काठमाडौं । प्रदेश नं २ सरकार र युके एड ‘सिप कार्यक्रम’को सहकार्यमा ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जनकपुरमा जेसीबी अपरेटर तालिम केन्द्र सञ्चालनमा ल्याएको छ ।
बुधबार एक विशेष कार्यक्रमबीच प्रदेश नं २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक आवासमन्त्री जितेन्द्र सोनल र सामाजिक विकासमन्त्री नवल किशोर साहले संयुक्तरुपमा जेसीबी अपरेटर तालिम केन्द्रको उद्घाटन गरेका छन ।
जेसीबीको यो परियोजनाको उद्देश्य हेभी मेसिन संचालन र मेकानिक तालिम प्रदान गरेर रोजगार बनाउनु हो । भविष्यमा यो तालिम केन्द्रमा लिफ्ट, जेनेरेटर मर्मत लगायत अन्य इन्जिनियरिङ क्षेत्रको तालिम उपलब्ध गराउने लक्ष्य ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले लिएको छ ।
तालिम केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री लालबाबु राउतले देशलाई अहिले सबैभन्दा बढी दक्ष जनशक्तिको आवश्यकता रहेको र यसको पुर्तिमा एकेडेमीले महत्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे ।
‘कामदारलाई सैद्धान्तिक र व्यवहारिक ज्ञान दुवै आवश्यक हुन्छ । यी दुवै ज्ञान दिने संस्थाले मात्र दक्ष जनशक्ति उत्पादन गर्न सक्छ,’ मुख्यमन्त्री राउतले भने,‘हामीलाई खुसी लागेको छ कि एमएडब्लु, युके एड र डीएफआईडीसँग सहकार्य गरेर हामीले यो तालिम केन्द्र सुरु गरेका छौं ।’
त्यसैगरी, प्रदेश नं २ का सामाजिक विकासमन्त्रीले नवल किशोर साहले एमएडब्लुको कदमको प्रशंसा गरेका छन । ‘निजी क्षेत्र नाफामुखी मात्र हुनुहुँदैन । सामाजिक उत्तरदायित्वलाई ध्यानमा राखेर एमएडब्लुको सुरु गरेको यो परियोजनाले स्वदेशमै रोजगार सिर्जना गर्छ । यो उदाहरणीय कार्य भएको बताए ।
उद्घाटन कार्यक्रममा एमएडब्लु अर्थमुभर्सका अध्यक्ष विष्णु कुमार अग्रवालले एमएडब्लु अर्थमुभर्सले हेभी मेसिनको क्षेत्रमा व्यवसाय गरिरहेकाले यो क्षेत्रमा आवश्यक जनशक्तिको उत्पादन गर्नु आफ्नो जिम्मेबारी भएको बताए ।
नेपालको लागि जेसीबी ब्रान्डका हेभी मेसिन तथा निर्माण उपकरणको आधिकारिक विक्रेता एमएडब्लु अर्थमुभर्स अन्तर्गतको ‘एमएडब्लु एकेडेमी फर स्किल डेभेलपमेन्ट’ले जेसीबी अपरेटर तालिम केन्द्रको सञ्चालन सुरु गरेको हो ।
नेपालको नम्बर १ ब्रान्ड जेसीबीका एस्काभेटर, ब्याकहो, रोलर, कम्प्याक्टर र लोडअल लगायत उत्पादन बजारमा छन् । इन्धन कम खपतहुने, मर्मत खर्च कम लाग्ने र उत्कृष्ट कामगर्ने भएका कारण यी मेसिनहरु लोकप्रिय छन् ।