काठमाडौं। माघेसंक्रान्ति सुरु भएसँगै टोखाबजारमा चाकु बनाउने र किन्नेको चहलपहल बढेको छ। चाकुका लागि प्रसिद्ध टोखाबजारमा माघेसंक्रान्ति नजिकिएसँगै चहलपहल बढ्दै गएको हो।
माघेसंक्रान्तिको दिन नेवारी समुदायमा बितेका आफन्तको सम्झनामा ‘घ्यु चाकु’ बनाएर पर्व मनाउने चलन छ। यसर्थ, यो पर्वलाई नेवारी समाजमा घ्यु-चाकुको पर्व भन्ने गरिन्छ। नेवारी समुदायबाहेक धेरै मानिसले माघे संक्रान्तिको दिन पिँडालु, तरुलसँगै चाकु खाने प्रचलन बढ्दै गएको छ। यसले माघेसंक्रान्ति नजिकिएसँगै टोखा बजार चलायमान बन्ने गरेको छ।
टोखामा अहिले चाकु व्यापार बढेसँगै किन्न जाने ग्राहकको भीड बढ्दै गएको छ। ग्राहक बढेपछि चाकु बनाउन भ्याइनभ्याई भएको व्यवसायी बताउँछन्। व्यवसायी चाकु र तिलको लड्डु बनाउन व्यस्त भए पनि ग्राहक माग भने अनेक हुने गरेको छ।
माघेसंक्रान्तिमा चाकुको व्यापार उत्कर्षमा पुगे पनि अरू समयखासै चर्चा हुँदैन। तर, व्यापारीले सधैभरि चाकुका परिकार बनाउने बताउँछन्।
नेवारी समुदायमा माघे संक्रान्तिमा धेरै मात्रामा चाकुको खपत हुने गरेको छ। यसबाहेक मृत्यु संस्कारसँगै नेवारी परम्परामा चाकुको आफ्नै महत्व रहँदै आएको छ। यसले गर्दा चाकु सधैं बन्ने गरेको व्यापारीहरू बताउँछन्।
टोखा नगरपालिका-२ र ३ वडामा पर्ने टोखाबजारभित्र अहिले १४ वटा चाकु उद्योग सञ्चालनमा छन्। यी उद्योगले काठमाडौं उपत्यकामा चाहिने चाकु उत्पादन गर्दै आएका छन्। काठमाडौंका अधिकांश व्यापारी चाकु लिन टोखा पुग्ने भएपछि भिड बढेको छ।
माघे संक्रान्ति आउन केही दिन बाँकी भए पनि चाकुको अर्डर आउने भइरहेको व्यवसायी बताउँछन्। व्यवसायी रामकाजी श्रेष्ठले बजार माग बढी आएर भ्याइनभ्याइ भइरहेको सुनाए। उनको उद्योगबाट वार्षिक ४० हजार किलो चाकु उत्पादन हुने गरेको छ। उनले आफ्नो उद्योगमा प्रयाप्त संख्यामा चाकु बनाउने कामदार खटिएको बताए। उनको उद्योगमा २८ जनाले रोजगारी पाएका छन्। व्यवसायी श्रेष्ठ नेपाली चाकु विदेशमा समेत खपत हुने बताउँछन्।
‘हामीले करिब आठ दशकदेखि चाकु उद्योग चलाएका छौँ, नेवारी भाषामा ‘टु’को अर्थ उखु र ‘ख्य’को अर्थ फल्ने भन्ने हुन्छ, नेवारी भाषाको ‘टुख्य’ भन्दाभन्दै उक्त शब्द टोखा हुन गएको हो,’ श्रेष्ठले भने, ‘परापूर्वकालमा टोखा उखु खेतीका लागि प्रख्यात थियो, त्यही उखुबाट चाकु बनाइन्थ्यो।’
अहिले चाकु बनाउनका लागि आवश्यक पर्ने कच्चा पदार्थ (सखर) तराईका जिल्लाबाट आउने गरेको छ। श्रेष्ठका अनुसार अधिकांश सखर कृष्णनगरबाट ल्याइने गरिएको छ। श्रेष्ठले हाल सादा चाकु, स्पेसल चाकु (खुवा), सेतो लड्डु, कालो लड्डु, भुजा लड्डु, बदाम लड्डुलगायत उत्पादन गरी बिक्री गरिरहेका छन्।
‘मैले आफ्नो उद्योगमा आफन्तलाई पनि काम दिएको छ, सालीले आठ वर्षदेखि काम गरिरहेकी छन्,’ श्रेष्ठ भन्छन्, ‘मैले ८० वर्ष पुरानो यो उद्योग अहिले पनि चलाउँदै आएको छु।’ टोखामा उत्पादन भएको चाकु प्रतिकिलो १४० रुपैयाँसम्म पर्ने गरेको छ।