काठमाडौं। लगानीकर्ताको रोजाइमा फाइनान्स र विकास बैंक समूह परेका छन्। बुधबार फाइनान्स समूहमा सर्वाधिक अर्थात् ४.७७ प्रतिशतको सुधार आउँदा विकास बैंक समूहमा २.५३ प्रतिशतको वृद्धि आएको छ।
फाइनान्स र विकास बैंकपछि लघुवित्त समूहमा पनि लगानीकर्ताको आकर्षणमा देखिएको छ। लघुवित्त समूह १.५९ प्रतिशतले बढ्दा जलविद्युत् समूह ०.२६ प्रतिशत, जीवन बिमा समूह ०.४० प्रतिशत र उत्पादन समूह ०.४० प्रतिशतले बढेको छ।
बुधबार बैंकिङ समूहमा ०.२६ प्रतिशतको गिरावट आउँदा होटल तथा पर्यटन समूह ०.०६, लगानी समूह ०.३८, निर्जीवन बिमा समूह ०.१३ प्रतिशत र व्यापार समूह १.५६ प्रतिशतले घटेको छ।
आज सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) भने ६.५३ अंक अर्थात् ०.२४ प्रतिशतले बढ्दै २६५३.३८ बिन्दुमा रोकिएको छ। अघिल्लो कारोबार दिन मंगलबार भने नेप्से ६.१६ प्रतिशतले बढेको छ। त्यसअघि सोमबार नेप्से ४९.१२ अंकले, आइतबार ५.३२ अंकले गत साताको अन्तिम कारोबार दिन बिहीबार ४.६३ अंकले र बुधबार ५.१० अंकले बढेको थियो।
यसरी नेप्से लगातार छ कारोबार दिन उकालो लागेको छ। बुधबार कारोबार रकममा पनि सुधार आएको छ। आज नेप्सेमा कुल ६ अर्ब ३४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।
अघिल्लो कारोबार दिन मंगलबार नेप्सेमा कुल ५ अर्ब ३३ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो भने सोमबार ६ अर्ब २३ करोड रुपैयाँ बढीको कारोबार भएको थियो।
बुधबार कारोबारमा आएकामध्ये १३९ कम्पनीको सेयर मूल्य बढ्दा ९५ कम्पनीको घटेको छ। यस्तै, ८ कम्पनीको सेयर मूल्य भने स्थिर छ।
बुधबार समृद्धि फाइनान्सको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा सिन्धु विकास बैंकको सेयर मूल्य ९.९९ प्रतिशतले बढेको छ। यस्तै, अन्य तीन कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ।
बुधबार सामुदायीक लघुवित्त वित्तीय संस्थामा नकारात्मक सर्किट लाग्दा बाराही हाइड्रोपावरको सेयर मूल्य ९.६९ प्रतिशतले घटेको छ।
आज न्यादी हाइड्राको २२ करोड ५३ लाख रुपैयाँ बराबरको सेयर कारोबार हुँदा सिन्धु विकासको १९ करोड ७७ लाख रुपैयाँ बराबरको सेयर खरिदबिक्री भएको छ।