काठमाडौं। खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १४ बुइपास्थित चार वटा टोलका स्थानीयले आयातीत पेय पदार्थ सेवन प्रतिबन्ध गरेका छन्। आयातित पेय पदार्थले आर्थिक, परम्परागत संस्कृति र स्वास्थ्यमा असर गर्ने भन्दै गैरी फुलेली, कुसुङ्खा, उर्लेनी र छापगाउँका स्थानीवासीले बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया तथा विभिन्न चाडपर्व र मेलापातमा आयातित पेय पदार्थ सेवन प्रतिबन्ध लगाएका हुन्।
बाहिरी जिल्लाबाट आयातित पेय पदार्थ सेवनले आर्थिक, सांस्कृति तथा मानव स्वास्थ्यमा समेत प्रतिकूल असर गरेकाले पूर्ण रूपमा प्रतिबन्ध लगाइएको सामाजिक अभियान्ता अरुण राईले जानकारी दिए।
‘हाम्रो गाउँमा बिहे, छेवर, गुन्युचोली, पास्नी, काजकिरिया, सांस्कृतिक चाडपर्व, मेलापातलगायत आयातीत पेय पदार्थ सेवन गर्ने चलन थियो, एउटा घरमा हुने कार्जेमा आयातित पेय पदार्थ प्रयोग गरेपछि अर्को घरले पनि प्रयोग गर्नैपर्ने बाध्यता सिर्जना भएको थियो, यसलाई रोक्न प्रतिबन्ध लगाइएको हो,’ उनले भने।
गाउँमा हुने बिहे तथा मेलापातमा यसअघि ड्यू, कोक, जुसका साथै मादक पदार्थका रूपमा सेवन गरिने विभिन्न कम्पनीका रम, बियरलगायत पेयपदार्थ प्रयोग हुँदै आएको थियो।