काठमाडौं। नेपालमा ११ सय बढी टाटाको विद्युतीय (ईभी) ट्याक्सी गुडिरहेको यातायात व्यवस्था विभागअन्तर्गतको साना ठूला सवारी दर्ता कार्यालय एकान्तकुनाले जनाएको छ। कार्यालयका सूचना अधिकारी अम्बिक घिमिरेका अनुसार हालसम्म कार्यालयमा ११४३ ईभी ट्याक्सी दर्ता भएका हुन्।
‘विद्युतीय ट्याक्सी सेग्मेन्टमा अहिलेसम्म ११४३ युनिट ट्याक्सी दर्ता भएको छ, दर्ता हुने प्रक्रिया बढ्दै गइरहेको छ,’ सूचना अधिकारी घिमिरेले भने,‘अहिलेसम्म जति पनि ट्याक्सी दर्ता भएका छन्, ती सबै ट्याक्सी एक्सप्रेस-टी मात्र हुन्, अन्य ब्रान्डको विद्युतीय ट्याक्सी हालसम्म दर्ता भएको छैन।’
नेपालमा भित्रिएको पहिलो विद्युतीय ट्याक्सी टाटाको एक्सप्रेस-टी हो। नेपालका लागि टाटा ब्रान्डको आधिकारिक वितरक सिप्रदी ट्रेडिङले एक्सप्रेस-टी नेपाली बजारमा २०७९ माघमा भित्र्याएको थियो।
खासगरी, ईभी चार पांग्रेमा कार तथा भ्यान भित्र्याउनेको संख्या बढ्दै गए पनि विद्युतीय ट्याक्सी भित्र्याउने ब्रान्ड टाटा मात्र थियो। नेपाली सडकमा हुन्डाई, सुजुकीलगायत ब्रान्डका इन्धन ट्याक्सी गुड्दै आए पनि विद्युतीयमा भने टाटाको एक्सप्रेस-टी मात्र थियो। विद्युतीय ट्याक्सी सेग्मेन्टमा टाटाले एकछत्र राज गर्दै आएको समयमा हाल जेएमईभी ब्रान्डको ईभीईजी ट्याक्सीको प्रवेशले थप प्रतिस्पर्धा हुने देखिएको छ।
नेपाली बजारमा पहिलेदेखि चल्दै आएको टाटा एक्सप्रेस-टी सिप्रदी ट्रेडिङले ३६ लाख ९९ हजार रुपैयाँमा बिक्री गर्दै आएको छ। हालै सरिना जी ट्रेडर्सले सार्वजनिक गरेको ईभीईजीको मूल्य कम्पनीले ४१ लाख ४९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ।
टाटा एक्सप्रेस-टी
टाटाको एक्सप्रेस-टी मा २६ किलोवाट अवारको लिथिएम ब्याट्री प्याक दिइएको छ। यसमा जडान गरिएको मोटर ४८ किलोवाटको छ। यो ट्याक्सीले १७० एनएमको टर्क जेनेरेट गर्दछ। टाटा एक्सप्रेस-टीले एक पटकको फुल चार्जमा ३०६ किलोमिटर रेन्ज दिने एआरएआइले प्रमाणित गरेको छ।
५ सिट क्षमताको एक्सप्रेस टी मा १७२ एमएमको ग्राउन्ड क्लियरेन्स पाउन सकिन्छ। एसी र डिसी दुवै चार्ज सर्पोट गर्ने एक्सप्रेस-टीलाई १५ एम्पायरको चार्जिङ पोर्टबाट करिब ९ घण्टामा शून्यदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिने कम्पनीको दाबी छ।
त्यस्तै, २५ किलोवाट क्षमताको डिसी फास्ट चार्जरबाट चार्ज गर्दा भने ६५ मिनेटभित्र ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। मल्टी ड्राइभ मोड उपलब्ध यो गाडीमा अगाडि ह्वीलमा डिस्क ब्रेक र पछाडि ड्रम ब्रेक दिइएको छ।
यस ईभी ट्याक्सीमा ह्वील एसिस्ट सिस्टमसँगै थप आकर्षक फिचर समावेश गरिएको छ। सुरक्षाका लागि यसमा ड्यूल एयरब्याग, इबीडी सहितको एबीएस, पावर विन्डो, ड्राइभर इन्फरमेसन सिस्टम दिइएको छ।
जेएमईभी ईभीईजी
सरिना जी ट्रेडर्सले नेपाल भित्र्याएको ईभीईजी सेडान ट्याक्सीमा ४९ किलोवाट आवरको लिथियम ब्याट्री प्याक दिइएको छ। जसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ। यो गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ। यस ट्याक्सीले एसी र डिसी दुवै चार्जर सपोर्ट गर्दछ। डिसी चार्जरको सहायतामा ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
साथै, एसी चार्जरले चार्ज गर्दा फुल चार्ज हुन ९ घण्टा लाग्छ भने डिसी चार्जर प्रयोग गर्दा फुल चार्ज हुन १ घण्टा १५ मिनेट लाग्ने छ। कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टी दिएको छ।
जेएमईभीको ईभीईजी ट्याक्सीमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ। साथै, यसमा ४१० लिटरको बुट स्पेस, क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री-वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता विशेषता छन्।
यसमा दुईवटा एयरब्याग, ईबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टी पिन्च विन्डो ग्लासलगायत सेफ्टी फिचर छन्।