काठमाडौं। हुन्डाई ब्रान्डको क्रेटा ईभी र मारुती सुजुकी ब्रान्डको ई–भिटारा भारतीय बजारमा प्रवेश गर्ने तयारीमा रहेका नयाँ इलेक्ट्रिक (ईभी) मोडल हुन्। यी दुई ब्रान्डको आगामी लन्चले भारतीय विद्युतीय सवारीसाधनको बजार मात्र नभई नेपालको अटोबजार पनि तातेको छ।
दुवै गाडी भारतीय बजारमा लन्च भएपछि नेपालमा आउने मोडल हुन्। नेपालमा हुन्डाई गाडीको आधिकारिक वितरक लक्ष्मी इन्टरकन्टिनेन्टल र सुजुकीको आधिकारिक वितरक सिजी मोटोकर्प हो।
हुन्डाई क्रेटा ईभीको डिजाइन इन्धन क्रेटासँग मिल्दोजुल्दो छ। मारुती सुजुकी ई–भिटारा पहिलो इलेक्ट्रिक यसयूभी भएकाले यसले आफ्नो परम्परागत डिजाइनलाई निरन्तरता दिएको छ। ई–भिटारा परम्परागत एसयूभी मन पराउनेका लागि उपयुक्त मानिएको छ। यी दुवै सवारीसाधनमा उपभोक्तालाई आकर्षित गर्ने उद्देश्यले विभिन्न सुविधा उपलब्ध छन्।
ब्याट्री तथा मोटर पावर
हुन्डाई क्रेटा ईभीमा ४२ किलोवाट र ५१.४ किलोवाट आवरको दुई ब्याट्री अप्सन पाउन सकिन्छ। यसमा १०० किलोवाटको मोटर जडान गरिएको छ। हुन्डाई क्रेटा ईभी डिसी फास्ट चार्जर प्रयोग गरी ५८ मिनेटमा १० प्रतिशतदेखि ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ।
सुजुकीको ई–भिटारामा ४९ किलोवाट र ६१ किलोवाट आवरको एलएफपी ब्याट्री दिएको छ। यसमा १०६ र १३५ किलोवाटको मोटर दिएको छ। ठूलो मोटर र ब्याट्रीसँग फोर ह्वील ड्राइभ अप्सन पाइनेछ।
रेन्ज
हुन्डाई क्रेटा ईभीले एक पटकको फुल चार्जमा ३९० किलोमिटर र ४७३ किलोमिटर रेन्ज दिने एआरएआइले प्रमाणित गरेको छ। मारुती सुजुकी ई–भिटाराले सिंगल चार्जमा ५०० किलोमिटरभन्दा बढी हुने कम्पनीले जनाएको छ।
ग्राउन्ड क्लियरेन्स
हुन्डाई क्रेटा ईभीको ग्राउन्ड क्लियरेनस १९० एमएम छ भने सुजुकी ई–भिटाराको ग्राउन्ड क्लियरेन्स १८० एमएम छ।
साइज
मारुती सुजुकी ई–भिटाराको लम्बाइ ४२७५ एमएम, चौडाइ १८०० एमएम र उचाइ १६३५ एमएम रहेको छ। यसको ह्वीलबेस २७०० एमएम छ। हुन्डाई क्रेटा ईभीको लम्बाइ ४३३० एमएम, चौडाइ १७९० एमएम र उचाइ १६३५ एमएम छ। यसको ह्वीलबेस २६१० एमएम छ।
क्याबिन फिचर
हुन्डाई क्रेटा ईभीको क्याविनमा विभिन्न लक्जरी फिचर छन्। क्रेटा ईभीमा गियर सेलेक्टर पनि स्टेरिङ कोलुममा दिएको छ। भ्वाइस एक्टिभेटेड प्यानारोमिक सनरुफ, फ्रन्टमा दिइएको चार्जिङ पोर्ट र आयोनिक–५ मा जस्तै अगाडि एक्टिभ एयर फ्ल्याप दिएको हो।
क्रेटा ईभीमा भीटुएल सुविधा पनि उपलब्ध छ। यसमा ४३३ लिटरको बुट स्पेस, सिटबेल्ट वार्निङ दिइएको छ। साथै, इको, नर्मल र स्पोर्ट तीन ड्राइभिङ मोड सुविधा छ।
यसमा १०.२५ इन्चको ड्यूल स्क्रिन, बोसको प्रिमियम साउन्ड सिस्टम, भेन्टिलेटेड र पावर फ्रन्ट सिट, लेभल २ एडास सिस्टम, ६ वटा एयरब्याग, ३६० डिग्री क्यामेरा, डिजिटल की, इलेक्ट्रिक टेलगेट उपलब्ध हुनेछ।
मारुती सुजुकी ई–भिटारामा १०.१ इन्चको ड्रयुल टचस्क्रिन इन्फोटेनमेन्ट, इन्स्ट्रुमेन्टेसन कन्सोल, इलेक्ट्रोनिक पार्किङ ब्रेक, मल्टिपल ड्राइभ मोड, क्लाइमेट कन्ट्रोल, वायरलेस चार्जिङ, एप्पल कारप्ले र एन्ड्रोइड अटो र एडीएएसजस्ता आधुनिक सुविधा छन्। ट्वीन–स्पोक फ्ल्याट–बटम स्टेयरिङ ह्वील, सिल्भर घेरासहितको आयताकार एसी भेन्ट उपलब्ध छन्।