काठमाडौं। भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले सडक किनाराका विद्युतका पोलका कारण राजमार्ग विस्तारमा ढिलाइ नगर्न निर्देशन दिएका छन्।
आज झापास्थित पूर्व पश्चिम राजमार्ग विस्तार आयोजनाको पूर्वी खण्डको निरीक्षणका क्रममा उनले सरकारी–सरकारी निकायबीच समन्वय र सहयोग अभावले निर्माण कार्य रोकिन नहुने बताएका हुन्।
झापा र मोरङका विभिन्न खण्डमा जारी राजमार्ग विस्तार कार्यको निरीक्षण गर्दै उनले विकास निर्माण कार्यको सवाल कुनै एक मन्त्रालय वा कार्यालयको मात्र नभएकाले सबै निकायबीच समन्वय आवश्यक रहेकामा जोड दिए।
‘कतिपय ठाउँमा रुख कटानको समस्याले राजमार्ग विस्तार कार्य रोकिन पुगेको थियो तर त्यसलाई एक हदसम्म समाधान गरेका छौं’, मन्त्री दाहालले भने, ‘वन संरक्षण एवं विद्युत, खानेपानी तथा सडक विस्तार कुनै एक कार्यालय वा निकायको मात्र होइन, हामी सबैको साझा सरोकारका विषय हुन्।’
विद्युत पोल तथा तार नसार्दा राजमार्ग विस्तारमा ढिलाइ हुन नदिन केन्द्रीकृत ठेक्काको साटो आवश्यक परेका ठाउँमा तुरुन्तै हटाउन र सार्न सकिने प्रबन्धन गर्नुपर्नेमा उनको जोड छ।
पूर्वपश्चिम राजमार्ग विस्तार कार्य सरकारको उच्च प्राथमिकताको आयोजना भएको उल्लेख गर्दै उनले यसलाई तीव्र बनाउन सडक विभागलाई निर्देशनसमेत दिए। यो राजमार्गले नेपाललाई अन्तर्राष्ट्रिय सडक सञ्जालसँग जोड्ने भएकाले नेपालको आर्थिक विकासमा समेत महत्वपूर्ण टेवा पुग्ने मन्त्री दाहालले विश्वास छ।
मन्त्री दाहालले आज झापाको पाडाजुंगीदेखि दमक हुँदै मोरङको उर्लाबारी, पथरी, कानेपोखरी तथा विराटचोक क्षेत्रमा भई रहेको सडक विस्तार कार्यको निरीक्षण गरे।