काठमाडौं। सत्तारूढ नेपाली कांग्रेसले साना तथा मझौला व्यवसायीले उत्पादन गरेका वस्तुको बजारीककरण गर्न र उद्यमशीलता विकास गर्न नेपाल स्टार्टअप र साना तथा मझौला व्यवसाय सम्मेलन गर्ने भएको छ। कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागको आयोजनामा आगामी माघ १६ र १७ गते सम्मेलन गर्न लागेको हो।
आर्थिक रुपान्तरणलाई प्रवद्र्धन गर्न, लगानी प्रोत्साहन गर्न, डिजिटल अर्थतन्त्रलाई प्रवद्र्धन गर्न, युवा उद्यमीलाई प्रोत्साहित गर्दै उद्यमशीलता विकासमा सहयोग पुर्याउन सम्मेलन आयोजना गरेको कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभाग संयोजक तथा केन्द्रीय सदस्य उर्मिला थपलियाले बताइन्।
‘साना तथा मझौला व्यवसायीलाई प्रोत्साहन गर्न कार्यक्रम आयोजना गरिएको हो,’ थपलियाले भनिन्, ‘सम्मेलनमा उद्यमीले के कस्ता समस्या झेलिरहेका छन् र सम्भावना तथा अवसरको बारेमा पनि छलफल हुनेछ।’
विभागले आयोजना गरेको सम्मेलनमा नेपालमा उत्पादन गरेका वस्तुको प्रर्दशनी गर्नका लागि नेपाली कांग्रेस उद्यमशीलता र साना तथा मझौला व्यवसायी विकास विभागका र नेपाल घरेलु तथा साना उद्योग महासंघबीच सहमति पत्रमा हस्ताक्षर गरेको छ । कांग्रेसबाट विभाग संयोजक थपलिया र महासंघ अध्यक्ष उमेशप्रसाद सिंहले हस्ताक्षर गरे।
सम्मेलनमा ८० वटा स्टल राखिनेछ। स्टलमा महासंघले मुलुकभर उत्पादन भएका लघु तथा साना उद्योगले उत्पादन गरेका हस्तकला लगायतका वस्तुहरु प्रर्दशनीमा राख्ने सहमति भएको छ। कांग्रेसले नेपाली वस्तुको प्रवर्द्धन गर्नु सकारात्मक भएको महासंघ अध्यक्ष सिंहले बताए। ‘सम्मेलनले वस्तुलाई बजारसम्म पुर्याउन सघाउ पुग्नेछ,’ सिंहले भने, ‘मेड इन नेपाल अन्तर्गत उत्पादित वस्तुलाई निःशुल्क स्टल उपलब्ध गराउने कार्य सकरात्मक छ।’
राजनीतिक दलले उद्यमीलाई हौसला प्रदान गर्ने कार्यले उद्यमशीलता विकासमा सहयोग पुग्ने उनले बताए। सम्मेलनमा नेपाली उद्यमशीलताको भविष्य र आर्थिक रुपान्त्रणका सम्भावनाबारेमा समूहगत छलफल समेत आयोजना गरिएको थपलियाले बताइन्।
नेपालको आर्थिक संरचनामा सुधार ल्याउन, नवीनतम दृष्टिकोण र उद्यमशील रणनीतिको अन्वेषण गर्न सम्मेलनले महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ।
कार्यक्रममा समूह छलफलका लागि प्राथमिकताका क्षेत्र तोकिएको छ। नवप्रवद्र्धन र उद्यमशीलता, नेपालमा लगानी, स्टार्टअप र एसएमईको भविष्य, कृषि उद्यमशीलता अवसर र चुनौती, शिक्षा र जनशक्ति विकास आइटी क्षेत्रको लागि तयारी, महिला उद्यमशीलता समतामूलक आर्थिक विकासको दिशामा, गैरआवासीय नेपाली नेपालमा लगानी र आर्थिक वृद्धिको सम्बन्ध अवसर र चुनौती लगायतका विषयमा छलफल हुने कांग्रेसले जनाएको छ।