काठमाडौं। काठमाडौंको धुम्बाराहीमा सञ्चालित ह्याम्स अस्पतालले भक्तपुरको गठ्ठाघरस्थित नागरिक अस्पतालमा साढे २ अर्ब लगानी गर्ने भएको छ। ह्याम्सले नागरिक अस्पतालको स्वामित्व लिएसँगै अत्याधुनिक भवन निर्माण गरी सुविधासम्पन्न अस्पताल निर्माण गर्न २ अर्ब ५० करोड रुपैयाँ बढी लगानी गर्न लागेको हो।
अस्पतालका अध्यक्ष रामशरण (आरएस) भण्डारीले बन्द अवस्थामा पुगेको नागरिक अस्पताललाई पुनर्जन्म दिएर अत्याधुनिक सेवा उपलब्ध गराउने उद्देश्यले लगानी विस्तार गर्न लागिएको बताए। १६ वर्षअघि मुनाल पोलिक्लिनिक सञ्चालनका बेला भण्डारीले ५ लाख रुपैयाँ सेयर हालेका थिए। भण्डारी सञ्चालक रहे पनि व्यवस्थापन जिम्मेवारी अरुले सम्हालेका थिए।
भक्तपुरमा सुविधासम्पन्न अस्पताल अभाव पूर्ति गर्न भण्डारीले नागरिक अस्पताल व्यवस्थापन सहित स्वामित्व लिएर अत्याधुनिक सेवा प्रवाह गर्न लागेका हुन्।
पहिलो चरणमा अस्पतालमा करिब ३० करोड बढी लगानी भइसकेको जनाइएको छ। अहिले इमर्जेन्सी सेवामा भक्तपुर पहिलो एमजीडीपी अस्पतालको रुपमा सेवा सुरु गरिएको छ।
ह्याम्समा जुन प्रविधिबाट बिरामीले उपचार सेवा पाइरहेका छन्, त्यही स्तरको सुविधा नागरिकबाट पनि दिइनेछ। अहिले १०० बेड अस्पतालको रुपमा सञ्चालन भइरहेकामा आफ्नै भवन बनेपछि २०० बेडमा स्तराेन्नति हुनेछ।
त्यसैगरी क्रिटिकल केयरमा पूर्णकालीन डाक्टरले सेवा दिने गरी लेभल ३ को आइसियू सञ्चालनमा आएको छ। प्रविधि र डाक्टरको हिसाबमा उत्कृष्ट सेवा दिन सक्ने गरी नागरिक अस्पतालको स्तराेन्नतिसँगै सेवा विस्तार गरिएको छ।
यो सेवा भक्तपुरको पहिलो हो। सुविधासम्पन्न सिटीस्क्यान राख्ने तयारी गरिरहेको र अन्य विभागका लागि आवश्यक सेवा विस्तारकाे काम भइरहेको छ। अस्पतालमा १० हजार स्क्वायर फिट नयाँ संरचना निर्माण तयार भइसकेको र बाँकी भएका संरचनामा भवन निर्माण तयारी भइरहेको अध्यक्ष भण्डारीले जानकारी दिए।
अहिलेको अस्पताल भवन भाडामा लिएर सञ्चालन गरिएको हो। अस्पताल नजिकै करिब १ सय ५० मिटर अगाडी ७ रोपनी जग्गा रहेको छ। त्यो बाहेक केही जग्गाहरु थप लिएर अस्पतालको पूर्वाधार बनाउने तयारी भइरहेको उनले जानकारी दिए।
त्यसका लागि नक्सा पासको काम अन्तिम चरणमा पुगेको र नगरपालिकाबाट पास हुने वित्तिकै निर्माणमा जाने योजना व्यवस्थापनको छ।
अव निर्माण हुने भवन ११ तलाको रहनेछ। १ लाख ३० हजार स्क्वायर फिटको भवनमा हेलिप्याड हुनेछ। तीमध्ये २ तला अन्डरग्राउन्ड पार्किङ हुुनेछ।
‘अबको ३ वर्षभित्र अस्पताल आफ्नै भवनमा सिफ्ट गर्ने गरी तयारी थालेका छौं,’ अध्यक्ष भण्डारीले भने, ‘त्यसका लागि दुई चरणमा गरी करिब २ अर्ब ५० करोड बढी लगानी गर्छौं।’
ह्याम्समा जुन प्रविधिबाट बिरामीले उपचार सेवा पाइरहेका छन्, त्यही स्तरको सुविधा नागरिकबाट पनि दिने उद्देश्यले काम भइरहेको उनले बताए। अहिले १०० बेडको अस्पतालको रुपमा सञ्चालन भइरहेका आफ्नै भवन बनेपछि २०० बेडमा स्तराेन्नति गर्दै ट्रमा सेन्टरलाई केन्द्रमा राख्ने उद्देश्य ह्याम्सले लिएको उनको भनाइ छ।
नयाँ भवन निर्माण १ अर्ब ४३ करोड ५० लाख रुपैयाँ ऋण स्वीकृत भइसकेको छ। यो रकम भवन निर्माणसँगै स्वास्थ्य उपकरणहरु खरिदमा खर्च हुने बताइएको छ। अस्पतालमा २ चरणमा लगानी हुनेछ। पहिलो चरणमा २ अर्ब रुपैयाँ लगानी गर्ने र दोस्रो चरणमा ५० करोड बढी लगानी हुने अनुमान गरिएको अध्यक्ष भण्डारीले बताए। नागरिकको भवन ह्याम्स अस्पतालको भवनभन्दा ठूलो हुनेछ।
नागरिक अस्पतालमा ह्याम्सका तर्फबाट अध्यक्ष भण्डारीसहित ५ जना र नागरिकका तर्फबाट ६ जना गरी ११ जनाको सञ्चालक समिति रहेको छ।