काठमाडौं। बोटलर्स नेपाल (तराई) लिमिटेड (बिएनटी) र बोटलर्स नेपाल (बालाजु) लिमिटेड (बिएनएल)को सेयर मूल्यको कारोबार निकै रोचक देखिन्छ।
पछिल्लो ५२ सातामा बोटलर्स तराईको मूल्य उच्चमा १८ हजार १०० रुपैयाँ प्रतिकित्तासम्म पुगेको छ भने न्यूनमा ११ हजार ७०० रुपैयाँसम्म खुम्चिएको छ। पछिल्लो कारोबार दिन अर्थात् पुस २२ गते सोमबार बोटलर्स तराईको सेयर मूल्य १३ हजार ७५० रुपैयाँ प्रतिकित्ता कायम भएको छ।
पछिल्लो ५२ साताको कारोबार अवधिमा बोटलर्स बालाजुको उच्च मूल्य २३ हजार ७६५ रुपैयाँसम्म पुग्दा न्यूनमा ६ हजार २३५ रुपैयाँसम्म खुम्चिएको छ। पुस २२ गते सोमबार भने यस कम्पनीको सेयर प्रतिकित्ता १६ हजार ११ रुपैयाँ कायम छ। प्रायजसो सेयर मूल्यमा धेरै रकमको अन्तर हुने यी कम्पनीको सेयर मूल्य हाल भने करिब समान जस्तै स्थितिमा छन्।
२०८१ साउन १३ गते बोटलर्स तराईको सेयर मूल्य ५२ सातायताकै उच्च अर्थात् १८ हजार १०० रुपैयाँ प्रतिकित्ता पुगेको थियो। विं.स. २०८१ मंसिर २६ मा ११ हजार ७०० को न्यून विन्दुमा झरेको थियो।
बोटलर्स बालाजुको भने ०७९ फागुन १९ मा ५२ सातायताकै उच्च अर्थात् २३ हजार ७६५ मूल्य कायम भएको हुँदा ०८१ पुस ८ मा ६ हजार २३५ रुपैयाँ कायम भएको देखिन्छ।
यद्यपि, एक वर्षअघि अर्थात् २०८० पुस २२ मा बोटलर्स तराईको मूल्य १२ हजार १६० रुपैयाँ र बोटलर्स बालाजुको ५ हजार २३५ रुपैयाँ कायम थियो। बोटलर्स नेपाल बालाजुमा कोकाकोला साउथ वेस्ट एसिया होल्डिङको ७६.१६ प्रतिशत, गोर्खा ब्रुअरी प्रा.लि.को २२ प्रतिशत र सर्वसाधारण सेयरधनीको १.८४ प्रतिशत सेयर हिस्सा छ। तर, त्यही बोटलर्स नेपालकै स्वामित्व रहेको बोटलर्स तराईमा बोटलर्स नेपालको ९०.७८ प्रतिशत हिस्सा छ भने ९.२२ प्रतिशत हिस्सा सर्वसाधारणको छ।
यहाँ रोचक विषय के छ भने एक वर्षअघि अर्थात् ०८० पुस २३ मा बोटलर्स तराईको सेयर मूल्य १२ हजार १०० रुपैयाँ हुँदा बोटलर्स बालाजुको सेयर मूल्य ६ हजार २३५ रुपैयाँ थियो। सो समयमा यी दुईबीचको सेयर मूल्यमा करिब ६ हजार रुपैयाँको अन्तर थियो। त्यसपछि ०८० फागुनमा पुग्दा यी कम्पनीको मूल्य समान अर्थात् १३ हजार रुपैयाँ कायम भयो।
०८० पुसमा ६ हजारले पछाडि रहेको बालाजुले ०८१ वैशाखमा ३१ मा पुग्दा १६ हजार मूल्य कायम गर्दै तराईको तुलनामा ४ हजारमाथि पुग्यो। ०८१ साउन १० मा बोटलर्स तराईको सेयर मूल्य १७ हजार ९९ पुग्दा बालाजुको २९ हजार ६०० पुग्यो। त्यसपछि दुवै कम्पनीको मूल्य घट्दै ०८१ कात्तिक १ मा बोटलर्स तराईको सेयर मूल्य १४ हजार ९५० र बोटलर्स बालाजुको १७ हजार ७८० रुपैयाँ कायम भयो।
यसबाट पनि घटेर ०८१ पुस ७ मा बोटलर्स तराईको सेयर मूल्य १४ हजार २०० रुपैयाँ पुग्दा बोटलर्स बालाजुको १६ हजार ७०० रुपैयाँ थियो। खासगरी, साउनयता दुवैको सेयर मूल्य घट्दै गएको देखिन्छ। तर, एक वर्षअघि र अहिलेको तुलना गर्ने हो भने बोटलर्स बालाजुको सेयर मूल्यमा ठूलो उलटपुलट आएको देखिन्छ।
एक वर्षअघि १२ हजार १०० मूल्य रहेको बोटलर्स तराईको मूल्य ०८१ पुस २२ मा आइपुग्दा १ हजारले बढ्दै १३७५० कायम भएको छ। तर, ०८० पुस मा ६ हजार २३५ रहेको बोटलर्स बालाजुको सेयर मूल्य भने बीचमा २० हजारसम्म पुग्दै ०८१ पुसमा २२ मा आइपुग्दा एक वर्षअघिको तुलनामा १० हजारले बढ्दै १६ हजार ११ रुपैयाँ कायम भएको देखिन्छ।
बोटलर्स नेपाल तराई र बोटलर्स नेपाल बालाजुको सेयर मूल्य उताचढाव
माउ कम्पनीभन्दा सहायक कम्पनीको सेयर मूल्य बढी भएपछि बोटलर्स तराईलाई पछि पार्न बोटलर्स बालाजुको सेयर मूल्य लगातार बढाइएको थियो। तर, हाल माउ कम्पनी अर्थात् बालाजुकै सेयर मूल्य बढी छ। विशेषगरी सर्वसाधारणको हिस्सा थोरै भएको कम्पनीको सेयर थोरै व्यक्तिको हातमा हुने भएकाले उनीहरुको चाहनाअनुरुप मूल्य घटबढ गरिँदै आएको छ।
सर्वसाधारणको सेयर स्वामित्व कम रहेका कम्पनीहरूको सेयर मूल्य बढाउने/घटाउने काम सेयर होल्डरले मिलेमतोमा गर्न सक्छन्। बोटलर्स बालाजु र बोटलर्स तराईको सेयर मूल्यका सन्दर्भमा पनि यस्तै देखिएको हो।
चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म बोटलर्स तराईको चुक्ता पुँजी १२ करोड १० लाख रुपैयाँ छ। पहिलो त्रैमाससम्मको वित्तीय विवरणअनुसार बोटलर्स तराईको प्रतिसेयर नेटवर्थ ३५२० रुपैयाँ छ भने आम्दानी रकम ८ करोड १८ लाख रुपैयाँ छ। यो गत वर्षको सोही अवधिको तुलनामा ५ करोड १२ लाख रुपैयाँले कम हो।
गत आर्थिक वर्षमा कम्पनीको नाफा ८ करोड ३० लाख रुपैयाँ थियो। बोटलर्स तराईले चालू आर्थिक वर्षको पहिलो तीन महिनाको सञ्चालन आय २ अर्ब २ करोड रुपैयाँ रहेको छ। यस्तो आय गत वर्षको सोही अवधिमा २ अर्ब ४६ करोड रुपैयाँ रहेको थियो। बोटलर्स तराईको प्रतिसेयर आम्दानी २५८ रुपैयाँ रहेको छ। जुन गत वर्षको तुलनामा घटेको हो। गत वर्ष कम्पनीको प्रतिसेयर आम्दानी ४४० रुपैयाँ थियो। कम्पनीको पीई रेसियो २९ रुपैयाँबाट बढेर ५६ रुपैयाँ पुगेको छ ।
यस्तै, चालू आर्थिक वर्ष २०८१/८२ को पहिलो त्रैमाससम्म बोटलर्स बालाजुको चुक्ता पुँजी १९ करोड ४८ लाख रुपैयाँ छ। ३४२४ प्रतिसेयर नेटवर्थ रहेको बोटलर्स बालाजुको खुद आम्दानी ८ करोड ४३ लाख रुपैयाँ छ। गत आर्थिक वर्षको सोही अवधिमा भने कम्पनीको यस्ता नाफा १० करोड ५३ लाख रुपैयाँ थियो।
चालू आर्थिक वर्षको त्रैमाससम्म बोटलर्स बालाजुको प्रतिसेयर आम्दानी ३९ रुपैयाँ छ। कम्पनीको पीई रेसियो १२ बाट बढेर १११ पुगेको छ। बोटलर्स बालाजुको चालू आर्थिक वर्षको पहिलो तीन महिनाको सञ्चालन आय ३ अर्ब २४ लाख रुपैयाँ रहेको छ। गत आर्थिक वर्षको सोही अवधिमा भने यस्तो सञ्चालन आय ३ अर्ब २६ करोड रुपैयाँ थियो।