काठमाडौं। सामान्यतयः लगानीकर्तालाई आफूसँग भएको सेयर धितो राखेर बैंकहरुले कर्जा दिन्छन् भन्ने हुन्छ। तर, लगानीकर्ताको यो ‘भ्रम’ मात्रै हो।
बैंकहरूले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा सूचीकृतमध्ये अधिकांशलाई सेयर धितो कर्जाका लागि अयोग्य कम्पनीको सूचीमा राख्ने गरेका छन्।
राष्ट्र बैंकले एकीकृत निर्देशनमार्फत् धितोपत्र विनिमय बजारमा सूचीकृत संस्थाको सेयर धितोमा बैंक तथा वित्तीय संस्थाबाट प्रवाह हुने मार्जिन प्रकृतिको कर्जा सम्बन्धमा निर्धारण गरेको सर्त पालना गरेर मात्रै कर्जा प्रवाह गर्न निर्देशन दिएको छ।
उक्त निर्देशनसँगै बैंकले कम्पनीहरुको स्वमूल्यांकन गरेर सेयर धितोका लागि कम्पनी छनौट गर्ने नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइराला बताउँछन्।
‘सूचीकृत सबै कम्पनीहरुको सेयर धितो राखेर बैंकले कर्जा दिँदैनन्, राष्ट्र बैंकले राखेको सर्त पूरा भएको र बैंकको स्वमूल्यांकनमा जोखिमरहित कम्पनीको सेयर धितो राखेर लगानीकर्ताले कर्जा पाउँछन्,’ संघका अध्यक्ष कोइरालाले क्यापिटल नेपालसँग भने, ‘भोलिको दिनमा सेयर धितो राखेर बैंकबाट कर्जा लिनुपर्छ भने सेयर लगानीकर्ताले सेयर खरिद गर्दा वित्तीय अवस्था राम्रो भएको कम्पनी छनौट गर्नु आवश्यक हुन्छ।’
सेयर धितोमा कर्जा प्रवाह गर्दा सबै बैंकको आन्तरिक जोखिम व्यवस्थापन टोलीले सूचीकृतमध्ये कम जोखिम भएको वा जोखिमरहित कम्पनीको सूची तयार गर्ने र सोहीअनुसार कर्जा प्रवाह हुने उनको भनाइ छ।
एकीकृत निर्देशनमा उल्लेख सर्त र आन्तरिक मूल्यांकन आधारमा योग्य कम्पनीको सूची तयार गरी सञ्चालक समितिबाट पास गराउनु पर्छ। यस्तो सूची बैंकले त्रैमासिक रुपमा कम्पनीको वित्तीय अवस्था मूल्यांकन गरेर र समय/समयमा अध्यावधिक गराउँछन्।
राष्ट्र बैंकको सर्त
राष्ट्र बैंकको प्रावधानअनुसार बैंक तथा वित्तीय संस्थाले नेप्सेमा सूचीकृत कम्पनीको सेयर धितो राखेर ७० प्रतिशतसम्म कर्जा दिन पाउँछन्। धितो राखेर कर्जा दिने सेयरको अघिल्लो कारोबारलाई आधार मानेर १८० दिनेको मूल्य वा प्रचलित बजार मूल्यमध्ये जुन कम हुन्छ, त्यसको ७० प्रतिशतसम्म बैंकहरुले एक वर्षका लागि कर्जा दिन पाउँछन्।
साथै, संस्थापक सेयरको हकमा भने बैंकले पछिल्लो १८० कार्य दिनको औसत मूल्यको बढीमा ५० प्रतिशत मूल्य वा संस्थापक सेयरको अन्तिम कारोबारको मूल्यमध्ये जुन कम हुन्छ, सोको आधारमा मूल्य कायम गरी बढीमा ५० प्रतिशत रकमसम्म मात्र कर्जा दिन पाउँछन्।
सेयर धितो राखेर बैंकले व्यावसायिक प्रयोजनका लागि र सेयर खरिद गर्ने दुवै प्रयोजनका लागि प्रवाह गर्न पाउँछन्। यस्तो कर्जा सुरक्षणका लागि राष्ट्र बैंकले विधिन्न ८ वटा सर्त निर्धारण गरेको छ।
जसमा राष्ट्र बैंकबाट समस्याग्रस्त घोषणा भएका वा निर्देशन बमोजिम पुँजी कोष अनुपात कायम नगरेका बैंक तथा वित्तीय संस्था, नेटवर्थ ऋणात्मक भएका संस्था, नेप्सेले सूचीकरणबाट हटाइएका संस्था, आर्थिक वर्ष समाप्त भएको एक वर्ष अवधि पूरा हुँदासमेत अन्तिम लेखा परीक्षण नगर्ने संस्था, पछिल्लो तीन वर्ष लगातार नोक्सानीमा रहेका संस्था, व्यावसायिक रुपमा सञ्चालनमा आएको एक वर्ष व्यतित नभएका संस्था, विगत तीन वर्षदेखि साधारणसभा नगरेका संस्था र कम्तीमा २५० दिनको कारोबार मूल्य नभएका कम्पनीको सेयर धितो राखेर बैंकले कर्जा दिन मिल्दैन।
नियामकीय निगरानीमा अयोग्य कम्पनी
राष्ट्र बैंकले राखेको सर्तमात्रै नभई बैंकल जोखिम मूल्यांकन गर्दा सूचीकृत कम्पनीमध्ये आधाभन्दा बढी कम्पनी सेयर धितो राखेर कर्जा दिन योग्य नभएको कुमारी बैंकमा कार्यकारी अधिकृत रामचन्द्र खनाल बताउँछन्।
‘सूचीकृत सबै कम्पनीको सेयर धितो राख्न योग्य हुँदैनन्, राष्ट्र बैंकबाट लाइसेन्स लिएकै बैंक तथा वित्तीय संस्था नै अयोग्य कम्पनीको सूचीमा पर्छन्,’ उनले भने, ‘सेयर धितोमा दिइने कर्जाका हकमा असुली समस्या हुँदा बैंकले जोखिम देखेको कम्पनीको सेयर धितो लिदैनन्।’
धितो राखेको सेयरको मूल्यमा घटबढ भएमा वा अन्य कारणबस् कर्जा भुक्तानीमा समस्या भएमा बैंकहरुले कर्जा भुक्तानीका लागि ‘मार्जिन कल’ गरी कर्जा असुल गर्न समस्या हुने हुँदा कमजोर र खराब देखिएका कम्पनीलाई बहिष्कार नीति लिएको उनको भनाइ छ।
राष्ट्र बैंकले राखेको सर्तमा थप गरी सेयर धितो कर्जाका लागि योग्य कम्पनीको सूची तयार गरिने एभरेष्ट बैंकका सीईओ सुदेश खालिङ बताउँछन्।
बैंकको नजरमा सेयर धितो राख्न योग्य कम्पनी
चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म बैंक तथा वित्तीय संस्था (लघु वित्तबाहेक)ले कूल १ खर्ब ७ अर्ब ७६ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका छन्।
जसमध्ये वाणिज्य बैंकले ८५ अर्ब ९१ करोड, विकास बैंकले १७ अर्ब ६२ करोड र वित्त कम्पनीले ४ अर्ब २३ करोड रुपैयाँ सेयर धितोमा कर्जा प्रवाह गरेका हुन्। सीमित कम्पनीको सेयर धितो राखेर मात्रै उक्त परिमाणमा बैंकले कर्जा प्रवाह गरेका हुन्।
प्राथमिक पुँजी कोष पुगेका र खराब कर्जा ५ प्रतिशत तल भएका सबै वाणिज्य बैंकको सेयर धितो राखेर ऋण प्रवाह गर्छन्। चालु वर्षको पहिलो त्रैमासमा नेपाल इन्भेष्टमेन्ट मेगा, सिटिजन्स र लक्ष्मी सनराइज बैंकको एनपीएल ५ प्रतिशतमाथि छ। सोही कारण सेयर धितो कर्जा प्रवाह गर्ने केही बैंक तथा वित्तीय संस्थाले यी बैंकको सेयर धितो राखेर कर्जा प्रवाह गरिरहेका छैनन्।
यस्तै, राष्ट्रिय स्तरका विकास बैंकबाहेक अन्य क्षेत्रीय स्तरका कुनै पनि विकास बैंकको सेयर धितो राखेर कर्जा प्रवाह गर्दैनन्। हाल १७ वटामध्ये ९ वटा राष्ट्रिय स्तरका विकास बैंक छन्।
साथै, सञ्चालनमा रहेका १७ फाइनान्स कम्पनीमध्ये नेपाल सेयर मार्केट एण्ड फाइनान्स र क्यापिटल मर्चेण्ट बैंकिङ समस्याग्रस्त घोषित हुन्। यसबाहेक १५ वटा फाइनान्समध्ये अधिकांशले ८/९ वटा कम्पनीको सेयर धितो राखेर मात्रै कर्जा दिने गरेको पाइएको छ। नेपाल फाइनान्स, गुडविल फाइनान्स, आइसिएफसी फाइनान्स, मञ्जुश्री फाइनान्स, पोखरा फाइनान्स, श्री इन्भेष्टमेन्ट कम्पनी, मल्टी पर्पोस फाइनान्स र पोखरा फाइनान्स रहेका छन्।
लघुवित्त कम्पनीको हकमा भने बैंकले ५ प्रतिशतभन्दा कम एनपीएल भएका कम्पनीको सेयर धितोमा राखेर मात्रै कर्जा दिइरहेका छन्। हाल नेप्सेमा ५० वटा लघुवित्त संस्था सूचीकृत छन्। यीमध्ये २४ वटा कम्पनीको सेयर मात्रै बैंकले दिने कर्जा धितोयोग्य छन्।
यस्तै, नेप्सेमा सूचीकृत अधिकांश बिमा कम्पनीले अन्तिम लेखा परीक्षण गराउन र साधारणसभा समयमै नगराएको कारणले सेयर धितोका लागि अयोग्य ठहर छन् भने उत्पादन तथा प्रशोधन समूहका ९ कम्पनीमध्ये बोट्लर्स नेपाल तराई र बालाजु, युनिलिभर नेपाल, शिवम सिमेन्ट, हिमालयन डिस्टिलरीको सेयर धितो राखेर मात्रै बैंकले कर्जा दिइरहेका छन्।
यस्तै, नेप्सेमा सूचीकृत ९१ वटा हाइड्रोपावरमध्ये बैंकले एक दर्जन कम्पनीको सेयर धितोमा कर्जा दिने गरेको पाइन्छ। जसमा चिलिमे हाइड्रो पावर, बुटवल पावर, सानिमामाई, हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट, रिढी पावर कम्पनी, बरुण हाइड्रो पावर, अपि पावर, अरुण काबेली, राधी पावर, न्यादी पावर र कालिका पावर कम्पनी रहेका छन्।
यसबाहेक नेप्सेमा सूचीकृतमध्ये बैंकले अन्य कम्पनीमा नागरिक लगानी कोष, साल्ट टेड्रिङ, निफ्रा, नेपाल दूरसञ्चार, सोल्टी होटल, तारागाउँ रिजेन्सी (ह्यात होटल)लगायतका कम्पनीका सेयर धितोमा मात्रै कर्जा प्रवाह गरिरहेको पाइन्छ।