गुल्मी। गुल्मीमा यो वर्ष सुन्तला उत्पादन बढेको छ। कृषि ज्ञान केन्द्र गुल्मीका अनुसार यो वर्ष २४ करोड ५० लाख रुपैयाँ बराबरको सुन्तला उत्पादन भएको हो। । गत वर्ष २३ करोड बराबरको सुन्तला उत्पादन भएको कृषि ज्ञान केन्द्र गुल्मीका प्रमुख नरेश धितालले बताए।
यो वर्ष १३ करोड रुपैयाँको सुन्तला जिल्लाबाहिर बेचिएको कार्यालय प्रमुख धितालको भनाइ छ। गत वर्ष गुल्मीबाट १२ करोड बराबरको सुन्तला बाहिरी जिल्ला निर्यात भएको थियो। नयाँ बोटले फल दिन सुरु गर्नु, सुन्तलालाई उचित मल तथा सिँचाइ पुग्नु, समस्या देखिए तुरुन्तै प्राविधिक सल्लाह लिएर त्यसको उपचारमा लाग्नुजस्ता कारणले उत्पादन बढेको प्रधानमन्त्री तथा कृषि आधुनिकीकरण परियोजना गुल्मीका प्रमुख गंगा पोख्रेलले बताइन्।
गुल्मीमा ९५ प्रतिशतभन्दा धेरै सुन्तलाको बगैंचा बिजु बोटका रहेका छन्। बिजु बोटका सुन्तलाले लामो समयसम्म फल दिने गर्छन्। तर किसानले परम्परागत रूपमा सुन्तला खेती गर्ने भएका कारण कतिपय अवस्थामा सुन्तलाका फेद र जरा कुहिने समस्या देखिने गरेको छ।
गुल्मीका १२ वटै पालिकामा सुन्तला खेती हुने गरेको छ। १२ पालिकाका ३७ वटा वडामा सुन्तला जात फलफूल जोन कार्यक्रम लागू भएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत गुल्मीको मदाने गाउँपालिकाको पुर्कोटदह र धुर्कोट गाउँपालिकाको पिपलधारा, सत्यवतीको लिम्घालगायतका ठाउँमा सुन्तला खेतीका लागि चक्लाबन्दीसमेत गरिएको छ।
अहिले बजारमा गुल्मीको सुन्तला प्रतिकेजी ८० रुपैयाँदेखि एक सयसम्ममा बिक्री हुँदै आएको छ।
गुल्मीमा सुन्तलाका लागि धुर्कोट गाउँपालिकाको नयाँगाउँ, पिपलधारा, छत्रकोटको लुम्छा, शृंगा, रेसुंगा नगरपालिकाको भाडगाँउ, रुरुक्षेत्रको मुसिडाँडा, चौतारा, मुसिकोट नगरपालिकाको अर्लाङकोट, गुल्मी दरबारको गौडाकोट, कालीगण्डकीको अर्बेनी, जयखानी चन्द्रकोटको रेमी, सत्यवती र मदानेको भनभने मुख्य पकेट क्षेत्र मानिन्छन्।–रासस