काठमाडौं। सहकारी ठगी प्रकरणमा कास्की प्रहरी हिरासतमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेसहित सात प्रतिवादीको थुनछेक बहस कास्की जिल्ला अदालतमा आज पनि जारी छ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा रविहरुलाई थुनामुक्त गरेर अनुसन्धान गर्नुपर्ने दलिलसहित प्रतिवादीका वकिलबाट बहस भइरहेको हो। प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुनेछ।
सूर्यदर्शन सहकारीकाे डेढ अर्ब अपचलन प्रकरणमा रविका तफबाट जिल्ला अदालतमा १५ जना वकिलले बहस गरेका छन्। रविसहितका ६३ जनाविरुद्धको मुद्दामा सरकारी वकिलको बहस सकिएपछि कास्की जिल्ला अदालतमा प्रतिवादीका वकिलको बहस सुरु भएको हाे।
६३ जनामध्ये सूर्यदर्शन सहकारी ठगीमा परेका पीडितको पूरक जाहेरीका आधारमा अहिले रविसहित ७ जनाविरुद्ध अदालतमा थुनछेक बहस सुरु भएको हो। लामिछाने, पूर्वडिआइजी छविलाल जोशी, नेचर हब्र्स इन्टरनेसनल सञ्चालक रामप्रसाद खनाल, लीला पछाई, मीना गुरुङ, कृष्णबहादुर गुरुङ र आरती गुरुङविरुद्ध कास्की जिल्ला अदालतमा थुनछेक बहस चलेको हो।
जिल्ला सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारी ठगी आरोपमा गत वर्ष असोज १८ गते १९ ६३ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। उक्त मुद्दा अहिले पनि जिल्ला अदालतमा विचराधीन छ। रविहरुविरुद्ध सम्पत्ति शुद्धीकरण र संगठित अपराधको थप अभियोग अदालतमा पेस गरिएको छ।
सहकारीका पूर्वअध्यक्ष गितेन्द्रबाबु (जिबी राई), उनका दाजु भूपेन्द्र राई, वर्तमान अध्यक्ष थानबहादुर बुढा, सञ्चालक समितिका उपाध्यक्ष कैलाशकुमार दर्लामी, सचिव धीरजकुमार दास, कोषाध्यक्ष कुमार रम्तेल, सदस्य हेमन्त अधिकारी, कविता तामाङ र प्रमोद भट्टराईलगायतविरुद्ध मुद्दा दर्ता गरिएको छ। आज लामिछानेसहित प्रतिवादीतर्फका वकिलहरूले बहस गर्दै छन्।
गत मंगलबार जिल्ला अदालत कास्कीका न्यायाधीश नीतिज राईको इजलासमा जिल्ला न्यायाधिवक्ता शान्तिदेवी शर्मा, सहायक जिल्ला न्यायाधिवक्ता सुजाता पौडेलले बहस गरेका थिए।
उनीहरूले मुलुकी फौजदारी संहिताले गरेको व्यवस्थाअनुसार प्रतिवादीलाई पुर्पक्षका लागि कारागार पठाउनुपर्ने सुझाव दिएका थिए।
बुधबार नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मी, उपन्यायाधिवक्ता प्रकाश गौतम, जिल्ला न्यायाधिवक्ता कमला काफ्लेलगायतले पनि अदालती बहसमा रविहरुलाई कारागार पठाउनुपर्ने बताएका थिए।
यस्तै, मंगलबार नै लामिछानेतर्फका कानुन व्यवसायीको बहस सकिएपछि अन्य प्रतिवादीको बहस सुरु भएको अदालतका श्रेस्तेदार राजन खनालले जानकारी दिए । सोमबार र मंगलबार लामिछाने पक्षका कानुन व्यवसायी वरिष्ठ अधिवक्ता सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ, सुरेन्द्र थापालगायतले बहस गरेका थिए।
प्रतिवादीको बयान सकिएलगत्तै पुस १६ गतेदेखि थुनछेक बहस सुरु भएको थियो। प्रतिवादीतर्फका कानुन व्यवसायीको बहस सकिएपछि पुनः सरकारी वकिलका तर्फबाट जवाफी बहस सुरु हुनेछ।
थुनचेक बहसपछि प्रतिवादीलाई पुर्पक्षका लागि थुनामा राखेर अनुसन्धान गर्ने कि थुनामुक्त गरेर अनुसन्धान जारी राख्ने आदेश हुनेछ। लामिछानेसहित उक्त सहकारी ठगीको मुद्दामा जोडिएका पूर्वडिआइजी छविलाल जोशी, लीला पछाईँ, कृष्णबहादुर गुरुङ, रामबहादुर खनाललगायतमाथि थुनछेक बहस भइरहेको हो।
पुस ७ गते जिल्ला सरकारी वकिलको कार्यालयले सहकारीको रकम अपचलनको आरोपमा लामिछानेसहित ४४ जनाविरुद्ध मुद्दा दायर गरेको थियो।
सभापति लामिछानेमाथि सहकारी ठगीसँगै संगठित अपराध र सम्पत्ति शुद्धीकरण कसुरमा समेत मुद्दा दायर भएको छ। सरकारी वकिलको कार्यालयले सूर्यदर्शन सहकारीको रकम ठगी प्रकरणमा अहिलेसम्म ६३ जनाविरुद्ध जिल्ला अदालत कास्कीमा मुद्दा दायर गरिएको छ।