काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) र नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट) बीच देशको औद्योगिक विकासका लागि वैज्ञानिक सहकार्यका लागि छलफल भएको छ।
नाष्टले महासंघसँग सहकार्यका निम्ति विभिन्न अनुसन्धान तथा विकास, प्रविधि नवप्रवर्तनका लागि सञ्चालित विद्यावारिधि शोधवृत्ति र छात्रवृत्ति, अनुसन्धान अनुदानमा सहकार्य गर्ने प्रस्ताव पेस गरेको छ।
नास्टका उपकुलपति प्राध्यापक डा. दिलीप सुब्बा नेतृत्वको टोलीले महासंघ अध्यक्ष चन्द्रप्रसाद ढकालसँग छलफल गरेको थियो।
नास्टले महासंघसँग गरेको प्रस्तावमा नवप्रवर्तन वृत्ति, युवा वैज्ञानिकलाई अनुसन्धान सहयोग, ब्रेन पुलिङ, स्नातकोत्तर शोध अनुदान, वैज्ञानिक संघ–संस्था आर्थिक सहयोग, वैज्ञानिक यात्रा अनुदान, विद्वतवृत्तिजस्ता कार्यक्रम सञ्चालनमा औद्योगिक क्षेत्रले आर्थिक योगदानमार्फत साझेदारको भूमिका गर्न सक्ने विषय रहेका छन्।
यस्तै, उद्योग क्षेत्रबाट इच्छा गरिएको विषयमा उद्योगको प्रायोजनमा नास्टबाट अनुसन्धान तथा विकास परियोजना सञ्चालन गर्न सकिने, अनुसन्धान तथा विकास इकोसिस्टम तथा इनोभेसन इकोसिस्टम सेन्टर स्थापना र सञ्चालनमा साझेदारी तथा नवप्रर्वतनलगायत विषयमा नास्टले महासंघसँग सहकार्यका लागि प्रस्ताव गरेको छ।
छलफलमा अध्यक्ष ढकालले नास्टले महासंघसँग सहकार्य गर्ने चाहना स्वागतयोग्य भएको बताउँँदै प्रस्तावित विषयमा अध्ययन गरेर अघि बढ्न सकिने जानकारी दिए।