काठमाडौं। सुकेधारा, काठमाडौंको एक परिचित गन्तव्य हो। चक्रपथसँगै जोडिएको ठाउँ भएकाले त्यहाँबाट दैनिक हजारौंले यात्रा गरिरहेका हुन्छन् र त्यही संख्यामा पुगिरहेका हुन्छन्।
काठमाडौंको प्राइम लोकेशन भित्र पर्ने सुकेधाराको परिचय पछिल्लो समय पाँचतारे होटलको हब र लक्जरी अपार्टमेन्ट गन्तव्यको रुपमा विस्तार भइरहेको छ। केही वर्षअघिसम्म सुकेधारा र महाराजगन्ज क्षेत्रलाई मेनपावर अफिस रहने क्षेत्रको रुपमा परिचित थियो।
तर, पछिल्लो समय महारागन्ज हुुँदै चाबहिलसम्म आइपुग्दा ठूला ठूला भवनमा लक्जरी होटल तथा अपार्टमेन्टहरु निर्माण हुनेक्रम बढेको छ। त्यति मात्र हैन, त्यस क्षेत्रमा रेष्टुरेन्ट हबसमेत बन्न थालेको छ।
धुम्बाराहीमा ह्याम्स अस्पताल सञ्चालनमा छ भने चाबहिलमा ओम, मेडिकेयर, हेल्पिङ ह्याण्ड्स सामुदायिक अस्पताल सञ्चालनमा छन्। अस्पतालसँगै त्यस क्षेत्रमा विदेशी चेन होटलको आर्कषण समेत बढेको देखिन्छ।
मक्यूर होटलका सञ्चालक देशबन्दु (अजित) बस्नेतले चक्रपथ क्षेत्र चेन होटलको हवको रुपमा विस्तार भइरहेको बताए। ‘होटल निर्माणसँगै त्यस क्षेत्रको रुप नै परिवर्तन भइरहेको छ,’ सञ्चालक बस्नेतले भने, ‘यो सुखद पक्ष हो।’
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, पशुपतिनाथ, बौद्ध स्तुपा, बूढानिलकण्ठ मन्दिर, दरबार स्क्वायर, स्वयम्भूनाथ स्तुपा तथा ठमेललगायतका प्रमुख पर्यटकीय गन्तव्य स्थल नजिक रहेको सुकेधारा चक्रपथको मध्य भागमा पर्छ।
‘बाक्लो बस्तिबीच सुन्दर संरचनाहरु निर्माण हुँदा त्यस क्षेत्रको विकास मात्र हुँदैन, सबैको आकर्षण समेत बढ्छ,’ गोपिकृष्ण हलका सञ्चालक निरक पौडेलले भने, ‘चेन होटलको हबका परिचित हुनु आफैमा राम्रो हो, यसले पर्यटकलाई रोज्ने ठाउँ धेरै पाउछन्।’
होटल अकामा
२०७६ सालदेखि सुकेधारा नजिकै पाँचतारे होटल अकामा संचालनमा छन्। सानिमा ग्रुपले सञ्चालन गरेको पाँचतारे होटल ३ अर्बभन्दा बढी लगानी भएको छ। अमेरिकन चेन होटल ब्रान्ड रामाडाले व्यवस्थापन गर्ने सम्झौता समेत भइसकेको छ।
९ रोपनी क्षेत्रफलमा फैलिएको होटलमा एक सय ८ ओटा कोठा रहेको छ। होटलमा सुप्रियर ९५, डिलक्स ६, डिलक्स सुइट ४, फ्यामिली सुइट २ र एउटा प्रेसिडेन्टर सुइट छ।
न्यूनतम २० देखि ६५० जनासम्म कभर गर्ने विभिन्न किसिमका ५ वटा हलका साथै स्पेसल चाउवेलासमेत गरी तीन वटा रेस्टुरेन्ट तथा आउटडोर स्विमिङ पुल, जिम, स्टिम, साउना, ज्याकुजी र स्पा रहेका छन। होटलमा हाल १३० जनाले रोजगारी पाइरहेका छन्। होटलमा दुईतले बेसमेन्टसहितको पर्याप्त पार्किङ सुविधासमेत छ।
मक्यूर होटल
माघ २ गतेदेखि सञ्चालनमा आउन लागेको पाँचतारे होटल मक्यूर ३ अर्ब लगानीमा निर्माण भएको हो। एबी होल्डिङले सञ्चालन गर्न लागेको होटल पाँच रोपनी क्षेत्रफलमा फैलिएको छ। ११ तले भवनमा १०४ वटा विलासी कोठा रहेको छ।
नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्यसमेत रहेका देशबन्दु(अजित) बस्नेतले पहिलो पटक नेपालमा विश्व प्रसिद्ध एकोर ग्रुप भित्र्याएका हुन्।
एसिया, युरोप, अफ्रिका एवं मध्यपूर्वका सय बढी देशका ५ हजार ४ सय बढी होटलको व्यवस्थापन हेरिरहेको उक्त समूहले नेपालमा पहिलो पटक द मेट्रोपोलिटनमा मक्र्युर ब्राण्डमा होटल व्यवस्थापन सम्हालेको हो।
मण्डला नोर्लिङ लड्र्स प्राइम
पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत डा. धनन्जय रेग्मीको चारतारे होटल मण्डला नोर्लिङ लड्र्स प्राइम धुम्बाराहीमा सञ्चालनमा आएको छ। होटलको व्यवस्थापन भारतको चर्चित ब्राण्ड लर्डस ग्रुपले सम्हालिसकेको छ। गत मंसिरदेखि सञ्चालनमा आएको होटल ८ रोपनी क्षेत्रफलमा फैलिएको छ।
होटलमा सुपर डिलक्स, डिलक्स र सुइट रुम गरी ८६ वटा कोठा छन। मध्यमवर्गीय पर्यटकलाई लक्षित गरी तयार भएको होटलमा वेलनेसलाई विषेश प्राथमिकता दिइएको जनाएको छ। होटलमा काठमाडौंको सबैभन्दा ठूलो स्पा सेन्टरको रुपमा विकास र विस्तार गर्न २१ वटा कोठा छुट्याएको सञ्चालक रेग्मीले जानकारी दिए। होटलमा एकैसाथ साना र एवं ठूला गरी २ सय बढी गाडी पार्किङ गर्न सकिने जनाएको छ।
लक्जरी अपार्टमेन्ट कर्मा रेजिडेन्स
गुड कर्मा ग्रुप अफ कम्पनीज प्राइभेट लिमिटेडले महाराजगन्जमा लक्जरी अपार्टमेन्ट कर्मा रेजिडेन्सको निर्माण गरिरहेको छ। लक्जरी अपार्टमेन्टको १२८ वटा कोठा रहने छ।
४ अर्ब ७९ करोड ९० लाख रुपैयाँ लगानी हुने सो लक्जरियस अपार्टमेन्टको काम सन् ०२५÷२६ मा सम्पन्न गर्ने लक्ष्य लिएको छ। अपार्टमेन्टको ३ वटा विङस रहने भएको छ। २.५ र ३.५ को अपार्टमेन्ट रहेका छन्। ग्रुपले मेरियटको नयाँ फ्रेन्चाइजी ‘ले मेरिडियन’ पाँचतारे होटल पनि निर्माण गर्न लागेको छ।
मेरिडियन होटलमा १७० रुम, एउटा क्यासिनो, एउटा बार, दुइटा रेस्टुराँ, एउटा रुफटप डाइनिङ र एउटा बैंक्वेट हुनेछन। गुड कर्माको एकल लगानी र सञ्चालनमा निर्माण भैरहेको होटल र अपार्टमेन्ट परियोजनामा ६ अर्ब रुपैयाँ लगानी हुने अनुमान गरिएको छ। जसमा होटलतर्फ ४ अर्ब ५० करोड र अपार्टमेन्टको मूल्य १ अर्ब ५० करोड रहनेछ।
मेरियटको फ्रेन्चाइजी अन्तर्राष्ट्रिय स्तरको फाइभस्टार होटल ले मेरिडियनसँगै रहने उक्त अपार्टमेन्ट लक्जरी रेसिडेन्सियल अपार्टमेन्ट हुने र यसको प्रतियुनिट ३ देखि ५ करोडसम्म पर्ने बताइएको छ।
गोपिकृष्ण सेन्ट्रल कम्प्लेक्स
गोपीकृष्ण सेन्ट्रल कम्प्लेक्स निर्माणधिन चरणमा रहेको छ। लक्जरी अपार्टमेन्ट, स्टार प्लस होटेल, कर्मसियल सपिङ्ग मल र मल्टिप्लेक्स सिनेमा सहितको कम्प्लेक्स बनाउने तयारी अगाडी बढेको छ।
पहिलो चरणमा अपार्टमेन्ट, दोस्रो चरणमा स्टार होटलपछि मल्टिप्लेक्स सिनेमा र सपिङ्ग मल निर्माण गरिने कम्पनीका प्रवन्ध निर्देशक निरक पौडेलको भनाइ छ। ती परियोजनाको कुल लागत ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ६५ करोड रुपैयाँ) रहेको जनाएको छ।