काठमाडौं। विश्वकै सर्वाधिक धनी व्यक्ति हुन्- अमेरिकी व्यापारी एलन मस्क। करिब ४ खर्ब अमेरिकी डलर सम्पत्ति भएका उनी प्रभावशाली व्यक्तिका रुपमा समेत स्थापित हुँदै आएका छन्।
अमेरिकी राष्ट्रपतीय निर्वाचनमा पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पलाई दोस्रो पटक जिताउन महत्वपूर्ण भूमिका वहन गरेका मस्क पेसाले व्यवसायी भए पनि विश्व राजनीतिमा आफूलाई स्थापित गराउने प्रयासमा छन्।
विद्युतीय गाडी टेस्ला, स्टारलिंक, न्यूरोलिंक, एक्स (ट्विटर), स्पेस एक्स जस्ता विश्व चर्चित कम्पनीका मालिक मस्कले अमेरिकी राष्ट्रपतिमा निर्वाचनमा ट्रम्पलाई जिताएपछि आक्रामक बनेका छन्।
ट्रम्पलाई चुनावी अभियानमा भरपुर साथ दिएका मस्कले क्यानडामा प्रधानमन्त्री जस्टिन ट्रूडोको सरकार पतन हुने दाबी गरेका थिए। गत नोभेम्बरमा मस्कले प्रधानमन्त्री ट्रूडोको सत्ता आफैं पतन हुने बताएका थिए। उनले भनेझैं ट्रूडाेले भर्खरै राजीनामा दिएकाे घाेषणा गरेका छन्।
मस्कले क्यानडाका प्रधानमन्त्री ट्रुडोको पतनबारे भविष्यवाणी गरेको दुई महिनापछि सोमबार मात्रै प्रधानमन्त्री र लिबरल पार्टीको नेताकाे पदबाट समेत राजीनामा दिएका हुन्।
समाचार एजेन्सी एएनआईका अनुसार जर्मनीमा सरकारको पतनपछि एक्स प्रयोगकर्ताले क्यानडालाई ट्रुडोबाट छुटकारा पाउन मस्कको सहयोग आवश्यक रहेको बताएका थिए। यसबारे मस्कले क्यानडामा हुने आगामी चुनावमा ट्रुडो आफै हार्ने प्रतिक्रिया दिएका थिए।
यसअघि मस्कले जर्मनीमा सरकारको पतनलाई लिएर चान्सलर स्कोल्जको खिल्ली उडाउँदै ‘मुर्ख’को संज्ञा दिएका थिए।
यसबीच मस्कले बेलायतका राजा चार्ल्सलाई संसद भंग गर्न अपिल गरेका छन्। उनले बेलायती प्रधानमन्त्री केयर स्टाररलाई १५ वर्षअघि सार्वजनिक अभियोजनको निर्देशक हुँदा बलात्कार पीडितहरूलाई सजाय दिन असफल भएको आरोप लगाउँदै संसद भंग गर्न राजालाई अपिल गरेका हुन्।
मस्कको भनाइसँगै बेलायतमा भएको ऐतिहासिक सामूहिक बलात्कारको घटना अहिले चर्चामा छ। विशेषगरी सन् १९९७ देखि २०१३ को बीचमा ‘ग्रुमिङ ग्याङ स्क्याण्डल’ भनेर चिनिने ‘रोदरहम स्क्याण्डल’ले धेरै जनताको ध्यानाकर्षण गरेको छ। हालै कन्जरभेटिभ पार्टीले यौन दुर्व्यवहार प्रकरणको छानबिन गर्न माग गरेको थियो। तर, लेबर पार्टी सरकारले अस्वीकार गरेको थियो।
आफूमाथि कारबाही गर्न माग गरेपछि प्रधानमन्त्री स्टारर मस्को आलोचनामा उत्रिएका छन्। मस्कको नाम नलिई पत्रकार सम्मेलनमा उनले भनेका छन्, 'झुट र गलत सूचना फैलाउनेलाई पीडितप्रति कुनै चासो छैन, उनीहरूलाई आफ्नो मात्रै चासो छ।'
मस्कले बाल ग्रुमिङ ग्याङ प्रकरणमा बेलायती प्रधानमन्त्रीसहित लेबर पार्टीको सरकारमाथि हमला गरेका थिए। उनले स्टारर छानबिन समितिको अध्यक्ष भए पनि त्यसबेला अभियुक्तमाथि कारबाही गर्ने स्वीकृति नदिएको दाबी गरेका थिए।
यस क्रममा मस्कले प्रधानमन्त्रीका रूपमा पनि स्टाररले कुनै काम गर्न नसक्ने दाबी गरेका छन्। उनले बेलायतका राजा चार्ल्सलाई स्टाररलाई बर्खास्त गरी जेल पठाउन माग गर्न भ्याए।
श्रम सरकारका मन्त्री जेस फिलिप्सले बालबालिकामाथि भएको ऐतिहासिक यौन दुर्व्यवहारको छानबिन गर्न बेलायतको ओल्डहम काउन्सिलको अनुरोधलाई अस्वीकार गरेका थिए। उनले यो काम परिषद्ले नै लिनु पर्ने प्रतिक्रिया दिए।
व्यापारी मस्क प्रधानमन्त्री स्टाररमाथि खनिएसँगै बेलायतको राजनीति तरंगित बनेको छ। कन्जरभेटिभ नेता केमी बेडनोचले भोट बैंकको राजनीतिका कारण स्टाररले दोषीलाई कारबाही नगरेको आरोप लगाएका छन्।
व्यापारमा आक्रमण रुपमा लागेकाे मस्क आफ्नो कम्पनीहरू स्थापित भएसँगै विश्व राजनीतिमा खरो उत्रिन थालेका छन्। कठिन परिस्थितिका बावजुद ट्रम्पलाई अमेरिकी राष्ट्रपतिमा निर्वाचित गराउन सफल भएसँगै उनी विश्व राजनीतिमा केन्द्रित भएका हुन्।-एजेन्सीकाे सहयाेग