काठमाडौं । भारतको वैदेशिक व्यापार महानिर्देशनालय (डीजीएफटी) ले २०२५ जनवरी ४ मा जारी गरेको विज्ञप्तिमा राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) मार्फत नेपाललाई गहुँ निर्यात गर्न स्वीकृति दिएको जानकारी दिएको छ। सीमित आपूर्तिका कारण आन्तरिक मूल्य बढेपछि नेपालले केही महिनाअघि भारतलाई गहुँ आपूर्ति गर्न अनुरोध गरेको थियो।
'केन्द्रीय सरकारले राष्ट्रिय सहकारी निर्यात लिमिटेड (एनसीईएल) मार्फत नेपालमा २ लाख मेट्रिक टन गहुँ (एचएसएन १००१) निर्यात गर्न अनुमति दिन्छ,' विज्ञप्तिमा भनिएको छ ।भारतले सन् २०२२ को मे महिनामा गहुँ निर्यातमा प्रतिबन्ध लगाए पनि नेपाललाई विशेष कोटा प्रणालीअन्तर्गत गहुँ आयात गर्न अनुमति दिएको हो । आन्तरिक उत्पादन कमी हुँदा र माग बढ्दै जाँदा नेपाल भारतीय गहुँमा निर्भर रहँदै आएको छ । नेपालमा उत्पादित गहुँले औद्योगिक प्रयोजनका लागि आवश्यक कुल मागको ७० प्रतिशत मात्र पूर्ति गर्ने तथ्यांक छ।
नेपालले भारतबाहेक मेक्सिको, चीन, जापान, थाइल्याण्ड, बेलायत, बंगलादेशलगायतका देशहरूबाट पनि गहुँ आयात गर्दै आएको छ। विश्वको दोस्रो ठूलो गहुँ उत्पादक देश भारत आठौं ठूलो गहुँ निर्यातकर्ता पनि हो। यस सूचीमा रूस, युरोपियन युनियन, अस्ट्रेलिया, संयुक्त राज्य अमेरिका, युक्रेन, अर्जेन्टिना र क्यानडाजस्ता देश अगाडि छन्।
यो निर्यातले नेपालमा गहुँको आपूर्तिमा सुधार ल्याउने र मूल्य स्थिरता कायम गर्न सहयोग पुर्याउने अपेक्षा गरिएको छ।