काठमाडौं। विद्युतीय (ईभी) ट्याक्सी भित्र्याउने होडमा जेएमईभी ब्रान्ड पनि थपिएको छ। केही ब्रान्डले ईभी ट्याक्सी वितरण गरिरहेको समयमा जेएमईभीले पनि आफ्नो उपस्थिति जनाएको हो।
नेपालमा ट्याक्सी प्रयोगकर्ताको संख्या अहिले पनि ठूलो छ। इन्धन ट्याक्सीको तुलनामा विद्युतीय ट्याक्सीमा लाग्ने लागत कम हुने हुँदा यसतर्फको आकर्षण पनि विस्तारै बढ्दै गइरहेको छ।
अहिले नेपालमा थुप्रै ब्रान्डका ईभी ट्याक्सीहरु उपलब्ध भए पनि अधिकांश ट्याक्सीहरुको रेन्ज २०० किलोमिटरदेखि ३०० किलोमिटरको हाराहारीमा मात्र छ। तर, अहिले सरिना जी ट्रेडर्सले नेपाल ल्याएको जेएमईभी ब्रान्डको लक्जरी ट्याक्सीमा भने अन्य ट्याक्सीको भन्दा बढी रेन्ज तथा फरक फिचर्स पाउन सकिन्छ।
अहिले ट्याक्सी व्यवसायीहरुले सामना गरिरहेको मुख्य समस्या भनेको गाडीको रेन्ज हो। जेएमईभी ब्रान्डको सेडान ट्याक्सी नेपालमा बागमती प्रदेशको ट्याक्सी मापदण्डअनुसार सबै पूरा गरेर नेपाल ल्याएको सरिना जी ट्रेडर्सको सिइओ अजय महतोले बताए।
‘अन्य ब्रान्डको अहिले चलिआएको धेरै ट्याक्सीहरु छन्। हामीले ल्याएको ट्याक्सीमा उनीहरुको भन्दा फरक भनेको यसको रेन्ज हो। यसमा ४३० किलोमिटरको रेन्ज छ, जुन अहिलेसम्म कुनै पनि ईभी ट्याक्सीमा छैन,’ सिइओ महतोले भने, ‘अन्य ब्रान्डका ट्याक्सी चालकहरुले अहिले फेस गरिरहेको मेजर समस्या रेन्ज हो।’
काठमाडौं बाहिर पोखरा लगायत अन्य ठाउँमा जानु पर्यो भने त्यहाँसम्म पुगेर फर्कन नै नसक्ने अवस्था छ। रेन्ज कम भएको कारणबीचमा नै चार्जिङ स्टेशन जानु पर्छ। भिड छ भने कुर्नु पर्यो ३–४ घण्टा यतिकै खेर जान्छ। तर, जेएमईभी ट्याक्सीमा पोखरा पुगेर फर्कदा पनि चार्ज पुग्ने उनको भनाइ छ।
‘नेपालमा बाहिरबाट पर्यटकहरु आउँदा उनीहरुका ठूला लगेजहरु हुन्छन्। नेपालमा उपलब्ध अन्य ट्याक्सीहरुमा बुट स्पेस कम भएका कारण सामानहरु राख्ने ठाउँ कम्फर्टटेबल नभएर एउटा समस्या थियो। तर, हामीले लन्च गरेको ट्याक्सीमा ४१० लिटरको बुट स्पेस छ,’ सिइओ महतोले भने, ‘हामीले ल्याएको ट्याक्सीमा केही नयाँ फिचर्सहरु हुँदा सेफ्टी जोनमा र कम्र्फट जोनमा राम्रो देखिन्छ त्यो फिचर्सहरु पनि यसमा छ। सेवा ग्राहीहरुलाई र सेवा दिने मानिसलाई पनि सुविधा होस भनेर यो ल्याएको हो।’
ईभीईजीमा जुन लेभलको फिचर्स, फङसन र सेक्युरेटी सर्भिस र सेफ्टी फिचर्सहरु छ यो हेर्दा नेपालमा ईभीईजी ट्याक्सी सार्वजनिक गर्दा जति पनि ट्याक्सी ड्राइभरहरु आएका थिए ती सबैले यो गाडीलाई मन पराएका उनको भनाइ छ। जेएमईभी ब्रान्डको ट्याक्सी अहिलेसम्म १० भन्दा धेरै देशमा चलिरहेको छ।
ईभीईजी सेडान ट्याक्सीमा ४९ किलोवाट आवरको लिथियम ब्याट्री प्याक दिइएको छ। जसमा ९९ किलोवाटको मोटर जडान गरिएको छ। यसको अधिकतम टर्क २२५ एनएम तथा पावर १३४.६ पिएस छ।
यो गाडीको ग्राउन्ड क्लियरेन्स १७० एमएम रहेको छ। यसको लम्बाई ४६७५ एमएम चौडाई १८३५ एमएम र उचाई १४८० एमएम रहेको छ। यसको ह्ीलवेस २७५० एमएम छ। कम्पनीले यसको मूल्य ४१ लाख ४९ हजार ९९९ रुपैयाँ निर्धारण गरेको छ।
यस ट्याक्सीले एसी र डिसी दुबै चार्जर सपोर्ट गर्दछ। डिसी चार्जरको सहायतामा ३० मिनेटमा ३० देखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ। साथै एसी चार्जरले चार्ज गर्दा फुल चार्ज हुन नौं घण्टा लाग्छ भने डिसी चार्जर प्रयोग गर्दा फुल चार्ज हुन १ घण्टा १५ मिनेट लाग्नेछ। कम्पनीले यसको ब्याट्रीमा आठ वर्ष अर्थात एक लाख ५० हजार र मोटरमा तीन वर्ष अर्थात ६० हजार किलोमिटर वारेन्टि दिएको छ।
यसमा डुअल जोन एसी, रिजेनेरिटिभ ब्रेकिङ, तीनवटा ड्राइभी मोड, प्रोजेक्टर हेड ल्याम्प, किलेस इन्ट्रि, ट्रयाक्सन कन्ट्रोल जस्ता फिचर राखिएको छ। साथै, यसमा ४१० लिटरको बुट स्पेस, क्रुज कन्ट्रोल, इलेक्ट्रिक पार्किङ ब्रेक, टायर प्रेसर मोनिटर सिस्टम, कोलिजन सेन्सिङ अटोमेटिक अनलक, मल्टि फंक्सन स्टेरिङ ह्विल, आईपी ६७ वाटर प्रुफ ब्याट्री प्याक र थ्री–वे ड्राइभर एन्ड प्यासेन्जर सिट एड्जस्टमेन्ट जस्ता बिशेषता छन्।
यसमा दुईवटा एयरब्याग, ईबिडी ब्रेकिङ सिस्टमसहितको एबिएस, अटो होल्ड, हिल असिस्ट कन्ट्रोल, रियर पार्किङ सेन्सर र एन्टि पिन्च विन्डो ग्लासलगायत सेफ्टी फिचरहरु छन्। नेपालमा ईभीईजी ट्याक्सी १ लाख १ हजार रुपैयाँ तिरेर बुकिङ गर्न सकिने कम्पनीले जनाएको छ।