काठमाडौं। वित्तीय अपराधमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई जिल्ला अदालत कास्कीले ६५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको छ।
पूर्व गृहमन्त्रीसमेत रहेका लामिछानेलाई पोखराको सूर्यदर्शन सहकारी ठगीको मुद्दामा धरौटीमा रिहा गर्न आदेश दिएको हो। न्यायाधीश नीतिज राईको इजलासले उनलाई धरौटीमा रिहा गर्न आदेश दिए पनि मुद्दा कायम भई अन्तिम फैसला हुन बाँकी हुनेछ।
अदालतले धरौटीमा रिहा गर्न आदेश दिएसँगै लामिछानेले प्रहरी हिरासतबाहिर बसेर कानुनी प्रक्रिया गर्न सक्ने छन्। तर, उनीविरुद्ध काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत हिनामिना गरेको आरोपमा पक्राउ पुर्जी जारी भएको छ। काठमाडौंमा उनी आफैं उपस्थित हुने छन् ।
'सहकारीको रकम निज प्रतिवादी (लामिछाने)को खातामा आउने र त्यहाँबाट अन्यत्र जाने कार्यसमेत भएको देखिएको तथा अन्य प्रतिवादीसँग देखिएको अन्तरसम्बन्ध र बैंक खाताको ट्रान्जेक्सन (कारोबार)समेतका मिसिलमा संलग्न तत्काल प्राप्त आधार र प्रमाणहरूबाट नीज प्रतिवादी अहिले नै कसुरदार रहेन छन् भन्न सकिने मनासिव आधार नदेखिएपनि, तत्काल प्राप्त माथि उल्लेखित प्रमाणहरूबाट प्रतिवादीलाई पछि थप प्रमाण बुझ्दै जाँदा ठहरे बमोजिम हुने नै हुँदा निज प्रतिवादीलाई मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ को दफा ६८ र ७२ समेतको आधारमा धरौटी ६५ लाख रुपैयाँ नगद वा सो बराबरको जेथा वा बैंक जमानत दिए लिई तारेखमा राख्नु र नदिए वा दिन नसकेमा दफा ८० बमोजिमको थुनुवा पुर्जी दिई थुनामा राख्न कारागार कार्यालय कास्कीमा पठाइदिनू,' आदेशमा भनिएको छ।
लामिछानेविरुद्ध गोर्खा मिडिया नेटवर्कमा आवद्ध हुँदा देशभर पाँच जिल्लामा रहेका सहकारीको बचत हिनामिना गरेको आरोप छ। प्रहरीले उनलाई बयानका लागि उजुरी परेको जिल्लाहरूमा लगेको थियो। यसमध्ये उनीविरुद्ध कास्की जिल्ला अदालतमा मात्रै मुद्दा दायर भई बहस भएको हो।
अदालतको आदेशसँगै रास्वपाले खुसीयाली मनाएको छ। आज अदालतको आदेश आउने भएसँगै रास्वपाका नेता तथा कार्यकर्ताहरू पोखरा पुगेका थिए।
उनीसँगै गोर्खा मिडियाका सञ्चालक पूर्वडीआईजी छविलाल जोशीसँग ८८ लाख, लिला पछाईसँग ३७ लाख, रामबहादुर खनालसँग १२ लाख, कृष्णबहादुर गुरुङसँग १ लाख, मीना गुरुङ तथा आरती गुरुङसँग ५-५ लाख रुपैयाँ धरौटी लिएर रिहा गर्न अदालतले आदेश दिएको छ । आजै यो मुद्दामा थुनछेकको बहस सकिएको थियो। सरकारी वकिलले जवाफी बहस गरेका थिए।
सहकारीको रकम हिनामिना प्रकरमा हाल पूर्वगृहमन्त्री लामिछाने, छविलाल जोशी, लीला पछाईं, रामबहादुर खनाल, मीना गुरुङ, कृष्ण बहादुर गुरुङ र आरती गुरुङसमेत गरी सात जना हिरासतमा छन् ।
गत पुस ७ गते जिल्ला सरकारी वकिल कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा एक अर्ब ५१ करोड ४० लाख बिगो दाबी गर्दै रास्वपा सभापति लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।