काठमाडौं। दुईपांग्रे सवारीसाधन बिक्री गर्दै आएका कम्पनीहरुले आफ्ना साधनको व्यापार बढाउन ‘विन्टर अफर’ चलाइरहेका छन्। संकुचित व्यवसाय बढाउन र ग्राहक आकर्षण गर्न विभिन्न ब्रान्डले विन्टर अफर सार्वजनिक गरेका हुन्।
केहीको अफर हाल चलिरहेको छ भने केही ब्रान्डको सकिइसकेको छ। अफरको मौका छोपेर सवारी खरिद गर्न ग्राहक अग्रसर हुने भएकाले अटो ब्रान्डले एक वर्षमै आधा दर्जन बढी योजना ल्याउने गरेका छन्।
बजारमा एक ब्रान्डले छुट सुविधा तथा अफर ल्याए अर्को ब्रान्डमा पनि सोही किसिमको योजना सार्वजनिक गर्न बाध्यात्मक अवस्था सिर्जना हुने गर्दछ। यसैले एक ब्रान्डले योजना सार्वजनिक गर्नासाथ अन्य ब्रान्डले पनि अफर सार्वजनिक गर्ने गरेका हुन्।
सवारीसाधन बिक्रीमा बिक्रेता कम्पनी अफरसहित आक्रामक व्यापारमा उत्रिएपछि विगत वर्षका तुलनामा यस वर्ष हुने सवारी आयात पनि बढेको छ। आयात बढाउँदै बढीभन्दा बढी सवारीसाधन बिक्री गर्न व्यवसायी ग्राहक केन्द्रित माहोल बनाउन लागिपरेका छन्। चाडपर्व सकिएर विन्टर सिजन सुरु भएसँगै कम्पनीहरुले आफ्ना अफरहरु धमाधम सार्वजनिक गर्दै गएका हुन्।
अटो ब्रान्डहरुले दुईपांग्रे सवारीसाधन खरिद गर्ने ग्राहकलाई नगद छुटदेखि १ प्रतिशत ब्याजमा नै बाइक तथा स्कुटर उपलब्ध गराउने योजनासमेत ल्याइरहेका छन्। यामाहा, होण्डा, लुयान, भेस्पा, टिभिएस, सेग्वे तथा अप्रिलियालगायतका ब्रान्डको विन्टर अफर चलिरहेका छन्। चाडपर्व लक्षित अफर तथा योजनामा छुटेका ग्राहकका लागि यो एउटा सुनौलो मौकासमेत बनेको छ।
नेपालमा दुईपांग्रे इलेक्ट्रिक सवारीसाधन ब्रान्ड लुयान बिक्री गर्दै आएको जेरो एमिसन राइड एनले विन्टर एक्सचेन्ज अफर सार्वजनिक गरेको छ।
पुस अन्त्यसम्म चल्ने विन्टर एक्सचेन्ज अफरअन्तर्गत कम्पनीले १० हजारसम्म छुट व्यवस्थाका साथै उक्त अफरमा ग्राहकले हेलमेट, स्कुटर कभरजस्ता निःशुल्क उपहार पाउँछन्। कम बजेट भएका ग्राहकलाई कम डाउनपेमेन्ट र ब्याज दरसहितको ईएमआई सुविधा पनि दिइएको कम्पनीले जनाएको छ।
बजारमा एक ब्रान्डले छुट सुविधा तथा अफर ल्याए अर्को ब्रान्डमा पनि सोही किसिमको योजना सार्वजनिक गर्न बाध्यात्मक अवस्था सिर्जना हुने हुँदा अफर सार्वजनिक गर्ने क्रम बढ्दाे छ।
विन्टर अफरमा लुयान ब्रान्डको नयाँ स्कुटर किन्दा २० प्रतिशत डाउन पेमेन्ट गर्दा पुग्ने लुयान ब्रान्डको बजार प्रमुख शंकर शर्माले बताए। ‘अहिले न्युनतम २० प्रतिशतसम्म डाउन पेमेन्ट गरि स्कुटर खरिद गर्न सकिन्छ। यसको किस्ता अधिकतम ३ वर्षसम्म तिर्दा हुन्छ। यसमा ६.९९ प्रतिशत ब्याजमा पाइन्छ,’ बजार प्रमुख शर्माले भने।
उनका अनुसार विन्टर सिजनमा ग्राहकमा नयाँ सवारीसाधन खरिद गर्ने इच्छा कम हुन्छ। तर, पुराना बाइक तथा स्कुटरले दुःख दिइरहेकाले एक्सचेन्ज चाहना भएका धेरै हुन्छन्। यस्तो अवस्थामा ग्राहकलक्षित योजना ल्याएको शर्माको तर्क छ। पुरानो बाइक तथा स्कुटर एक्सचेन्ज गर्ने र नयाँ किन्ने वातावण बनाउन अफर ल्याएको उनी बताउँछन्।
पुरानो पेट्रोल तथा इलेक्ट्रिक जुनसुकै बाइक तथा स्कुटर भए पनि त्यसको निश्चित मूल्यांकन गरी लुयान ब्रान्डको स्कुटरको मूल्यभन्दा बढी आयो भने पैसासहित पनि नयाँ स्कुटर ग्राहकले लिएर जान सक्ने उनको भनाइ छ।
नेपालमा होन्डा बाइक तथा स्कुटर बिक्री गर्दै आएको स्याकार टे«डिङले १२५ सीसीसम्मका मोटरसाइकल तथा स्कुटर, होन्डा हर्नेट २.० र एनएक्स २०० का लागि १ प्रतिशत ब्याजदरमा आफ्ना ब्रान्डका सवारीसाधन खरिद गर्न सक्ने कम्पनीका कर्मचारी आस्था सुवेदीले बताइन्।
‘हामीले नयाँ फाइनान्स योजनाअन्तर्गत १ प्रतिशत ब्याजदरमा नै होन्डा ब्रान्डको मोटरसाइकल तथा स्कुटर खरिद गर्न सकिने योजना ल्याएका छौं। योजनामा मोटरसाइकल तथा स्कुटर किन्न चाहनेले ६० प्रतिशत डाउन पेमेन्ट गर्नुपर्ने हुन्छ,’ सुवेदीले भनिन्, ‘यसका अलावा बाँकी ४० प्रतिशत रकम १२ महिनो मासिक किस्तामा १ प्रतिशत ब्याजदरमा तिर्न सकिन्छ।’
नेपालमा यामाहा मोटरसाइकल तथा स्कुटरको आधिकारिक बिक्रेता एमएडब्लू राइडले क्रिसमस तथा अंग्रेजी नयाँ वर्ष अवसरमा ‘ड्रिम इट, वन इट’ स्किम सञ्चालनमा ल्याएको छ। यस योजना अन्तर्गत ग्राहकले ईएमआइमा यामाहाको मोटरसाइकल तथा स्कुटर खरिद गर्दा ७.९९ प्रतिशत ब्याजदरमै ईएमआई सुविधा पाउनेछन्।
साथै, ग्राहकले ईएमआइका लागि इजी डक्युमेन्टेसन र इजी पेमेन्ट मोडल्स् सुविधा पनि पाउने कम्पनीले जनाएको छ। कम्पनीले मोटरसाइकलको मूल्यको ४० प्रतिशत रकम डाउन पेमेन्ट गर्ने ग्राहकलाई सस्तो ब्याजदर अफर गरेको हो।
नेपालका लागि अप्रिलिया तथा भेस्पा स्कुटरको आधिकारिक बिक्रेता डेल्टा अटोकर्पले ‘हट डिल्स’ विन्टर एक्सचेन्ज तथा फाइनान्स अफर योजना सार्वजनिक गरेको छ। यो अफर पुस १ देखि माघ १५ सम्म लागू हुने कम्पनीले जनाएको छ। कम्पनीका अनुसार यस अफरमा नगद रकममा स्कुटर एक्स्चेन्ज वा खरिद गर्ने प्रत्येक ग्राहकलाई ७ हजार ५०० रुपैयाँ नगद छुट् दिनुका साथै एउटा ब्रान्डेड स्टाइलिस हुडी, स्कुटर कभर, हेल्मेट र किरिङसमेत प्रदान गर्ने छ।
ईएमआईमा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई कम्पनीले सहज फाइनान्स सुविधाको पनि व्यवस्था गराउने बताएको छ। यसको अलावा कम्पनीले विन्टर फ्री सर्भिस क्याम्प संचालन गरेको थियो। यो क्याम्प पुष ७ गतेदेखि १२ गतेसम्मको लागि दिइएको थियो। जसअन्तर्गत ग्राहकले पूरा लेबर चार्ज निःशुल्क, मेजर रिपियरमा ५० प्रतिशत छुटका साथै अन्य सुविधाहरु प्राप्त गरेका थिए।
नेपालका लागि टिभीएसको आधिकारिक बिक्रेता जगदम्बा मोटर्सले टिभीएसको नयाँ मोटरसाइकल तथा स्कुटर खरिद गर्न चाहने ग्राहकलाई लक्षित गर्दै ‘च्याम्पियन एक्सचेन्ज अफर’ सञ्चालन गरेको थियो।
अफरअन्तर्गत ग्राहकले आफूसँग भएका जुनसुकै ब्रान्डका दुईपांग्रे साधनसँग टिभीएसका नयाँ मोटरसाइकल तथा स्कुटर साट्न पाउनुका साथै एक्सचेन्जमार्फत ग्राहकले ६ हजार रुपैयाँ थप मूल्यांकन र सियोरसट नगदका रुपमा ६ हजार छुट पाएका थिए। यसका अलावा ग्राहकले शून्य प्रतिशत ब्याजदरमै टीभीएसको सेलेक्टेड मोडल खरिद वा एक्स्चेन्ज गर्ने सुविधा पनि कम्पनीले दिएको थियो।
यस्तै, नेपालका लागि बजाजको आधिकारिक बिक्रेता हंसराज हुलासचन्द एन्ड कम्पनीले नागरिकताको आधारमा मोटरसाइकल किन्न सकिने स्किम सार्वजनिक गरेको थियो।
यो स्किम नगदमा मात्रै नभई किस्ताबन्दी (ईएमआई) सुविधामा मोटरसाइकल खरिद गर्न चाहने ग्राहकको हकमा लागू भएको थियो। किस्ताबन्दीमा किन्न चाहने ग्राहकले १ घन्टाभित्रै लोन पास गरेर ९.९९ प्रतिशत ब्याजदरमै सरल फाइनान्समार्फत यो सुविधा पाउन सक्ने बताइएको छ।