काठमाडौं। यस वर्षको लप्सी टिपेर बिक्री तथा प्रशोधन गर्न कृषकलाई चटारो भएको छ। नेपालमा सबैभन्दा बढी लप्सी उत्पादन हुने पर्वत जिल्लाका अधिकांश कृषकले लप्सीका दाना बिक्री गर्दै आएका छन्। जिल्लाको फलेवास ४ मुडिकुवामा सञ्चालित सामुदायिक खाद्य प्रशोधन उद्योगले लप्सीको प्रशोधन गर्दै आएको छ।
उद्योगले लप्सीबाट माडा, अचार, क्याण्डी, तितौरा, जाम, लप्सी धुलो, पिरो क्याण्डीलगायत परिकार बनाउने गरिएको छ। विगत डेढ दशकदेखि लप्सी प्रशोधन गर्दै आएको उद्योगले यस वर्ष झण्डै ७० लाख रुपैयाँ बराबरको कारोबार गर्ने लक्ष्य राखेको छ। यस वर्ष झण्डै ६० टन लप्सी प्रशोधन हुने भएको छ।
गाउँबाट लप्सी संकलन गर्ने र अचार, माडा बनाउनका लागि गुदी निकालेर राख्ने काम भइरहेको उद्योगका सञ्चालक थानेश्वर भुसालले बताए। पर्वतमा झण्डै दुई सय मेट्रिक टन लप्सी उत्पादन हुने भए पनि ३० प्रतिशत मात्र प्रशोधन गर्न सकिएको उनको भनाइ छ। बाँकी केही कृषकले बोटबाट दाना बिक्री गर्दै आएका छन्।
कोरोना संक्रमणमा अमेरिका, अष्ट्रेलिया, हङकङमा समेत निर्यात भए पनि अहिले स्वदेशकै बजारमा निर्भर हुनु परेको उनले बताए। सञ्चालित उद्योगमा ७ जनाले रोजगारी पाएका छन्।
जिल्लाका झण्डै ४० वटा वडामा लप्सीको उत्पादन हुँदै आएको छ। कुनै बेला जंगलमा झरेर कुहिने लप्सी पछिल्लो समय प्रशोधन गर्न थालेपछि आम्दानीको श्रोत बनेको हो।
वनपाखामा खेर जाने लप्सीबाट आम्दानी गर्न सकिने भएपछि लप्सीको व्यावसायिक खेती सुरु भएको छ। सामुदायिक खाद्य प्रशोधन उद्योगले कृषकलाई लप्सी खेतीतर्फ आकर्षित गर्नका लागि निःशुल्क बिरूवा वितरण गरिएको छ।
उद्योगमा लप्सीसँगै अदुवा, अलैची, अमला, बेसार, टिमुर, खुर्सानीलगायत उत्पादन प्रशोधन हुँदै आएको छ। पछिल्लो दुई वर्षयता मकैको सातु उत्पादनबाट समेत लाखौँ आम्दानी गर्ने गरेको सञ्चालक भुसालले बताए।