काठमाडौं। अमेरिकी नवनिर्वाचित राष्ट्रपति डानाल्ड ट्रम्पले सपथ लिनुअघि युक्रेन समर्थित देशहरूका नेताहरूबीच बैठक बसेको छ। विगत ३ वर्षदेखि जारी रुस–युक्रेन युद्धमा युरोपेली देशहरूले युक्रेनलाई आर्थिक तथा भौतिक सहायता दिँदै आएका छन्।
यता, अमेरिकी नवनिर्वाचित राष्ट्रपति ट्रम्पले यी दुई देशबीच जारी युद्धको कुनै औचित्य नभएको टिप्पणी गर्दै आएका छन्। उनले आफूले पदभार ग्रहण गरेसँगै युद्ध अन्त्य गर्ने बताउँदै आएका छन्।
यसैबीच पश्चिमी सहयोगी र युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीसहित बिहीबार जर्मनीको एक अमेरिकी आधार शिविर बैठक बसेको हो। यो बैठकलाई ट्रम्प सत्तामा फर्कनुअघि उत्तर एटलान्टिक सन्धि संगठन (नाटो) गठबन्धन सदस्यको अन्तिम बैठक मानिएको छ।
अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले रामस्टिन एयर बेसमा हुने २५औँ वार्तामा किएभका लागि पर्याप्त नयाँ सैन्य सहायता प्याकेजको घोषणा गर्ने अपेक्षा गरिएको छ।
करिब तीन वर्षसम्म चलेको यो युद्धमा संलग्न रूसी र युक्रेनी सेनाले जनवरी २० मा ट्रम्पको सपथ ग्रहणअघि आ–आफ्नो स्थान सुरक्षित गर्न खोजिरहेका छन्।
राष्ट्रपति जो बाइडेन नेतृत्वमा रहेको अमेरिकाले युक्रेनलाई अहिलेसम्म ६५ अर्ब अमेरिकी डलरभन्दा बढीको सैन्य सहायता प्रदान गरेको छ। यता, जर्मनी युक्रेनको दोस्रो ठूलो सहायता देश बनेको छ। जर्मनीले युक्रेनलाई करिब ३० अर्ब डलर सहायता प्रदान गरेको छ।
यसबाहेक युक्रनेलाई युरोपका अधिकांश देशले आर्थिक तथा सैन्य सहयोग गर्दै आएको छ। यसैबीच, अमेरिकाको सत्तामा दोस्रो पटक फर्किन लागेका ट्रम्पले दुई देशबीचको युद्धबाट बाहिरिने बताएका छन्।