काठमाडौं। मुलुकभर सञ्चालनमा रहेका होटल, रिसोर्ट, रेस्टुरेन्ट र भोजनगृहमा १ लाख ६ हजार ४५९ श्रमिकले प्रत्यक्ष रोजगार पाएका छन्। राष्ट्रिय तथ्यांक कार्यालयले सर्वेक्षण २०८१ मा आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या सार्वजनिक गरेको हो।
सर्वेक्षणअनुसार सबैभन्दा बढी बागमती प्रदेशमा होटल तथा रेस्टुरेन्टमा रोजगारी गर्नेको संख्या बढी छ। सात प्रदेशमध्ये बागमतीमा ६२ हजार ४०५ जना र सबैभन्दा कम कर्णालीमा १ हजार ६९४ जना रहेका छन्। त्यस्तै, गण्डकीमा १२ हजार ४६७, कोसी १० हजार २४८, लुम्बिनी ९ हजार ८५२, मधेस ६ हजार १९२ र सुदूरपश्चिममा ३ हजार ६०२ रहेका छन्।
६० अर्ब ६१ करोड ५० लाख तलब
सञ्चालनमा रहेका होटल तथा रेस्टुरेन्टमा कार्यरत श्रमिकले वार्षिक ६० अर्ब ६१ करोड ५० लाख रुपैयाँ तलब सुविधा लिने गरेका छन्। तथ्यांक कार्यालयले तलब, ज्याला तथा सुविधा भन्नाले सन्दर्भ अवधिमा तलबी कामदारका लागि आवास तथा भोजन सेवा प्रदान गर्ने प्रतिष्ठानले खर्च गरेको कुल रकम उल्लेख गरेको छ।
कार्यालयका अनुसार तलब सुविधा दिनेमा सबैभन्दा बढी बागमती प्रदेश रहेको छ। बागमतीमा १२ अर्ब ६३ करोड ५० लाख २८ हजार, गण्डकी २ अर्ब ३८ करोड ७०८, कोसी १ अर्ब ५० करोड ३६ लाख ८३ हजार, लुम्बिनी १ अर्ब ७५ करोड ८३ लाख ४१ हजार, मधेस ९२ करोड ४७ लाख ९४ हजार, सुदूरपश्चिम १ अर्ब ७ करोड ३७ लाख ३१ हजार र कर्णालीमा ३३ करोड ६७ लाख ९० हजार रहेको छ।