काठमाडौं। विश्वको महंगा गाडीहरूको उत्पादन तथा बिक्री बेला-बेलामा परिर्वतन भइरहेको हुन्छ। महंगा गाडीहरूको स्थान परिवर्तन भइरहने भएकाले कुन ब्राण्ड कुन स्थानमा छ? भन्ने कुरा यकिन गरेर भन्न मुस्किल हुन्छ। विश्व अटो बजारमा एकदमै महंगादेखि एकदमै सस्ता ब्राण्डका गाडी उपलब्ध छन्।
विश्व अटो बजारमा उपलब्ध महंगा ब्राण्डका गाडीहरूको बजार पुँजीकरण कति छ? भन्ने कुराको चासो गाडी पारखीमा देखिन्छ। धेरै व्यक्तिहरूले आफ्नो आवश्यकताअनुसार गाडी खरिद गरे पनि महंगा ब्राण्डहरूको बजार पुँजीकरण कति छ भन्ने कुराको चासो राख्ने गरेको पाइन्छ।
पछिल्लो समय विश्वमा चर्चित रहेको टेस्ला, टोयोटा, बिवाईडी, साओमी, फरारी, मर्सिडिज बेञ्ज, पोर्शे, जेनरल मोटर्स, बिएमडब्लु, फक्सवागन कम्पनीको बजार मूल्यांकन बढी देखिन्छ।
टेस्ला
विश्वमा चर्चित रहेका सवारी साधन ब्राण्डमा सबैभन्दा धेरै मार्केट भ्यालुयसन टेस्लाको रहेको छ। अमेरिकी ब्राण्ड टेस्लाको बजार मूल्यांकन विश्व बजारमा १.३१७ ट्रिलियन अमेरिकी डलर अर्थात १ हजार ३१७ अर्ब अमेरिकी डलर रहेको छ।
सन् २००३ मा अमेरिकामा स्थापना भएको एलन मस्कको कम्पनी टेस्लाले विद्युतीय सवारी साधन र दिगो उर्जा समाधानका साथ अटोमोटिभ उद्योगमा परिवर्तन गरेको छ। यसले मोडेल एस, मोडेल थ्री, मोडेल एक्स र मोडेल वाई जस्ता लोकप्रिय मोडल उत्पादन गर्दै आएको छ।
टोयोटा
विश्वव्यापी रुपमा सबैभन्दा ठूलो अटोमेकरमध्ये टोयोटा ब्राण्डले आफूलाई स्थापित गरेको छ। टोयोटा सन् १९३७ मा जापानमा स्थापना भएको कम्पनी हो। सन् २०२४ को डिसेम्बरसम्मको विश्व बजारमा टोयोटाको बजार पुँजीकरण २६४.४१ बिलियन अर्थात २६४.४१ अर्ब अमेरिकी डलर पुगेको छ।
साओमी
साओमी सामसुङपछि विश्वमा दोस्रो ठूलो स्मार्टफोन निर्माताका रुपमा परिचित छ। यो कम्पनी १० अर्ब चिनियाँ युआन लगानी गरी विश्व अटो बजारमा सन् २०२१ मा प्रवेश गरेको हो। विश्वमा नयाँ ब्राण्डमध्ये साओमी पनि एक हो।
यस ब्राण्डको २०२४ मा बजार पुँजीकरण ११६.८८ बिलियन अमेरिकी डलर पुगेको छ। साओमीले २०२३ मा आफ्नो पहिलो ईभी कार एसयू-७ विश्व बजारमा लञ्च गरेको थियो।
बिवाईडी
बिवाईडी इलेक्ट्रिक सवारी साधन र ब्याट्री उत्पादन गर्ने चिनियाँ कम्पनी हो। यो सन् १९९५ मा वाङ चुवानफुले शेनझेनमा स्थापना गरेका थिए। ब्याट्री उत्पादनबाट सुरु गरेको यस कम्पनी अहिले पूर्ण रुपमा ईभी उत्पादनमा अघि बढेको छ। विश्व बजारमा बिवाईडीको बजार पुँजीकरण १०३.३६ बिलियन डलर रहेको छ।
फरारी
इटालीयन ब्राण्ड फरारी रेसिङमा प्रसिद्ध कार हो। इञ्जो फरारीले आफ्नो स्पोर्ट कार कम्पनी फरारी सन् १९३९ मा इटालीमा स्थापना गरेका हुन्। विश्वमा स्पोर्टस कारको रुपमा परिचित फरारीको बजार पुँजीकरण २०२४ सम्म आइपुग्दा ७७.१८ बिलियन डलर पुगेको छ।
जेनरल मोटर्स
जेनरल मोटर्स सन् १९०८ मा विलियम सी डुरान्टद्वारा बुइकको होल्डिङ कम्पनीको रूपमा स्थापना गरिएको कम्पनी हो। यो कम्पनी जीएमसी, क्याडिलक, बुइक जस्ता ब्राण्डका लागि प्रख्यात छ।
हालको कम्पनी २००९ मा जनरल मोटर्स च्याप्टर ११ ले मान्यता पाएपछि अस्तित्वमा आएको हो। अहिले यो कम्पनीले संयुक्त राज्य सरकार र सेनाका लागि सवारी साधन बनाउँदै आएको छ। यसले नासासँग सहकार्य गरी ईभीको लागि काम गरिरहेको छ। साथै, यसले एलएसीसँग ब्याट्री उत्पादन गर्न सम्झौता गरेको छ। हाल जेनरल मोटर्सको बजार पुँजीकरण ५६.९२ बिलियन डलर पुगेको छ।
पोर्शे
करिब ९ दशक पुरानो जर्मनी अटोमोटीभ ब्राण्ड हो- पोर्शे। यो सन् १९९० मा स्थापना भएको कम्पनी हो। यसको बजार पुँजीकरण ५३.९३ बिलियन डलर छ।
मर्सिडिज बेञ्ज
जर्मनी ब्राण्ड मर्सिडिज बेञ्ज सन् १९२६ मा स्थापना भएको कम्पनी हो। मर्सिडिज बेञ्ज एएमजी, मेब्याक र ईक्यु गाडीहरू उत्पादन गर्न परिचित ब्राण्ड हो। २०२४ को अन्त्यसम्म यसको बजार पुँजीकरण ५२ बिलियन डलर पुगेको छ।
बिएमडब्लु
बिएमडब्लु प्रिमिय लक्जरी गाडीहरूका लागि प्रख्यात ब्राण्ड हो। यस ब्राण्डले प्रिमियर लक्जरी उत्पादनमा विश्वव्यापी निकै राम्रो छाप छोड्न सफल भएको छ। बिएमडब्लु ब्राण्डका ईभी गाडीहरू नेपाली बजारमा पनि बिक्री हुँदै आएको छ। सन् २०२४ को जनवरी ३ सम्ममा यस कम्पनीको बजार पुँजीकरण ४८.६९ बिलियन डलर पुगेको छ।
फक्सवागन
फक्सवागन विश्वको सबैभन्दा ठूलो अटोमेकर कम्पनीमध्ये एक हो। सन् १९३६ मा स्थापना भएको जर्मनी ब्राण्ड फक्सवागन सुरक्षा र नवीनताले प्रसिद्ध रहेको छ। यस कम्पनीको बजार पुँजीकरण ४५.४४ बिलियन डलर छ।
फक्सवागनको आईडी २ कन्सेप्ट यसको सबैभन्दा किफायती ईभी हो। जुन २५ हजार युरोभन्दा कम मूल्यमा रहेको छ। परीक्षणमा रहेको यो मोडल भविष्यको दिशा बदल्ने संकेत गर्दछ।