काठमाडाैं। डिजिटल कोसी बिल्डिङ इनोभेसन एन्ड इन्भेस्टमेन्ट नारासहित आगामी माघ ११ देखि विराटनगर एक्स्पो आयोजना गरिने भएको छ।
उद्योग संगठन मोरङको आयोजनामा १० दिने एक्स्पो डिग्री कलेज विराटनगरको मैदानमा सञ्चालन गरिने भएको हो। एक्स्पो मााघ ११ देखि २० गतेसम्म सञ्चालन हुनेछ।
२६८ स्टलको सहभागिता रहने एक्स्पोमा ९ पेभिलियनमा विराट बजार बिटुबीका १२, स्टार्टअप भिजन कोसी ह्याकाथुनकका १२, रोजगार कोसीका लागि १२ वटा, व्यावसायिक सेवाप्रदायकका ४०, अटोमोवाइल्सका २० वटा, औद्योगिक क्षेत्रका ७५ वटा, औद्योगिक, कर्पोरेट, कृषिका ७५ स्टल रहनेछन् भने १ हजार ८ सय रोजगारीका लागि तालिम दिइने पत्रकार सम्मेलनमा उद्योग संगठन मोरङका अध्यक्ष राकेश सुरानाले जानकारी दिए।
एक्स्पोमा स्टार्टअप कन्फ्रेन्स, रोजगार कोसी, इनर्जी इफिसियन्सी, मेरो देश मेरो उत्पादनलगायत कार्यक्रम आयोजना गरिने विराट एक्स्पो २०२५ व्यवस्थापन समिति संयोजक भोलेश्वर दुलालले बताए। एक्स्पो सञ्चालनका लागि ३ करोड खर्च अनुमान गरिएको छ।
आर्थिक एवं औद्योगिक विकासका माध्यमबाट राष्ट्रिय अर्थतन्त्रमा टेवा पुर्याउने उद्देश्यले आठौं संस्करणका रुपमा एक्स्पो आयोजना गरिन लागेको उद्योग संगठन मोरङले बताएको छ।
एक्स्पो टाइटल स्पोन्सरका रुपमा साइमेक्स प्रालि बिवाईडी रहेको छ। बिवाईडी विराट एक्स्पो २०२५ को टाइटलबाट यस पटकको एक्स्पो आयोजना हुनेछ। बिवाईडीले विराट एक्स्पोमा मात्रै होइन, संगठनका कार्यक्रम विशेषगरी विराट बजार बिटुबी, स्टार्टअप हाकाथन, रोजगार कोसीको सञ्चालनमा समेत छुट्टै सहयोग गरेको संगठनले बताएकाे छ।