काठमाडौं। मुक्तिनाथ विकास बैंक स्थापनाको १८ वर्ष पूरा गरी १९औं वर्ष प्रवेश गरेको छ। वार्षिकोत्सव अवसरमा बैंकले शुक्रबार देशभरि विविध कार्यक्रम आयोजना गरिएको जनाएको छ।
बैंकले काठमाडौंको लाजिम्पाट स्थित केन्द्रीय कार्यालयका साथै क्षेत्रीय कार्यालय जनकपुर, नारायणगढ, धादिङ, पोखरा, बुटवल र कोहलपुरमा सञ्चालन गरेको बृहत् रक्तदानमा जसबाट ६११ युनिट रगत संकलन भएको बताएको छ।
बैंकले वातावरण संरक्षण र जलवायु परिवर्तन रोकथाम विषयलाई लक्षित गरी कक्षा ८ देखि १० सम्मका विद्यार्थीबीच ‘आर्ट फर अर्थ, कम्ब्याटिङ क्लाइमेट चेन्ज’ शीर्षकमा राष्ट्र व्यापी चित्रकला प्रतियोगिता आयोजना गरेको छ। प्रतियोगितामा सर्वोत्कृष्ट चित्र कोर्न सफल जुलेन गुरुङलाई ५० हजार रुपैयाँ नगद र प्रमाणपत्र प्रदान गरिएको बैंकले जनाएको छ।
बैंकले कृषि क्षेत्रमा खोज अनुसन्धान गरी प्रेरणादायी लेख रचना तथा समाचार प्रकाशित गर्ने उत्कृष्ट ३ जना पत्रकारलाई ‘मुक्तिनाथ उत्कृष्ट कृषि पत्रकारिता पुरस्कार’ ले सम्मान गरेको जनाएको छ। सम्मानित हुनेमा सागर परियार जुम्ला, कौशिला कुँवर काठमाडौं र माधवप्रसाद अर्याल पाल्पा रहेका छन्। उनीहरूलाई क्रमशः ३५, २५ र १५ हजार रुपैयाँ नगद पुरस्कार र प्रमाणपत्रबाट सम्मानित गरिएको बैंकले बताएको छ।
सातै प्रदेशलाई समेटिने गरी विभिन्न विद्यालयका कक्षा ११ र १२ मा अध्ययन गर्ने विद्यार्थीलाई छात्रवृत्ति, क्याम्पसमा पुस्तकालय स्थापना तथा भौतिक संरचना निर्माणलगायत कार्य गरिएको बैंक सञ्चालक समिति अध्यक्ष भरतराज ढकालले बताए।