर बालेर लहानस्थित पूर्वपश्चिम राजमार्ग अवरूद्ध पारेका थिए।
आन्दोलनकारीले कृषि विकास बैंक कार्यालयमा ढुङ्गामुढा गरेका थिए। यस क्रममा आन्दोलनकारी र प्रहरीबीच झडप भएको थियो। आन्दोलनकारीलाई तितरबितर बनाउन प्रहरीले १० राउन्ड अश्रुग्यास प्रहार र चार राउन्ड हवाई फायर गर्नु परेको सिरहा प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले बताए।
झडपमा १० जना बढी प्रहरी घाइते भएको र आन्दोलनकारीबारे थप क्षतिको यकिन नभएको प्रहरीले जनाएको छ। केही आन्दोलनकारी पक्राउ परेका छन्।
स्थानीय किसान रामचन्द्र यादवले पूर्वपश्चिम राजमार्ग टाँसिएकै सवा सात धुर जग्गा धितो राखी २०७७ सालमा ३० लाख ‘ओडी’ ऋण लिएका थिए।
झण्डै चार वर्षअघि लिएको उक्त ऋणको सावाँ र ब्याज गरी हालसम्म १९ लाख ९२ हजार ७७३ तिरिसक्दा पनि सस्तैमा जग्गा लिलाम भएकाले अन्यायमा परेकाले आन्दोलन गर्नु परेको ऋणी यादवले बताए।
यसभन्दा अगाडि पुस ११ गते ऋणी यादवको साथमा स्थानीयले कृषि बैंकमा तालाबन्दी गरेका थिए। सोही दिन आन्दोलनकारी र बैंकबीच वार्ता भएर आठ घण्टापछि साँझ तालबन्दी खुलेको थियो।
वार्तामा लिलाम भएका जग्गा तत्कालै बैंकले मालपोतलाई पत्राचार गरी रोक्का गर्ने र कानुनी प्रक्रिया मिलाएर जग्गा फिर्ता गरी धनीको नाममा कायम गर्ने सहमति भएको जिल्ला उद्योग वाणिज्य सङ्घका अध्यक्ष विकास शारदा बताउँछन्।
अध्यक्ष्य शारदाले भने, “दुई पक्षबीच भएको सहमति पालना नहुँदा आन्दोलन चर्कियो। बैँकले ऋण स्वीकृत गर्ने बेलामा जग्गाको मूल्यांकन ८० लाख गरेर ३० लाख ऋण स्वीकृत गरेको देखिन्छ। तर, चार वर्षपछि जग्गाको भाउ बढ्नुको साट्टा घटाएर ६५ लाख मूल्यांकन गरी ३५ लाखमा लिलामी गरिनुले कुनै न कुनै खोट देखिन्छ।”
चलनचल्ती अनुसार एक करोड ४५ लाखमा बिक्री हुने जग्गा ३५ लाखमा लिलाम गरिदिएको पीडित यादवले बताउँछन्। उनले भने, “गाउँको १० कठ्ठा जग्गा बेचेर बजारमा जग्गा किनी घर बनायौँ। तर, त्यो बैंकले लिलाम गर्दा बेघर भयौँ। सोझो मान्छे जसरी पनि ठगिनेरहे छ। हामीलाई सरकारले न्याय गर्नुपर्छ।”
यता कृषि विकास बैंक लहान शाखाले यस विषयमा सहजीकरण गरिदिन राष्ट्र बैंकको जनकपुर कार्यालयलाई अनुरोध गरेको जनकपुरस्थित राष्ट्र बैंकका कार्यालय प्रमुख माधव दङ्गालले बताए।