काठमाडौं । कम्प्युटर एशोसिएशन नेपाल (क्यान) को आयोजना आगामी फागुन २ गते देखि ७ गतेसम्म क्यान इन्फोटेक मेला आयोजना हुने भएको छ । बुधबार राजधानीमा पत्रकार सम्मेलन गर्दै क्यानले प्रदर्शनीको सम्पूर्ण तयारी पुरा भएको जानकारी दिएको हो ।
२६ औं संस्करणको यस क्यान मेलामा सूचना तथा सञ्चार प्रविधि र मनोरञ्जनसम्बन्धी कला तथा उपकरणहरु प्रदर्शन गरिने आयोजकले बताएको छ । ६ दिनसम्म काठमाडौंको भृकुटीमण्डपमा आयोजना हुने क्यान इन्फोटेक मेलाको मुख्य आकर्षणको रुपमा इन्नोभेशन एक्स्पोजर रहेको क्यानले बताएको छ । जसमा स्टार्टअप र इन्नोभेशनसँग सम्बन्धित व्यक्ति वा संस्थाले आफ्ना नयाँ प्रोडक्टहरु र आइडियाको प्रदर्शन गर्ने आयोजकले बताएको छ ।
इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक्स, सेक्युरिटी सोल्युशन, सोलार पावर सिष्टम, इन्भर्टर, युपीएस, ल्यापटप तथाडेस्कटप कम्प्युटर, प्रिण्टर, पावर सिष्टम, कम्प्युटर एक्सेसरिज, एण्टिभाइरस सफ्टवेयर, बैंकिङ सोल्युशन, सीसीटीभी रहार्ड डिस्क जस्ता उत्पादनहरु प्रदर्शन गरिने आयोजकले जनाएको छ । त्यसैगरी, आईटी कलेज, बैंक, बीमा तथा लेखासम्बन्धी सफ्टवेयर, सेल्फ लर्निङ सफट्वेयर तथा ट्युटोरियल आदि समेत मेलाका प्रदर्शन हुनेछन् । जसमा १७४ स्टल रहने आयोजकले जनाएको छ ।
पत्रकार सम्मेलनमार्फत क्यानले प्रविधिका क्षेत्रमा भएका नयाँ तथा इन्नोभेटिभ आइडियाहरुको प्रवद्र्धन गर्ने आफ्नो मुख्य योजना रहेको बताएको छ । यसपटकको क्यान मेलाको टाइटल स्पोन्सर प्रभु पे रहेको छ भने मेलाको एशोसिएट स्पोन्सर वल्डालक कम्युनिकेशन्स र प्लाटिनम स्पोन्सरमा एनसेल रहेका छन् ।
यस पटकको क्यान इन्फोटेक मेलाको प्रवेश शुल्क प्रतिव्यक्ति एक सय रुपैयाँ रहेको छ भने, विद्यार्थीहरुका लागि ५० प्रतिशत छुट प्रदान गरिने आयोजक क्यानले बताएको छ । तर सामुदायिक तथा सरकारी विद्यालय कलेजका विधार्थीहरु, सञ्चारकर्मी, जेष्ठ नागरिक, फरक क्षमता भएका व्यक्तिहरुले भने निशुल्क प्रवेश पाउन व्यवस्था गरेको क्यानले बताएको छ ।