काठमाडौं–सत्तारुढ एमाले र कांग्रेस सांसदहरुले पर्यटन नीति परिमार्जन र संशोधन गरेर व्यावहारिक बनाउन सरकारलाई सुझाव दिएका छन्।
आज संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्री पाण्डेले मन्त्रालयगत नीति निर्माणबारे कांग्रेस, एमाले सांसदलाई बोलाएर गरेको छलफलमा उनीहरुले यस्तो सुझाव दिएका हुन्।
छलफलमा मन्त्री पाण्डेले मौजुुदा पर्यटन नीति प्रभावकारी नभएकाले मन्त्रालय मातहतका कानुन परिमार्जन, संशोधन र पुनः निर्माण कार्यलाई तीव्रता दिँदै आएको जानकारी दिए। मन्त्री पाण्डेको सक्रियतामा तयार पर्यटन नीतिको नयाँ मस्यौदा अन्तिम चरणका लागि छलफलमा रहेको छ।
मन्त्री पाण्डेले भने, ‘शासकीय स्वरूप परिवर्तन भए पनि पुरानै कानुन भएका कारणले मन्त्रालयका गतिविधि प्रभावकारी बन्न सकेका छैनन्। तिनलाई व्यस्थित र निर्देशित दिने काम नीतिले नै गर्छ। पुराना ऐन संशोधनदेखि नयाँ ऐन निर्माणको क्रम अन्तिम चरणमा पुगेका छन्। नीतिगत रूपमा कहाँ त्रुटि छन्, त्यसको पहिचान गरी राजनीतिक दलको सक्रिय सहभागिता र सुझावका आधारमा अन्तिम रूप दिने काम भइरहेको छ।’
पर्यटन नीति २०८१ को मस्यौदा निर्माणमा छलफलमा एमाले महासचिव शंकर पोखरलले नीति बनाउँदा सैद्धान्तिकभन्दा पनि व्यावहारिक विषयमा ध्यान दिनुपर्नेमा जोड दिए। उनले भने, ‘नेपालको भविष्य पर्यटन क्षेत्रमा छ। यो हाम्रा लागि अवसर पनि हो। जलवायु परिवर्तनको विषय पनि ऐनमा समेटिनुपर्छ। पर्यटकीय दृष्टिकोणले पूर्वभन्दा पश्चिमी क्षेत्र अझै सम्भावनायुक्त छ।’
पर्यटन नीतिको मस्यौदामा सहभागिता जनाउँदै कांग्रेस महामन्त्री गगन थापाले २०६५ को पुरानो ऐनलाई प्रतिस्तावित गर्दै नयाँ बन्ने नीतिले सीमांकनमा ध्यान दिनुपर्ने बताए। महामन्त्री थापाले भने, ‘नीति निर्माणको क्रम निरन्तरता हुनुपर्छ। पुराना कानुनको पुनरवलोकन हुनैपर्छ। नीति बनाउँदा सम्बन्धित अन्तरमन्त्रालयसँग समेत छलफल हुन जरुरी छ। पर्यकीय क्षेत्रमा सरकारभन्दा बढी निजी क्षेत्र बढी सक्रिय र जिम्मेवार बन्न जरुरी छ।’
महामन्त्री थापाले पर्यकीय क्षेत्रको विकासका लागि कति पर्यटक भित्रिएभन्दा पनि उनीहरूले नेपालमा बस्दा कुन क्षेत्रमा कति लगानी र खर्च गरे भन्ने कुरा महत्वपूर्ण रहेको बताउँदै आन्तरिक पर्यटन प्रवर्द्धन गर्नुपर्नेमा जोड दिए।
पर्यटन नीतिको मस्यौदामा मन्त्री पाण्डे, राष्ट्रिय योजना आयोगका सदस्य गंगादत्त अवस्थी, मन्त्रालयका सचिव गणेश पाण्डेय, पर्यटन विभागका कार्यकारी निर्देशक सहसचिव डा नारायण रेग्मी, पर्यटन बोर्डका कार्यकारी निर्देशक दीपकराज जोशीसहित विज्ञ र जानकारले सक्रिय सहभागिता जनाएका छन्।