क्यापिटल नेपालले मुख्य आर्थिक समाचारलाई प्राथमिकता दिएर सुरु गरेको साताभरका प्रमुख आर्थिक खबर नामक स्तम्भ। यस्ता छन्, संक्षेपमा साताभरका मुख्य–मुख्य आर्थिक समाचारः
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नागार्जुन नगरपालिकाका मेयर मोहनबहादुर बस्नेतसँगै पद्य कोलोनीका अध्यक्ष राजुप्रसाद कँडेलविरुद्ध मुद्दा दायर गरेको छ। अख्तियारले पुस १४ गते उनीहरूविरुद्ध मुद्दा दायर गरेको हो। अख्तियारले मेयर बस्नेतमाथि ९ करोड २२ लाख ४६ हजार ३२ घुस लिएको र सम्पत्ति शुद्धीकरणअन्तर्गत १३ करोड १२ लाख ७३ हजार ३२ बिगो दाबी गरेको छ। अख्तियारले बस्नेतमाथि भ्रष्टाचार र सम्पत्ति शुद्धीकरणको मुद्दा दायर गर्दा उनकी श्रीमतीको नाम पनि जोडेको छ।
अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी) ले नेपालमा दिने अनुदान ५ करोड अमेरिकी डलर (करिब ६ अर्ब ८५ करोड रुपैयाँ)ले बढाएको छ। पुस १८ मा बसेको एमसिसी बोर्ड बैठकले नेपाल कम्प्याक्टका लागि थप ५० मिलियन डलर अनुदान थप्ने प्रस्ताव स्वीकृत गरेको हो। अमेरिकी संसद् (कंग्रेस) लाई १८ डिसेम्बरमा एमसीसीले नेपाललाई अनुदान सहयोग वृद्धि गर्नेबारे सूचना दिएको थियो। एमसिसीले अनुदान बढाएपछि यसअन्तर्गतका परियोजना कार्यान्वयनमा ७४ करोड ७० लाख अमेरिकी डलर अर्थात् करिब १ खर्ब २ अर्ब रुपैयाँ लगानी हुनेछ।
सन् २०२४ मा ११ लाख ४७ हजार बढी पर्यटकले नेपाल भ्रमण गरेका छन्। नेपाल पर्यटन बोर्डको पुस १६ गतेसम्मको तथ्यांकअनुसार सन् २०२४ को डिसेम्बरसम्म हालसम्मकै ठूलो संख्या ११ लाख ४७ हजार २४ जनाले नेपाल भ्रमण गरेका हुन्। नेपाल घुमफिरमा आउने पर्यटक संख्या कोरोनापछिकै सर्वाधिक हो।
राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी अध्यादेश जारी गरेका छन्। मन्त्रिपरिषद् सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सहकारीसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने अध्यादेश पुस १४ गते जारी गरेका हुन्। गत पुस ९ को मन्त्रिपरिषद् बैठकले उक्त अध्यादेश पारित गरेको थियो। अध्यादेशले सहकारी संस्थाहरूको नियमनका लागि ‘सहकारी नियमन आयोग’ गठन गर्ने प्रस्ताव गरेको छ। अध्यादेश जारी भएसँगै सहकारी बोर्ड स्वतः खारेज भएको छ।
सरकारले ‘ऊर्जा मार्गचित्र २०८१’ स्वीकृत गरेको छ। पुस १६ गतेको मन्त्रिपरिषद् बैठकले ४६ खर्ब लगानी अनुमान गर्दै ऊर्जा मार्गचित्र स्वीकृत गरेको हो। हाल सरकार र निजी क्षेत्रबाट दैनिक ३४ सय मेगावाट विद्युत उत्पादन भइरहेको छ। अबको १० वर्षमा लक्ष्य पूरा गर्न २५ हजार मेगावाट थप विद्युत् उत्पादन गर्ने सरकारी लक्ष्य छ।
नेपालभर १ लाख ४२ हजारभन्दा बढी भोजन सेवा संलग्न प्रतिष्ठान रहेको तथ्यांक सार्वजनिक भएको छ। राष्ट्रिय तथ्यांक कार्यालयबाट पुस १७ गते सार्वजनिक राष्ट्रिय होटल तथा रेस्टुरेन्ट सर्वेक्षणमा करिब डेढ लाख आवास तथा भोजन सेवासँग प्रतिष्ठान रहेको देखिएको हो। सञ्चालनमा रहेका आवास तथा भोजन सेवासँग सम्बन्धित प्रतिष्ठानको संख्या १ लाख ४२ हजार २२३ रहेको सर्वेक्षणमा उल्लेख छ। सर्वेक्षणको नतिजाअनुसार प्रतिष्ठानमा संलग्न व्यक्तिको संख्या ३ लाख ८७ हजार ७४७ रहेको छ। आवास तथा भोजन प्रतिष्ठानमा करिब ५ खर्ब ४३ अर्ब २५ करोड ८२ लाख मूल्य बराबरको स्थायी सम्पत्ति रहेको देखिएको छ। यिनमा करिब २ खर्ब १६ अर्ब लागत रहेको छ।
लामो रस्साकस्सीपछि भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयक प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिबाट पारित भएको छ। पुस १८ गते बसेको संसदीय समिति बैठकले विधेयक पारित गरेको राज्य व्यवस्था समिति सभापति रामहरि खतिवडाले बताए। संशोधन विधेयकमाथि छलफल गर्न कांग्रेस सांसद हृदयराम थानी नेतृत्वमा उपसमिति गठन गरिएको थियो। पारित विधेयकमा कैंची नलागे अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मन्त्रिपरिषद्ले गरेका निर्णयमाथि समेत छानबिन गर्न सक्ने प्रावधान राखिएको छ।
सरकारले प्रत्येक वर्ष माघ १४ गते ‘सम्पत्ति शुद्धीकरण निवारण राष्ट्रिय दिवस’ मनाउने भएको छ। पुस १६ को मन्त्रिपरिषद् बैठकले अबदेखि हरेक वर्ष माघ १४ मा सम्पत्ति शुद्धीकरण दिवस मनाउने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुब्बा गुरुङले जानकारी दिएका हुन्।
यो साता सेयर बजारमा ४४.४८ अंककाके गिरावट आएको छ। गत साताको अन्तिम कारोबार दिन अर्थात् पुष ११ गते २६३०.७१ बिन्दुमा रहेको सेयर बजार सुचक नेपाल स्टक एकसचेञ्ज (नेप्से) यस साताको चार कारोबार दिनमा दुई दिन घटेर दुई दिन बढ्दा ४४.४८ अंकले घटेर २५८६.२३ बिन्दुमा रोकिएको हो। गत साता नेप्से ३३.८९ अंकले बढेको थियो। यो साता सेयर बजारमा कुल १८ अर्ब ६४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ। अघिल्लो साता भने नेप्सेमा कुल १९ अर्ब ९ करोड रुपैयाँ बराबरको कारोबार भएको छ।