काठमाडौं। सरकारले बदलिँदो राष्ट्रिय तथा अन्तरराष्ट्रिय परिप्रेक्ष्यलाई दृष्टिगत गरी विकास सहायता व्यवस्थापनमा सुधार्ने उद्देश्यसहित ‘विकास सहायता परिचालन नीति, २०८१’ को मस्यौदा तयार पारेको छ।
अर्थ मन्त्रालयले अन्तर्राष्ट्रिय विकास साझेदारका प्राथमिकतामा आएको परिवर्तन, सहुलियतपूर्ण सहायतामा आएको गिरावट, निजी क्षेत्रको भूमिकाको महत्व, र संघीय प्रणालीअन्तर्गत प्रदेश तथा स्थानीय तहमा महसुस भएको विकास सहायताको आवश्यकताअनुरुप नीति परिमार्जन हुन लागेको जानकारी दिएको हो।
मस्याैदा तयार भएसँगै सरकारले सराेकारवाला, विज्ञ, गैरसरकारी निकाय, बुद्धिजीवीलगायतसँग सुझाव मागेकाे छ।
विकास सहायता परिचालन नीति, २०८१ को मस्यौदामाथि रहेर सुझाव दिन भनिएकाे छ। विकासका प्रयासमा विकास साझेदारको पुँजी र प्रविधिलाई प्राथमिकताका अाधारमा अधिकतम परिचालन गर्ने उद्देश्यअनुरुप हाल अन्तरार्ष्टिय विकास सहायता परिचालन नीति, २०७६ कार्यान्वयनमा छ।
मन्त्रालयले विकास सहायता परिचालन अनुभव, सिकाइका आधारमा यस क्षेत्रलाई व्यवस्थित, प्रभावकारी बनाउन र उपलब्ध अवसरलाई उपयोग गर्न नयाँ नीतिको मस्यौदा तयार पारेको हो।
विकास साझेदारका आफ्ना वित्त चुनौतीका कारण वैदेशिक सहायताको संरचनामा परिवर्तन हुँदै गएको, विगतमा उपयुक्त देखिएका कतिपय नीतिगत व्यवस्था हाल असान्दर्भिक भएकाले मौजुदा नीतिलाई समयाननुकूल परिमार्जन आवश्यक भएकाले नयाँ मस्यौदा तयार गरिएको मन्त्रालयले स्पष्ट गरेको छ।
नयाँ नीतिले समृद्ध राष्ट्र निर्माणका लागि विकास सहायताको प्रभावकारी परिचालनमा जोड दिएको छ। ‘मुलुकको आवश्यकता र प्राथमिकताअनुरूप उच्च प्रतिफल दिने क्षेत्रमा विकास सहायता परिचालन गरी समृद्धि हासिल गर्नु हो । यसका लागि सहायताको उपयोग क्षमतामा वृद्धि गर्ने, राष्ट्रिय प्रणालीमार्फत आन्तरिक क्षमता अभिवृद्धि गर्ने, सहायता उपकरणमा विविधीकरण गर्दै पारदर्शिता तथा प्रभावकारिता सुनिश्चित गर्ने प्रयास हुनेछ’, मस्यौदामा भनिएको छ।
प्रतिव्यक्ति आय वृद्धिसँगै सहायताका नयाँ मापदण्डअनुसार प्राप्त हुने स्रोतलाई उच्च प्राथमिकता प्राप्त क्षेत्रमा केन्द्रित गर्ने लक्ष्य मस्यौदामा प्रस्ताव गरिएको छ । सन् २०३० सम्म दिगो विकास लक्ष्य हासिल गर्न विकास साझेदारसँग साझेदारीमा काम गर्ने, जलवायु वित्तमार्फत जलवायु परिवर्तन न्यूनीकरण र अनुकूलनलाई प्राथमिकता दिने, र आवधिक योजना हासिल गर्न स्रोत– साधन परिचालनमा सहयोग लक्ष्य निर्धारण गरिएको छ।
‘निजी क्षेत्रको भूमिकालाई विकास कार्यमा अभिवृद्धि गर्न विकास सहायता परिचालनमा नीतिगत थप स्पष्टता आवश्यक देखिएको छ। प्रदेश तथा स्थानीय निकायमा विकास सहायता परिचालनको आकार बढ्दै गएको कारण विकास सहायतामा परिचालनमा अन्तरनिकाय र अन्तरसरकार समन्वय तथा सहकार्यमा स्पष्टता आवश्यक छ’, मस्यौदामा भनिएको छ।
सरकारको एकल प्रयास र साधनले मात्र विकास प्रयासले सार्थक गति लिन सम्भव नहुने भएकालृ निजी क्षेत्रलगायत अन्य विकास साझेदारसँग भएको साधन, ज्ञान, सीप र अनुभवलाई उपयोग गर्दै जानुपर्ने आवश्यकता मस्यौदामा औँल्याइएको छ।
‘विकास सहायताका नयाँनयाँ अवधारणा, वित्तीय उपकरण र शैलीको विकास लाई आत्मसात गर्दै विकास सहायतामा नवीन वित्तीय उपकरण परिचालन र उपयोग गर्न नयाँ नीतिको आवश्यक छ’, मस्यौदामा भनिएको छ, ‘सन् २०२६ मा नेपाल विकासशील राष्ट्रको रुपमा स्तरोन्नति भएपश्चात् नेपालले प्राप्त गर्दै आएको सहुलियत तथा सुविधामा केही असर पर्न सक्ने र प्रतिव्यक्ति राष्ट्रिय आयमा हुने वृद्धिसँगै द्विपक्षीय र बहुपक्षीय विकास साझेदारका सहुलियतपूर्ण विकास सहायताका लागि निर्धारित मापदण्डका कारण नेपालले प्राप्त गर्न सहायताको लागत क्रमशः बढ्ने, अनुदान सहायता घट्दै जाने र सहुलियतपूर्ण ऋण भुक्तानी अवधि कम हुने भएकोले सोही अनुरुप विकास सहायता परिचालनमा छनौटपूर्ण हुनुपर्ने अवस्था छ।’
अनुदानको रूपमा प्राप्त हुने विकास सहायताको रकम कर तिर्ने प्रयोजनको लागि उपयोग नगरिने प्रस्ताव गरिएको छभने वस्तुगत सहायताअन्तर्गत प्राप्त हुने उपकरण तथा सामग्रीको पैठारीमा सम्बन्धित विषयगत मन्त्रालयको सिफारिसमा मन्त्रालयले कर छुट सुविधा प्रदान गर्न सक्ने वा सरकारको स्रोतबाट कर दायित्व व्यहोर्नुपर्नेछ।