काठमाडौं। पछिल्लो केही साता यता सेयरबजारले एकपछि अर्को अप्रत्याशित मुभ देखाइरहेको छ। लामो समय २७०० बिन्दु वरीपरी रुमल्लिएको बजारले पछिल्ला केही साता यता भने अप्रत्याशित लय पक्रिरहेको हो। हुनत, यो बीचमा पुँजी बजारसँग जोडिएका केही अफहवाले बढी नै प्राथमिकता पाए। सामाजिक सञ्जाल होस् या चियाचौतारी, सबैतिर सत्तासमिकरण फेरबदल हुने विषय गुञ्जायस भयो।
यही क्रममा कर्णाली विकास बैंकलाई समस्याग्रस्त घोषणा गर्दै नेपाल राष्ट्र बैंकले नियन्त्रणमा लियो। र सेयर कारोबार रोक्कासमेत भयो। कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएसँगै वित्तीय सूचक कमजोर भएका कम्पनीमा गरिएका लगानी उच्च जोखिममा परेको चर्चा भयो। लगानीकर्तालाई वर्षौैंदेखि प्रतिफल नदिएका, वित्तीय सूचक नकारात्मक रहेका र कमजोर प्रदर्शन गरिरहेका कम्पनीमा लगानी गर्न नहुने विषयले राम्रै स्पेस पायो।
यो हल्लाले केही दिन विकास बैंक र फाइनान्स समूह संकुचित हुन पुग्यो भने यी समूहका कम्पनीको सेयर मूल्य लगातार घट्यो। तर, गत साताको अन्तिम कारोबार दिन भने फेरि विकास बैंक र फाइनान्स समूहको सेयरमूल्य उचालियो। अर्थात् गत साताको अन्तिम कारोबार दिन बिहीबार विकास बैंक समूहमा सर्वाधिक अर्थात् २.४० प्रतिशतको वृद्धि देखियो भने फाइनान्स समूह पनि ०.४१ प्रतिशतले बढ्यो।
धेरै कम्पनी कर्णाली विकास बैंककै बाटोमा रहेको र कमजोर कम्पनीमा गरिएको लगानी उच्च जोखिममा भएको बताउँदै मूल्य घटाइएका कम्पनी नै अन्तिममा बढेपछि त्यसले लगानीकर्तामा झनै दुविधा सिर्जना गरेको छ। यसले बजारमा आएका यी नै घटना र अफहवाको मौका छोपेर केहीले फाइदा लिएको संकेत गरेको एकातर्फ गरेको छ भने कमजोर कम्पनीले बजारमा गरेको हालीमुहालीले निरन्तरता पाउने जस्तो पनि अर्कोतर्फ देखिएको छ।
अझ, भन्नुपर्दा पछिल्लो सेयर बजारले लगानीकर्तालाई एक किसिमको अन्यौलमा पुर्याएको छ। २०८१ असार १६ गते २०३७.०९ बिन्दुमा रहेको नेप्से लगातार बढेर साउन ३१ गते ३०००.८१ बिन्दुसम्म पुगेर फेरि निरन्तर घट्दै असोज १३ गते २४६४.४० (त्यस दिन २४४२.५७ न्यून बिन्दु)सम्म खुम्चियो। यसपछि उकालो लागेको बजारले अधिकांश समय २७०० बिन्दुमा रहेर बिताएको थियो।
मंसिर १८ गते २७७५.८५ बिन्दुमा रहेको नेप्से सरकार परिवर्तन हुने हल्लासँगै लगातार पाँच कारोबार दिन घट्दै मंसिर २५ मा आईपुग्दा २६६९.८२ बिन्दुमा रोकियो। यसपछिका सात कारोबार दिनमा दुई दिन बढेर पाँच दिन घट्दै पुस ७ मा २५८३.२९ बिन्दुमा खुम्चियो। यसरी, बिआरआईलाई लिएर सत्ता समिकरण फेरिने हल्ला चलेसँगै २७७५ बिन्दुमा रहेको नेप्से २५८३ सम्म खुम्चिन पुग्यो।
खासगरी, प्रधानमन्त्रीको चीन भ्रमण र बिआरआई सम्झौतालाई लिएर सत्तारुढ दकबीच खटपट भएको र सरकार परिवर्तन हुने हल्ला चलाइँदा त्यसको असर बजारमा पर्यो। तर, सरकार परिवर्तन हल्लामा मात्रै सीमित हुने देखिएपछि नेप्से फेरि सकारात्मक बन्दै लगातार तीन कारोबार दिन उकालो पनि लागेको थियो। बजार केही सम्हालिने प्रयत्न गरिरहेको स्थितिमा लय नसमाउँदै कर्णाली विकास बैंकको विषय आयो। यसले बजार थप ओरालो लायो।
तथापि, पछिल्लो दुई दिन बजार सम्हालिने प्रयासमा रहे पनि गत साताको बुधबार ५ अंक र बिहीबार ४ अंकले मात्रै बढ्यो। समग्रमा गत साता सेयर बजारमा ४४.४८ अंकको गिरावट आयो। अघिल्लो साताको अन्तिम कारोबार दिन अर्थात् पुष ११ गते २६३०.७१ बिन्दुमा रहेको सेयर बजार सूचक नेपाल स्टक एकसचेञ्ज (नेप्से) गत साताको चार कारोबार दिनमा दुई दिन घटेर दुई दिन बढ्दा ४४.४८ अंकको गिरावटका साथ २५८६.२३ बिन्दुमा रोकिएको हो।
अघिल्लो साता भने नेप्से ३३.८९ अंकले बढेको थियो। गत साता सेयर बजारमा कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भयो। अघिल्लो साता भने नेप्सेमा कुल १९ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो। गत साताबाट अर्थात् कर्णाली विकास बैंक समस्याग्रस्त घोषणा भएसँगै लगानीकर्ताले बलिया कम्पनी छनौट गर्लान् भन्ने विषय पनि त्यति मजबुद ढंगमा देखिन सकेन। यसले अब बजार कुन लयमा जान्छ? कस्ता समूह चल्छन्? भन्ने प्रश्न थप उठाएको छ।
वित्तीय सूचकमा कमजोर रहेका विकास बैंक र फाइनान्स समूहमा पछिल्लो समय देखिएको रवाफ फेरि कायम रहने हो कि भन्ने विषय पनि छ। यद्यपि, बजारमा जस्तोसुकै परिस्थिति देखिए पनि लगानी गर्ने कम्पनीको प्रतिसेयर आम्दानी, मूल्य आम्दानी अनुपात, मूल्य–बिक्री अनुपात, बजार मूल्य र किताबी मूल्य अनुपात, ऋण इक्विटी अनुपात, लाभांश वितरण अनुपात जस्ता प्रमुख वित्तीय सूचकमा लगानीकर्ताले ध्यान दिँदा राम्रो हुने देखिन्छ।
तर, यी विषयको अध्ययन नगरी अन्धाधुन्ध सेयर खरिद गर्ने कार्यले लगानीकर्ताको लगानी उच्च जोखिममा धकेलिन्छ भन्ने विषय हालैको कर्णाली विकास बैंकको अवस्थाले पनि देखाइसकेको छ। यसका अलावा ३०० रुपैयाँ प्रतिकित्ता मूल्य रहेका कम्पनी लगातार बढेर २ हजार माथि पुगेर केही सातामै १ हजार तल खुम्चिएको पनि प्रशस्त उदाहरण छन्। यी विषयमा पनि लगानीकर्ताले ध्यान दिँदा उचित हुने मानिन्छ।
हुन त, बजारमा अल्पकालीन र दीर्घकालीन गरी दुई किसिमका लगानीकर्ता हुन्छन्। लगानीकर्ताले आफ्नो लक्ष्यअनुरूप कम्पनी छनोट गरी खरिद बिक्रीमा सहभागी हुन पाउँछन्। आफ्नो पुँजी, अवस्था र लक्ष्यअनुरुप नै लगानीकर्ताले बजारमा लगानी गर्ने हुन्। लगानी गर्दा कुनै व्यक्ति वा समूहको भनाइ र प्रभावमा पर्नुभन्दा स्वअध्ययन अनुसार नै लगानी गर्नुपर्छ। लगानीकर्ताले नेप्से सूचक कतातर्फ गइरहेको छ भन्ने विषयलाई भन्दा पनि आफ्नो पोर्टफोलियोलाई बढी ख्याल गर्न आवश्यक हुन्छ।