काठमाडौं। नेपालमा मनाइने विभिन्न पर्वमध्ये माघ १ गते मनाउने माघे संक्रान्ति विशेष रहँदै आएको छ। यस पर्वमा नुवाकोट र धादिङमा गोरु जुधाउने परम्परा रहँदै आएको छ।
यता, घिउ-चाकु र तरुल खाने प्रचलन रहेको छ। माघे संक्रान्ति नजिकिँदै गर्दा तरुल उत्पादन गर्ने किसानहरू तरुल जम्मा गर्न भ्याइनभ्याइ भएका छन्। राम्रो मूल्यमा तरुल बिक्री गर्नका लागि किसानहरू माघे संक्रान्ति पर्खेर बसेका हुन्छन्।
माघे स्रक्रान्ति आउन लागेसँगै देशको राजधानी काठमाडौंमा पनि तरुलको व्यापार सुरु हुन थालेको छ। काठमाडौंमा बाहिरी जिल्लाबाट तरुल भित्रिन थालेको कालिमाटी फलफूल तथा तकारी बजार समितिले जनाएको छ।
तरुलका विभिन्न परिकार बनाएर खाने चलन हुँदा यस पर्वमा तरुलको व्यापार बढ्ने गरेको छ। अहिले बजारमा एक दर्जनभन्दा बढी प्रकारको तरुल पाइन्छ। बजारमा पाइने तरुलको प्रजातिअनुसार यसको मूल्य फरक हुने गरेको छ।
कालिमाटी फलफूल तथा तरकारी बजार समितिका सूचना अधिकारी विनय श्रेष्ठका अनुसार नेपालमा खपत हुने तरुल आन्तरिक उत्पादन बढी हुने गरेको छ। नेपालमा मनाइने पर्वहरूमा विदेशी उत्पादन बढी भित्रिँदै गरेको अवस्थामा माघे संक्रान्ति मनाउन स्वदेशी तरुलको उत्पादन धान्दै आएको उनको भनाइ थियो।
काठमाडौं उपत्यकामा सर्लाही, मकवानपुर काभ्रे र धादिङबाट सबैभन्दा बढी तरुल भित्रिने गरेको छ। केही मात्रामा पूर्वी झापा, सुनरीलगायत जिल्लाबाट आउने गरेको छ।
माघे संक्रान्ति मनाउनका लागि गत वर्ष काठमाडौं उपत्यकामा १६ हजार किलो तरुल भित्रिएको कालिमाटी फलफूल तथा तकारी बजार समितिले जनाएको छ। जसको प्रतिकिलो न्यूनतम मूल्य ६५ देखि अधिकतम ८० रुपैयाँसम्म रहेको थियो।
यस वर्षका लागि पुस १७ गतेसम्म ४ हजार किलोभन्दा बढी तरुल काठमाडौं भित्रिसकेको छ। माघे संक्रान्ति आउन अझै एक साता बाँकी भएकाले थप भित्रिने व्यापारीहरू बताउँछन्।
गत वर्षको तुलनामा यस वर्ष कालिमाटी तरकारी बजारमा तरुलको मूल्य बढ्ने भएको छ। तरकारी व्यापारी कृष्णप्रसाद पौडेलले आफूले एक किलो तरुललाई १४० रुपैयाँमा बिक्री गरेको बताउँछन्। उनका अनुसार अहिले बजारमा पातले तरुल २०० रुपैयाँ र वन तरुल ३५० रुपैयाँ रहेको छ। मूल्य बढी भएसँगै यी तरुलको माग कम हुने गरेको छ।
यस्तै, टुकुचा तरकारी बजारमा पनि तरुलको व्यापार हुन थालेको छ। व्यापारी बद्री थापाले अहिलेदेखि तरुल बिक्री बढेको बताए। उनले सेतो तरुल, बैजनी तरुल, सिमल तरुल बिक्री गरेको बताउँछन्। माघे संक्रान्ति नजिकिएपछि ग्राहकहरू तरुल किन्न भिड लागेका छन्।
तरुल चिसो मौसममा उत्पादन हुने भएकाले स्वास्थ्यका लागि लाभदायी मानिन्छ। चिसोमा तरुल खाँदा शरीरलाई शक्ति प्रदान गर्नुको साथै फाइबर र विभिन्न प्रकारको भिटामिन पाउन सकिन्छ।