काठमाडौं। नेपाल चेम्बर अफ कमर्सअन्तर्गत गठित पूर्वाधार तथा भूमि सुधार समिति गठन प्रक्रिया पूरा भएको छ।
चेम्बरको ७३औं साधारणसभा तथा अधिवेशनपछि चेम्बरको नवगठित कार्यसमिति कार्यसमिति सदस्य रोशन भोयद्योलाई समिति सभापतिमा मनोनयन गरेसँगै पूर्वाधार, जग्गा तथा आवास विकास, इँटालगायत निर्माण सामग्री एवं निर्माण व्यवसायमा संलग्न र सम्बन्धित व्यवसायका विज्ञ सम्मिलित समिति गठन भएको छ।
समितिको वरिष्ठ सल्लाहकारमा चेम्बरका वरिष्ठ उपाध्यक्ष दीपककुमार मल्होत्रा तथा सल्लाहकारमा ओम हस्पिटल एन्ड रिसर्च सेन्टर सञ्चालक तथा ओम हेल्थ क्याम्पसका अध्यक्ष टंकबहादुर श्रेष्ठ र कानुनविज्ञ गोकुल बुर्लाकोटी तथा संघसंस्था विज्ञ उत्तमप्रसाद झा रहेका छन्।
समितिको पहिलो बैठकले हालै सरकारद्वारा जारी परिमार्जित सहरी विकास नीति, २०८१ को स्वागत गरेको छ। बैठकले उक्त नीतिअन्तर्गत बनाइने भनिएका समिति समयमै गठन गर्न र बन्नुपर्ने नियमावली शीघ्र तयार गर्न सरकारको ध्यानाकर्षण गराएको छ।
बैठकले पूर्वाधार विकास तथा भूमि सुधार क्षेत्र, देशको अर्थतन्त्र चलायमान बनाउन र कुल गार्हस्थ उत्पादनमा प्रमुख योगदान गर्ने क्षेत्र हुँदाहुँदै पनि विभिन्न कारणले यस क्षेत्रमा लाग्ने व्यवसायीको मनोबल बढ्न नसकेको ठहर गरेको छ।
सुस्त अवस्थाको पूर्वाधार विकास तथा भूमि सुधार एवं आवास विकासजस्ता क्षेत्रमा उत्साह थप्नमा सरकारले देशभित्र उपलव्ध निर्माण सामग्रीको कच्चा पदार्थ आदिको उचित परिचालन, आयातमा सुविधा, अन्तरसरकारी निकायबीच समन्वय, विकासका काममा निजी क्षेत्रको संलग्नतालाई वृध्दि गर्नुपर्नेजस्ता विषयमा सरकारको ध्यान जानुपर्ने निष्कर्ष बैठकले निकालेको छ।
बैठकले पूर्वाधार विकास तथा भूमि सुधार सम्बन्धमा चेम्बरमार्फत निरन्तर सरकारलाई सुझाव प्रस्तुत गर्ने, सरकारद्वारा जारी सहरी विकास नीति, २०८१ बारे अध्ययन गरी सम्बन्धित पक्ष सम्मिलित जानकारीमूलक अन्तक्र्रिया कार्यक्रम आयोजना गर्नेलगायत निर्णय गरेको छ।