काठमाडौं। अमेरिकाको लसएन्जलस वरपर फैलिएको डढेलोका कारण मानवीय तथा भौतिक क्षति भएको छ। डढेलोमा परेर हालसम्म कम्तीमा पाँच जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन्।
डढेलो सहरमा प्रवेश गरेपछि घरमा भएको आगलागीका कारण कम्तीमा १ हजार ५०० भन्दा बढी भवन जलेर नष्ट भएका छन् भने एक लाखभन्दा बढी मानिस विस्थापित भएका छन्। लसएन्जलस काउन्टीका अग्नि नियन्त्रक एन्थोनी मारोनले आफू मातहतका कर्मचारी विपत्तिको परिमाण र गतिसँग जुधिरहेको बताए।
उनले भने, ‘हामीले सक्दो प्रयास गरिरहेका छौं तर लसएन्जेलसका सबै विभागमा यसलाई ह्यान्डल गर्न पर्याप्त अग्नि नियन्त्रक छैनन्।’
पासाडेनाका अग्नि नियन्त्रक चाड अगस्टिनका अनुसार आगलागीका कारण ५०० बढी भवन नष्ट भएका छन्।
उनले आगलागी नियन्त्रणका लागि जुटेका अग्नि नियन्त्रकको प्रशंसा गर्दै आगलागी भीषण रहेको र नियन्त्रणमा ल्याउन निकै कठिनाइ जानकारी दिए।
अगस्टिनले पत्रकारसँग भने, ‘उनीहरूको वीरतापूर्ण कार्यबिना आज आगलागीका कारण मृत्यु हुनेको संख्या उल्लेखनीय रूपमा बढी हुने थियो।’ लस एन्जलस डिपार्टमेन्ट अफ वाटर एन्ड पावरका प्रमुख कार्यकारी जेनिस क्विनोनेसले प्यासिफिक पालिसडेसमा पानीका स्रोत (हाइड्रेन्ट) सुकेपछि पानीको जथाभावी प्रयोग नगर्न र जोगाएर नियन्त्रण गर्न आग्रह गरेका छन्।
अमेरिकाका नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार आफ्नो सामाजिक सञ्जालमार्फत पानी अभाव राज्यको वातावरणीय नीतिका कारण भएको दाबी गरेका छन्।
लसएन्जलसको अधिकांश पानी कोलोराडो नदीबाट आउँछ र आवासीय प्रयोग वा फायर फाइटिंगको अलावा यसलाई खेतीमा सिँचाइका लागि प्रयोग गरिन्छ।
अमेरिकी राष्ट्रपति जो बाइडेनले डढेलो नियन्त्रणका लागि केन्द्रीय स्रोत र साधनसमेतको व्यवस्थापनमा ध्यान केन्द्रित गरिएको बताएका छन्। उनले यसै साता इटालीको लागि तय भएको आफ्नो भ्रमण रद्द गरेका छन्। बाइडेनले भने, ‘हामी डढेलो नियन्त्रण गर्न जति सक्दो प्रयास गरिरहेका छौं।’–एजेन्सी