काठमाडौं। भारतीय मूलका जगदीप सिंह विश्वमा सबैभन्दा बढी तलब लिने कर्मचारी बनेका छन्। यसअघि भारतीय मूलकै गुगलका सीईओ सुन्दर पिछाई विश्वमा सबैभन्दा बढी तलब लिने कर्मचारी बनेका थिए।
मनी कन्ट्रोलका अनुसार क्वान्टमस्केपका पूर्वसंस्थापक र सीईओ जगदीपले एक वर्षको अवधिमा करिब २.३ अर्ब अमेरिकी डलर वार्षिक तलब लिएका छन्। यस हिसाबले उनले दैनिक ६४ करोड रुपैयाँ पाएका छन्।
क्वान्टमस्केपका पूर्वसंस्थापक जगदीपले पाउने यो तलब धेरै ठूला कम्पनीहरूको वार्षिक राजस्वभन्दा बढी हुन आउँछ। कम्पनीले उनका लागि वार्षिक २.१ अर्ब अमेरिकी डलरको आर्थिक सुविधा दिने प्याकेज पारित गरेको थियो।
ईभीमा विशेषज्ञता
पछिल्लो समय विश्वभर विद्युतीय गाडीकाे उत्पादनमा बढेसँगै जगदीप आवद्ध क्वान्टमस्केपले विद्युतीय गाडीका लागि आवश्यक पर्ने ब्याट्री उत्पादन गर्दै आएको छ।
उनी भारतीय मूलका अमेरिकी उद्योगपति र प्राविधिक विशेषज्ञ हुन्। काम गर्नुअघि उनले अमेरिकाको स्ट्यानफोर्ड विश्वविद्यालयमा बीटेकको अध्ययन गरे। क्यालिफोर्निया विश्वविद्यालय बर्कलेबाट एमबीए गरे।
क्वान्टमस्केप सुरु गर्नुअघि जगदीपले एक दशकभन्दा बढी समय विभिन्न कम्पनीमा प्रमुख भूमिकामा बसेर काम गरेका थिए। यस अवधिमा सिंहले ब्याट्री बनाउने नयाँ प्रविधिमा काम गरे। यस क्षेत्रमा विशेषज्ञता हासिल गरेर आफैले कम्पनी सुरु गरेका थिए।
१४ वर्षअघि स्थापित कम्पनी
जगदीपको विशेष क्षमता भनेको विद्युतीय सवारी साधन (ईभी)का लागि ब्याट्री प्रविधि बनाउनु हो। उनले सन् २०१० मा अमेरिकामा क्वान्टमस्केप स्थापना गरे। यो कम्पनीले अर्को पुस्ताको ठोस ब्याट्री बनाउन माहिर छ। यसले ईभीको कार्य सम्पादन सुधार गर्न र चार्जिङ समय घटाउन जान्दछ।
क्वान्टमस्केपमा बनाइएका ब्याट्री लिथियम आयन ब्याट्रीभन्दा धेरै अगाडि छन्। यसले थप दायरा मात्र होइन, चाँडै चार्ज पनि गर्छ। जसले गर्दा अहिले पनि विद्युतीय सवारी साधनको अत्यधिक प्रयोग भइरहेको छ।
यस कम्पनीमा गाडी निर्माता कम्पनी फक्सवागन र व्यापारी बिल गेट्सले लगानी गरेका छन्। सन् २०२० मा क्वान्टमस्केप न्यूयोर्क स्टक एक्सचेञ्जमा सूचीबद्ध भएको थियो।
जगदीपको सम्पत्ति कति?
सन् २०२५ सम्म आइपुग्दा जगदीपको अनुमानित सम्पत्ति लगभग ५६ मिलियन डलर छ। उनीसँग क्वान्टमस्केपको ९१ लाख ३७ हजार ६०३ कित्ता सेयर रहेको छ।
जगदीप इन्फिनेरा कर्पोरेशनका कार्यकारी अध्यक्ष पनि हुन्। उनीसँग इन्फिनेरा कर्पोरेशनको करिब एक लाख ९१ हजार २४८ कित्ता सेयर छ। यसको मूल्य १ मिलियन डलरभन्दा बढी छ।